|

सल्यान : जिल्लाको सदरमुकामभित्र रहेको शारदा नगरपालिका प्राकृतिक एवं धार्मिक हिसाबले निकै परिचित छ। भुवनेश्वरी खैरावाङ भगवतीको मन्दिर यही नगरपालिकाभित्र पर्ने भएकाले धार्मिकका साथै पूर्वराजाहरूको अखडाका रूपमा रहेकाले यसलाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ। 

साविकका सात गाउँ विकास समिति खलंगा, मार्के, हिवल्चा, कजेरी, सेजवालटाकुरा, स्यानीखाल र डाँडागाउँलाई मिलाएर २०७१ जेठ २ गतेबाट औपचारिक रूपमा शारदा नगरपालिका संचालनमा आएको हो। राष्ट्रिय जनगणना २०६८ अनुसार यस नगरपालिकाको जनसंख्या ३३ हजार ७३० रहेको छ, जसमा पुरुष १५ हजार ६६१ र महिला १८ हजार ६९ रहेका छन्। यस नगरपालिकामा सबैभन्दा बढी क्षेत्री ६२.६४ प्रतिशत, सन्यासी/दशनामी ८.१९ र दलित ७.६७ प्रतिशत छन्। यस नगरपालिकामा औसत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरी नेपाली कांग्रेसबाट सुरेश अधिकारी यस नगरको प्रमुखमा निर्वाचित भएका छन्। सरकारी जागिरबाट राजीनामा दिएर प्रमुखमा लडेका अधिकारी निकै शालीन र भद्र व्यक्तित्वका रूपमा चिनिन्छन्। लामो समय तत्कालीन जिल्ला विकास समिति सल्यानको वरिष्ठ कार्यक्रम अधिकृत र केही समय कामु स्थानीय विकास अधिकारीको रही काम गरिसकेका छन् उनले। 

राजनीतिशास्त्रमा स्नातक गरेका अधिकारी स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि जनतासँग गरिएका बाचा के कति पूरा भए र आफ्नो नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने योजना के छ भन्ने सन्दर्भमा सल्यान थाहाखबरकर्मी दीपक शर्माले उनै नगर प्रमुख सुरेश अधिकारीसँग गरेको कुराकानी प्रस्तुत छ। 

स्थानीय तहको निर्वाचनमा जनतासँग गरिएका प्रतिबद्धता के कति पूरा भए? 

स्थानीय तहको निर्वाचन भई निर्वाचित भएको डेढ वर्ष बित्दा जनतासँग पाँच वर्षका लागि हामीले प्रतिबद्धता गरेका थियौँ। पाँच वर्षको अवधिमा पूरा गर्ने भनेर गरेका केही प्रतिबद्धता पूरा भएका छन् भने केही प्रक्रियामा रहेका छन्। पूर्वाधार विकास र सामाजिक विकासलाई दुई भागमा विभाजन गरी हामीले अहिले काम गर्दै आइरहेका छौँ। चुनावको समयमा जनतासँग पूरा गर्न नै नसकिने झूठो आश्वासन पनि दिएका थिएनौँ। जनताको दैनिक जनजीविकासँग जोडिएका विषयलाई बढी प्राथमिकतामा राखेका थियौँ र तिनै जनजीविकासँग जोडिएका विषयलाई अहिले सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ। 

जनतासँग गरिएका साना बाचाहरू दुई वर्ष नपुग्दै पूरा गरेका छौँ भने केही ठूला काम प्रक्रियामा रहेका छन्। ठूला काम भन्नाले नगरपालिकाभित्रका १५ वटा वडासम्म पुग्ने सडकहरू नालासहित ग्राभेल गर्ने, सबै वडामा बिजुली पुर्‍याउने, स्वच्छ खानेपानीको पहुँच बढाउने कुरा केही बाँकी छन्, जुन पाँच वर्षको बीचमा सम्पन्न गर्छौं। 

स्वास्थ्यको हकमा स्वास्थ्य चौकी नभएका वडाहरूमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका छौँ। यो वर्ष मात्रै चारवटा वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गरेका छौँ भने बाँकी रहेका दुई वडामा अब आउने नयाँ बजेटबाट सम्बोधन गर्दै छौँ। 

यस्तै, शिक्षाको क्षेत्रमा पनि हामीले केही नयाँ काम गरेका छौँ। नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको माध्यमबाट पठनपाठन गराइरहेका छौँ भने नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा निःशुल्क पाठ्यपुस्तक पनि उपलब्ध गराएका छौँ। 

कृषि र पशुपालनको क्षेत्रमा पनि निश्चित बजेट विनियोजन गरेर काम गरिरहेका छौँ। नेपालमा पहिलो पटक गाई सुत्केरी हुँदा सुत्केरी भत्ता दिने काम गर्‍यौँ, जुन अहिले अन्य गाउँपालिका तथा नगरपालिकाले सिको गर्दै आइरहेका छन्। 

समग्रमा भन्नुपर्दा निर्वाचनको समयमा जनतासँग गरिएका बाचा पूरा भएका छन् भने बाँकी बाचा तीन वर्षको अवधिमा पूरा गर्ने हामीले विश्वास लिएका छौँ। 

तपाईंले भनेजस्तै पशु सुत्केरी हुँदा दुई-तीन हजार रुपैयाँ दिने तर महिला सुत्केरी हुँदा आयोडिन नुनमा टार्ने काम भइरहेको छ। यसरी हेर्दा मानिस मुख्य कि पशु? 

तपाईंले भनेजस्तै दुईवटै विषयलाई एकै पटक हेर्दा मानिसभन्दा पशुलाई पहिलो प्राथमिकता दिएको हो कि जस्तो देखिन्छ। पशुपालक कृषकलाई पशुपालनतर्फ आकर्षित गर्नका लागि हामीले पशु सुत्केरी कार्यक्रम संचालनमा ल्याएका हौँ। कृषिबाट युवा जनशक्ति पलायन भइरहेको समयमा यस प्रकारका कार्यक्रमले युवालाई कृषिमा काम गर्न उत्साहित गर्छ भन्ने हाम्रो विश्वास छ। 

मानिस सुत्केरी हुँदा अहिले पनि राज्यले सल्यान जिल्लाको हकमा एक हजार ४०० रुपैयाँ दिँदै आइरहेकाले हामीले त्यसमा कुनै कार्यक्रम थप नगरेका हौँ। अस्पताल, बर्थिङ सेन्टरहरूमा ध्यान पुर्‍याएका छौँ। राज्यले दिइरहेको क्षेत्रमा हामीले हात नहालेको मात्रै हो। 

तपाईंको नगरका विकासका प्रमुख संभावनाहरू केके हुन्?

कृषि क्षेत्रको विकास गर्न नगरलाई विकसित गर्न सकिन्छ भन्ने मेरो आँकलन छ। किनकि उत्पादनको क्षेत्रमा नगरमा प्रशस्त संभावनाहरू छन्। कृषिलाई व्यावसायीकरण गर्न यस क्षेत्रमा पनि काम भइरहेको छ। तरकारी उत्पादनका लागि पकेट क्षेत्रको पहिचान गरी कृषिमा संलग्न किसानहरूलाई प्रोत्साहन गर्ने काम गरिरहेका छौँ। यसका अलावा पशुपालनलाई सुव्यवस्थित गर्न र व्यावसायिक बनाउन गाईपालक किसानलाई सुत्केरी भत्ता (दाना आहारा) वितरण गर्ने र बाख्रापालक किसानलाई बोका वितरणको काम भइरहेको छ। यहाँ मकै उत्पादनमा अब्बल मानिन्छ। त्यसका लागि उन्नत जातको मकैको बिउ वितरण गरी व्यावसायिक मकै खेतीलाई प्रोत्साहन गरी आयआर्जन बढाउने प्रयास गरिरहेका छौँ।

नगरभित्र धार्मिक पर्यटनको संभावना बोकेको खैरावाङ भगवती मन्दिर छ। त्यसको विकासका लागि गुरुयोजना बनाएर काम अघि बढाएका छौँ। 

स्थानीय सरकार स्थानीय मतदाताको वास्तविक प्रतिनिधि हो। यसले मतदाताको दैनिक जीवनलाई सहज, सुखी र समृद्ध बनाउन नीति योजनाको निर्माण, सेवामुखी व्यवहारको प्रदर्शन गर्नुपर्छ भन्ने ठान्छु म। उल्लेखित विषयवस्तुलाई व्यवहारमा लागू गर्ने कामको प्रतिनिधित्व न्यायपूर्वक जनप्रतिनिधिले गर्नुपर्छ।

यो वर्ष प्राथमिकतामा रहेका योजनाहरू केके हुन्?

खासगरी स्वास्थ्य, शिक्षा, सडक निर्माण र खानेपानीको पहुँच विस्तारका योजना पहिलो प्राथमिकतामा पर्छन्। त्यसबाहेक कृषि, पशुपालन र क्षमता अभिवृद्धिका कार्यक्रम पनि प्रस्ताव गरेका छौँ।

भर्खरै सम्पन्न योजनामध्ये तपाईंको विचारमा प्रभावकारी योजना कुन हो र किन? प्रभावकारी योजना निर्माणमा केले प्रभाव पर्दोरहेछ?

जिल्लाकै एक मात्र अस्पताल सल्यान अस्पताललाई भौतिक पूर्वाधारयुक्त बनाउन हामीले सुरु गरेको योजना अब पूरा हुने चरणमा छ। १५ शैय्याबाट ५० शैय्या पुर्‍याउन नगरसभाको निर्णयअनुसार काम सम्पन्न हुने दिशातिर छ। त्यसभित्र आवश्यक पर्ने भौतिक आवश्यकताहरूको आपूर्ति, जनशक्तिको अभावलाई नगरले व्यवस्थापन गरेको छ। यो योजनावाट म सन्तुष्ट छु किनकि यसले जिल्लाबाहिर उपचार गराउन जानुपर्ने बाध्यतालाई पूर्ण रूपले निरूपण गर्छ। जहाँसम्म योजनालाई प्रभावकारी बनाउन बजेटको सवाल आउँछ, बजेटको अभाव सबैभन्दा ठूलो समस्या हो। केन्द्र र प्रदेशले दिने अनुदानको दायरामा रहेर योजना बनाउनुपर्ने बाध्यता छ। मतदाताका अपेक्षाहरू अनगिन्ती छन् तर स्रोत थोरै छ। सोचेजति काम गर्न गाह्रो छ।

स्थानीयस्तरवाट कस्ता खाले योजनाहरूको बढी माग हुने गर्छ?

खासगरी सडक, खानेपानी, सिँचाइ कुलो, विद्युत विस्तारका योजनाहरूको अधिकतम माग हुने गरेको छ। बढी मात्रामा पूर्वाधारमा मानिसको जोड हुने गरेको छ। 

आधारभूत पूर्वाधारको हिसाबले नगर कति विकसित छ?

जिल्लाका अन्य स्थानीय तहहरूको तुलनामा शारदा नगरपालिका विकसित नगरपालिका हो। सदरमुकाम र त्यस वरिपरि रहेका केही वडाहरूमा भौतिक पूर्वाधारहरू केही मात्रामा रहे पनि ग्रामीण क्षेत्रका वडाहरू अहिले पनि पूर्वाधारविहीन नै छन्।

नगर विकासका सजिला, अप्ठ्यारा पक्षहरू केके हुन्?

नगर विकासका लागि काम गर्नुपर्छ भन्ने टिम भएकाले सजिलैसँग काम गरिरहेका छौा तर भौगोलिक विकटता, आर्थिक अभाव, कहिलेकाहीँ देखिने विकासप्रतिको असमझदारीले समस्या देखिने गर्छ। 

चालू आर्थिक वर्षमा कुन क्षेत्रका विकासलाई प्राथमिकतामा राख्नुभएको छ?

स्वास्थ्य, शिक्षा, सडक र बजार व्यवस्थापनका कुराहरू यो वर्ष प्राथमिकतामा छन्। यही आर्थिक वर्षमा नगरका १५ वटै वडालाई विद्युतीकरण गरिसक्ने योजनाका साथ काम अघि बढाएका छौँ। स्वास्थ्य सेवाको पहुँच नभएका क्षेत्रमा शहरी स्वास्थ्य क्लिनिकहरूको स्थापना, आधारभूत तहका विद्यार्थीहरूलाई नि:शुल्क पाठ्यपुस्तक वितरण र सडक नपुगेका क्षेत्रमा यही वर्षमा सडकले जोड्ने योजना कार्यान्वयनमा छन्।

स्थानीय जनताको सहयोग कस्तो पाउनुभएको छ?

सीमित स्रोत साधनका बीच पनि स्थानीय जनताको अपेक्षाअनुसार न्यायपूर्ण काम गरिरहेका छौँ। तसर्थ जनताको असहयोग हुने कुरै भएन।

स्थानीय तहमा आर्थिक स्रोत के छ? कर बढेको गुनासो पनि छ नि?

हामीसँग स्थायी आर्थिक स्रोत केही पनि छैन। राज्यले दिने अनुदानमै हामी बढ्ता निर्भर छौँ। स्थानीयस्तरमा ढुंगा, गिट्टी, बालुवाबाट उठ्ने करले मात्र के गर्न सकिन्छ र? जहाँसम्म करको सवाल छ, राज्यले निश्चित गरेका क्षेत्रलाई समेट्ने गरी हामीले कर लगाएका छौँ। करको दायरा बढाएका छौ तर करको परिमाण हामी निर्वाचित भएर आउनुअघि जे थियो, त्यही नै छ। कर बढाएका छैनौँ।  

अन्त्यमा, नगरको विकासको भिजन के छ?

शारदा नगरपालिका अधिकतम रूपमा कृषि पेसामा आधारित क्षेत्र हो। केही बजार उन्मुख क्षेत्र पनि हो। बजार उन्मुख क्षेत्र क्षेत्रर र ग्रामीण क्षेत्रलाई १२ महिनै जोड्ने गरी सुरक्षित र अवरोधविहीन सडक बनाउन आवश्यक छ। त्यसले ग्रामीण क्षेत्रको उत्पादनलाई बजारसम्म ल्याउने र वस्तु उत्पादनमा बढोत्तरी भई आर्थिक उन्नति हुने संभावना छ। त्यसका अलावा बाख्रापालनको पकेट एरिया पनि हो यो क्षेत्र। यसलाई प्रोत्साहन गर्ने प्रयत्न भइरहेको  छ। खासगरी नगरभित्रका सबै सडकहरूलाई कम्तीमा ग्राभेल गर्ने मेरो योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.