रावलले चाहेको सुदृढ विमानस्थलमा नेपालले किन गरे आनाकानी?

|

काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितले चार विमानस्थलको स्थलगत अध्ययनपछि अबको कामको विषयमा प्रतिवेदन तयार पारेको छ। त्यसैमध्येको एक हो- संचालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)।

माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले तयार पारेको प्रतिवेदनमा विमास्थलमा अहिले धेरै सुधार भएको र समस्याको रूपमा रहेको एयर ट्राफिक व्यवस्थापन केही समयमा सुधार हुने उल्लेख गरिएको छ। एयरपोर्ट विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा भने समयमै भुक्तानी गर्नका लागि मातहतको मन्त्रालयलाई निर्देशन दिनुपर्ने उल्लेख गरिएको छ।

विमानस्थल आधुनिकीकरण गर्ने काम पनि तोकिएको समय (छ महिनाभित्र) सकिने प्रतिबद्धता आएको अवस्थामा तोकिएको समयभन्दा पनि पहिले सक्‍न आग्रह गर्ने उल्लेख गरिएको छ। विमानस्थलले उठाउनुपर्ने बक्यौता रकम छिटो उठाउन आग्रह पनि गरिएको छ।

त्यस्तै, काभ्रेको नामी डाँडामा नयाँ एयरपोर्ट बनाउन उपयुक्त नहुने ठहर पनि उपसमितिले गरेको छ। समितिका सबै सदस्य यस विषयमा सहमत छन्।

सामान्यतया: अहिले एयरपोर्टमा भए गरेको काम सन्तोषजनक रहेको र पहिलेका केही काम पूरा गर्न केन्द्रित गरेर तयार पारिएको प्रतिवेदनमा समिति सदस्य भीम रावल भने सन्तुष्ट देखिँदैनन्।

उनले सुदृढ विमानस्थलका लागि अब के गर्ने? एयर ट्राफिक म्यानेजमेन्ट कसरी गर्ने? विमास्थलको स्वरूप कस्तो हुने? लगायतका विषयमा आफ्नो धारणा राख्दै प्रतिवेदनमा समावेश गर्न आग्रह गरे। तर विषय विज्ञसँग थप छलफल नगरी रावलका कुरा समावेश गर्न संयोजक नेपाल भने तयार भएनन्। थप सुझाव समावेश गर्ने गरी समितिले उपसमितिको प्रतिवेदन भने ग्रहण गरेको छ। रावलले टिआइएमा एयर ब्रिज संचालन गर्नेसम्मका सुझाव समावेश गरेका छन्।

रावलको माग र नेपालको आनाकानी

‘मयुरले प्वाँख देख्छ रमाउँछ, खुट्टा देख्छ रुन्छ’ भनेजस्तै टिआइएको अवस्था भएको भन्दै रावल यसमा सुधार आवश्‍यक रहेको बताउँछन्। विमानस्थलको पूर्वपट्टि धेरै लामो समयदेखि जग्गा अधिग्रहण भएको, मुआब्जा पनि दिइएको तर घरहरू नहटेको अवस्थामा तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुपर्ने माग रावलको छ। उनले यी घर व्यवस्थित नगरिएका कारण असुरक्षा बढेको र विमानस्थल निकै अवव्यवस्थित भएको बताए। आफू नागरिक उड्डयनमन्त्री हुँदा व्यवस्थित गर्ने काम सुरु गरे पनि पूरा हुन नसकेको भन्दै रावलले विमानस्थल व्यवस्थित गराउन निर्देशन दिनुपर्ने विषय प्रतिवेदनमा पार्न माग गरेका छन्।

उनले पूर्वपट्टिको जग्गामा नयाँ रन वे थप्नका लागि निर्देशन दिनुपर्ने माग गरेका छन्। प्रतिवेदनमा लेखिएजस्तै पार्किङ बढाएका कारण एयर ट्राफिक नघट्ने उनको दाबी छ। ‘संयोजकज्यूलाई कसले भनिदियो र लेख्नुभयो तर रन वे नबढाएसम्म एयर ट्राफिक व्यवस्थित हुँदैन’, रावलले भने। एक घण्टासम्म जहाज होल्ड हुने अहिलेको अवस्थालाई न्यूनीकरण गर्नका लागि रन वे थप्‍नै पर्ने रावलको दाबी छ।

प्रतिवेदनमा उल्लेख गरिएसँगै निजगढ विमानस्थल बनेपछि पनि रन वे नथपे एयर ट्राफिक म्यानेजमेन्ट नहुने उनको भनाइ छ। रावलको यो विषय थप्‍न भने नेपालले मानेनन्। ‘हामीले यस विषयमा बुझेका थियौँ, त्यो जग्गामा कसै गरी रन वे थप्‍न सकिँदैन भन्ने कुरा आएको छ। हामी विषयविज्ञ होइनौँ, त्यस कारण अहिले रन वे बनाऊ भन्न सक्ने अवस्था छैन’, नेपालले भने, ‘विज्ञहरूसँग छलफल भने गर्न सकिन्छ।'

रावलले टिआइएको आकाशमा १५ मिनेट बढी ट्राफिक जाम नगर्न निर्देशन दिनुपर्ने मागसमेत गरेका छन्। उनले आन्तरिक उडानमा यो व्यवस्थापन सजिलै गर्न सकिने भन्दै यस्तो निर्देशनको माग गरेका हुन् तर यो विषयमा नेपालले सम्बोधन गरेनन्।

त्यस्तै, गल्फ कोर्षलाई हटाएर त्यस स्थानमा अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने, अहिले अन्तर्राष्ट्रिय टर्मिनल भवन भएको स्थानमा डोमेस्टिक टर्मिनल भवन बनाउनुपर्ने सुझाव रावलको रहेको छ। यसो गर्दा एयरपोर्ट ठूलो भई एयर ब्रिजको माध्यमबाट यात्रुलाई जहाजमा पठाउन सकिने उनको भनाइ छ।

यस विषयमा पनि नेपालले इन्कार गरे, ‘गल्फ कोर्ष हटाउँदा त हुने हो तर हटाउनै मिल्दैन भन्ने कुरा आएको छ, थप छलफल नगरी उल्लेख गर्न सकिँदैन।’

त्यस्तै, रावलले विमानस्थल अहिले पनि सुविधा र सेवाका साथै सरसफाईका हिसाबले कमजोर रहेको भन्दै व्यवस्थित बनाउन निर्देशन दिनुपर्ने माग गरेका छन्। यो विषयमा नेपालले आफू जाने क्रममा सरसफाई राम्रो देखिएको, ट्वाइलेट पनि ठीक रहेको बताएका थिए। रावलले भने यो विषय अस्वीकार गरेका छन्। ‘म अस्ति मात्र गएको हुँ, अहिले पनि विमानस्थलको ट्वाइलेट जानु छ भने घरबाट राम्ररी धोएको रुमाल लिएर जानुपर्छ।’ तर सेवा र सुविधा विस्तार गर्न निर्देशन दिने विषयमा भने नेपाल सहमत देखिए।  

विमानस्थल र ट्राफिक व्यवस्थापनको जिम्मा नेपाल सरकारले नै गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गर्नुपर्ने माग रावलको छ। उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुने समयम यी दुवै काम विदेशीलाई दिने निर्णय गरेको र अदालतले रोकिदिएको कारण मात्रै विदेशीको हातमा नगएको उल्लेख गर्दै नेपाल सरकारले नै व्यवस्थापन जिम्मा लिनुपर्ने सुझाव दिन माग गरे। नेपाल रावलका कुरासँग सहमत भए पनि प्रतिवेदनमा यस्तो शब्द लेख्न असमर्थ रहे। ‘नेपाल सरकार र नेपालको निजी क्षेत्रले व्यवस्थापनको जिम्मा लिनुपर्छ, विदेशीको हातमा जानुहुँदैन तर अहिले यस्तो समस्या नदेखिएका कारण यो विषय उल्लेख गर्नु नपर्ला’, नेपालले भने।

त्यस्तै, रावलले एयर होल्ड १५ मिनेटभन्दा बढी नगर्न निर्देशन दिनुपर्ने माग गरेका छन्। 'अहिले एक घण्टासम्म एयर होल्ड हुने गरेको छ, बाह्‍यलाई नसके पनि आन्तरिक एयरहोल्ड पौने घण्टा हामीले घटाउन सक्छौँ', रावलले भने, 'धनगढीबाट उड्ने जहाजलाई यहाँ व्यवस्थित नभएसम्म नउड् भने हुन्छ। त्यस कारण होल्ड १५ मिनेट नगर भन्‍नुपर्छ।' आन्तरिक उडानमा १५ मिनेट मात्रै होल्ड गर्न निर्देशन दिनुपर्ने मागमा पनि नेपालले जवाफ फर्काएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.