|

जनकपुरधाम : नेपाल तरुण दलले प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेको छ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बुधबार जनकपुरधाममा ओली सरकारले भ्रष्टाचार, अपराधिकरण, महँगी, मूल्यवृद्धि, प्रेसमाथिको हस्तक्षेपलगायतको विषयमा अनुदार बन्दै गएकोप्रति विरोध जनाउदै सरकारको विरुद्धमा प्रदर्शन गरेको हो।

कार्यक्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र, बढ्दो भ्रष्टाचार, महँगी, वाइडबडी खरिदमा अनियमितता, निर्मला पन्तका हत्यारालाई ढाकछोप लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा प्रदर्शन गरिएको जानकारी दिए। नेपाल तरुण दलको पूर्व निर्धारित कार्यक्रमअनुसार प्रदेश १ मा मंगलबार र २ मा बुधबार प्रदर्शन गरिएको तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले जानकारी दिए। देशको सातै प्रदेशका राजधानीमा सरकारविरुद्ध प्रदर्शन गर्ने तरुण दलले जनाएको छ।

विरोध जुलुसमा वर्तमान सरकारले संविधान विरोधि गतिविधि गरेको तथा आफ्नै सरकारको मन्त्रीले अर्बौ भ्रष्टाचार गरे पनि ढाकछोप गर्न लागेको प्रति विरोध जनाउँदै प्रदर्शन गरिएको केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले बताए। जनकपुरधाम माइस्थानस्थित कांग्रेस पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस मुरली चोक, राम चोक, जनक चोक, शिवचोक हुँदै भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुङ, धनुषा जिल्ला अध्यक्ष सञ्जयलाभ कर्ण, उपाध्यक्ष राकेशविक्रम साहलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए। विरोध कार्यक्रममा कांग्रेस नेता आनन्द ढुंगाना, रामकृष्ण यादव, दिनेश प्रसैला यादवलगायतको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.