निरन्तरको असफलता पछिको सफलता

|

धनगढी : करिब आठ वर्ष पहिले कैलालीबाट कोरिया जान काठमाडौं हानिए उनी। रहर पटक्कै थिएन विदेश जाने। आफ्नै भूमिमा केही गर्ने आममान्छेकै जस्तो रहर थियो उनको। आममान्छैकै जस्तो विदेशिनुपर्ने बाध्यता पनि। 

आममान्छेको भन्दा उनको बाध्यता भने केही फरक थियो। अरू दुई छाक टार्न पलाएन हुन्थे तर उनी केहि जोरजाम गरेर आफ्नो रहर पुरा गर्ने सोचमा थिए।

कैलालीबाट कोरियन भाषा सिकेर दक्षिण कोरिया जान काठमाडौं छिरेका थिए उनी अर्थात् चक्र बम। उनले कोरियन भाषामा परीक्षा त दिए तर नाम भने निस्किएन। कोरियन भाषा परीक्षामा नाम निकाल्न नसक्नु नै उनको टर्निङ प्वाइन्ट भयो। प्रत्येक असफलतापछि सफलता प्राप्त हुन्छ भनेझैँ भाषाको परीक्षामा फेल भएपछि चक्रको जीवनको परीक्षा सुरु भयो। 

गायक बन्ने हुटहुटी थियो तर त्यही सपना पूरा गर्ने चाहनाले विदेश जाने योजना पनि सफल भएन। त्यसपछि आर्मी बनेर त्यहीँबाट आफ्नो सपना पूरा गर्ने उनले सोचे। 

भारतमा कम्प्युटरको हार्डवेयर इन्जिनियरिङ गरिसकेका चक्रले काठमाडौंमा त्यहीसम्बन्धी काम खोज्न थाले। ‘न्यूरोडका सबै कम्प्युटर पसलमा धाएँ तर कतै जागिर पाइनँ। माइलो दाइ आर्मी हुनुहुन्थ्यो, उहाँले त्यहाँ सिफारिस गर्नुभयो’, चक्रले भने, ‘आर्मी बन्दिनँ भनेको थिएँ। आफैँ सपना पूरा गर्न त्यहाँ पनि दर्खास्त दिएँ।’ गायक हुन लेखेको मान्छे कसरी फौजी हुन्थे र! चक्र आर्मीबाट पनि फालिए तर त्यहीबीचमा उनले केही गीत रेकर्ड गरिसकेका थिए।

आर्मीबाट फालिएपछि चक्र गुजारा चलाउनकै लागि दोहोरी साँझमा लागे। ‘अब जति दुःख पाए पनि गीत-संगीतमै दुःख गर्छु भन्ने सोचेँ’, उनले भने, ‘त्यहाँ त पीडा भए पनि रमाउनेहरू भेटिन्छन्। उनीहरूका बीचमा म पनि आफूलाई सम्हाल्न सकुँला।’ करिब एक-डेढ वर्ष काठमाडौंको दोहोरी साँझमा गीत गाउँदै आएका चक्रलाई ‘नाच मेरी झुमाले’ फेरि दोहोरी साँझमा फर्किनुपरेन।

असफलतापछिको सफलता

जीवनमा पाएका कैयौँ असफलताभन्दा उनलाई संगीतमा पाएको एउटा सफलता नै कैयौँ गुणा ठूलो लाग्छ। हुने बिरुवाको चिल्लो पात भनेझैँ सानैदेखि गीत-संगीतमा रुचि राखेका चक्र अन्ततः आफ्नो गन्तव्यमा पुगेरै छाडे।

‘यहाँसम्मको यात्रा मेरा लगि सहज छैन’, उनले केही भावुक हुँदै भने, 'अझै केही रहरहरू बाँकी छन् अनि त्यही चुचुरोमा रहिरहने मेरो एउटै चाहना छ।’ २०६९ सालदेखि संगीत क्षेत्रमा होमिएका चक्रले हालसम्म १०० बढी गीत गाएका छन्। त्यतिकै संख्यामा गीतमा शब्दहरू कोरेका छन्। ३०० बढी गीतमा अभिनय गरेका छन्। 

पछिल्लो समय चक्र निकै व्यस्त भएका छन्। सुदूर र मध्यनेपालमा हुने कार्यक्रम, मेला र महोत्सवहरूमा उनी आयोजकको पहिलो रोजाइमा पर्ने कलाकार हुन्। ‘मेरा गीतहरूमा नयाँपन हुन्छ, त्यसैले पनि हो मध्य र सुदूरमा मलाई भ्याई नभ्याई छ’, फुरुंग हुँदै चक्रले भने। उनलाई सयौँ महोत्सवहरूमध्ये २०७४ सालमा सुदूरपश्चिम महोत्सवमा आएको पल सबैभन्दा प्यारो लाग्छ। ‘३०-४० हजार बढी दर्शकहरू थिए। त्यो बेला मलाई १० वर्ष पहिलेको कुरा याद आयो’, उनले विगत सम्झिए।

१० वर्ष पहिले शैलेश्वरी उच्चमाध्यमिक विद्यालय अत्तरियाबाट नृत्य लिएर त्यही महोत्सवमा आएका चक्रले पालो पाएनन्। लगातार तीन दिनसम्म महोत्सवमा नृत्य देखाउन आए पनि आयोजकले पालो नदिएको सम्झँदै चक्रले भने, ‘एक दशकपछि त्यही स्टेजमा मेरालागि तानातान थियो, वान्समोरको ओइरो थियो।’

एक दशककै संघर्षले सफलता प्राप्त गरेका चक्र भन्छन्, 'गायक मात्रै बन्न गएको भए काठमाडौंमा म पनि हराउने थिएँ। मलाई त आफ्नै सिर्जनाले जीवित राखेको छ।’ कक्षा ७ मा अध्ययन गरिरहँदा शास्त्रीय नृत्य र लोक विधामा नेपालको दोस्रो स्थान हासिल गरेपछि चक्रलाई यो क्षेत्रमा रुचि बढेको थियो।

संगीतमा सुदूरलाई चिनाउने धोको 

‘लेख्न, गाउन र अभिनय गर्न सबै कुरा मलाई सहज लाग्छ’, चक्रले भने, ‘यसमा पनि मलाई सबैभन्दा बढी शब्द कोर्न रहर लाग्छ।’ तीनवटै विधामा पोख्त उनी नेपाली संगीत क्षेत्रमा सुदूरपश्चिमको प्रतिनिधित्व गराउन चाहन्छन्।

उनका प्रत्येक गीतमा सुदूरपश्चिम प्रदेशको भाषा र संस्कृति समेटिएको हुन्छ। ‘प्रत्येक गीतहरूमा यहाँको शब्द समेटिएको हुन्छ। यसले पनि हाम्रो क्षेत्रको पहिचान गराउँछ’, उनले भने। 

दुई दर्जन गीत निकालेपछि ‘नाच मेरी झुमा’ले चक्रलाई थप चर्चित बनायो। उनलाई देउडाको मर्म बिगारेको आरोप पनि लाग्ने गरेको छ। ‘मैले देउडा गीत पनि गाएको छु तर पछिल्लो समय बजारमा आएका गीतहरूमा भाषाको फ्युजन देखिए पनि ती सबै गीत लोकपप हुन्’, उनले भने।

देउडा गीत सुन्ने र हेर्नेहरू कम भइरहेको बेलामा देउडाको झझल्को दिने गीतहरू निकालेर देउडाको जगेर्ना गरेको उनको तर्क छ। ‘देउडा गीत नै लोप हुने अवस्थामा थियो। अहिले फेरि देउडा सुन्ने बानी सुरु भएको छ’, चक्रले भने, ‘नयाँ बाजामा हामीले नयाँ ढंगले हाम्रो भाषाको प्रयोग गरेका छौँ। अहिले विवाह पार्टीहरूमा पनि हाम्रो भाषा समेटिएका गीतहरू सुन्न पाइन्छ। यो पनि त हाम्रो भाषाको जगेर्ना हो नि!’

हेला गरेको गीतले नै न्याय गर्‍यो 

केही समयअघि बजारमा आएको ‘दारु सड्काउन्या हुँ’ बोलको गीतले चक्रलाई थप सफलताको शिखरमा पुर्‍यायो। उनका गीतहरूमध्ये सबैभन्दा बढी रुचाइएको र बढी हेरिएको गीत पनि यही नै हो।

युवाहरूको मनोभावलाई लिएर तयार गरिएको उक्त गीतले चक्रलाई सुदूर र मध्यपश्चिमका महोत्सवहरूमा व्यस्त बनायो। उनको त्यो गीतमा पनि अधिकांश डोटेली भाषाको प्रयोग भएको छ। आफ्नै शब्द र स्वरमा रहेको उक्त गीतमा चक्र आफैँले अभिनय गरेका छन्।

‘मैले शब्द कोरेर गाउन सुरेश रानालाई दिएको तर उहाँले तपाईंलाई अझै म्याच खान्छ भनेपछि मैले गायको थिएँ’, उनले भने, ‘मलाई यो गीतबाट खासै अपेक्षा थिएन।’ अपेक्षा नगरेको गीतले चक्रलाई संगीत क्षेत्रमा थप बलियो बनाएको छ। अहिले बालबालिका, युवा र वयष्कको मुखमा पनि यो गीत झुण्डिएको उनी बताउँछन्।

‘दारु सड्काउन्या हुँ’ले केही विकृति ल्याएको अरोप आएपछि चक्रले पछिल्लो पटक ‘विद्या कसम दारु खान्नँ’ बोलको गीत बजारमा ल्याएका छन्। नेपाल आइडलमा र्‍याप हानेर चर्चित बनेकी कैलालीकी करिष्मा बिष्टले चक्रलाई साथ दिएकी छन्। उनी पनि चक्रसँग काम गर्न पाएकामा निकै दंग थिइन्।

हेर्नुहोस् ‘दारु सड्काउन्या हुँ’ :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.