अत्याधिक रक्तस्राव भएपछि अञ्चल अस्पताल रेफर

|

तेह्रथुम : अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरी महिलालाई जिल्ला अस्पताल तेह्रथुमले रेफर गरेको छ। म्याङलुङ नगरपालिका ८, आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको जिल्ला अस्पतालमा सोमबार प्रसूति गराइए पनि अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि मंगलबार हेलिकोप्टरबाट कोशी अञ्चल अस्पताल, विराटनगर लगिएको हो।

रातमा बिजुली नभएको समयमा विकल्पिक ऊर्जाको व्यवस्थापन नहुँदा जिल्लाको एक मात्र अस्पतालमा इमर्जेन्सी लाइट बालेर उपचार गर्नुपर्ने बाध्यता भएको छ। चिकित्सकद्वारा प्रसूति गृहमा सोमबार साँझ यस्तै अवस्थामा लिम्बूको उपचार भइरहेको थियो। जिल्ला अस्पतालमा भएको जेनेरेटर प्राविधिक नभएको भन्दै थन्क्याइएको छ भने इन्भर्टर पनि चालु अवस्थामा छैनन्। दिनमा पनि बिजुली नभएको अवस्थामा एक्स-रे गर्नसमेत बिजुली कुर्नु पर्ने बाध्यता छ।

आवश्यक मात्रामा दक्ष प्राविधिक नभएको र अस्पताल व्यवस्थापनमा सम्बन्धित सरोकारवालाको कमै मात्र ध्यान जाने गरेका कारण पनि बिरामीले जटिल अवस्था खेप्नु परेको अस्पतालले भन्दै आएको छ। जसको मारमा भने अस्पतालमा भर्ना हुने सम्पूर्ण बिरामी पर्ने गरेका छन्।

लिम्बूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोशी अञ्चल अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी हुमागाईले बताइन्। जिल्ला अस्पतालमा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको भन्ने जानकारी पाएपछि गृह मन्त्रालयका साथै महिला तथा बालबालिका मन्त्रालयसँग समन्वय गरी उद्धार गरिएको प्रजिअ हुमागाईंले बताएकी छन्।

सोमबार बेलुका नै प्रयास गरिए पनि जिल्लामा नाइटभिजन हेलिकोप्टर अवतरण गर्ने ठाउँ नभएका कारण मंगलबार मात्र हेलिकोप्टर बोलाई बिरामीको उद्धार गरिएको प्रजिअ हुमागाईले बताइन्। हालसम्म पनि तेह्रथुम जिल्ला जोड्ने एक मात्र सडक कालोपत्रे हुन नसकी कच्ची बाटोमा सजह रुपमा गाडी गुड्ने अवस्था नभएपछि आपतकालीन स्थितिमा हेलिकोप्टरको प्रयोग गर्नु परेको हो।

परिवारको स्वीकृतिमा जिल्ला अस्पतालमा नै शल्यक्रिया गरेर बच्चा जन्माइएको र आइसियूमा राख्नु पर्ने गम्भीर अवस्था आएपछि रेफर गरिएको अस्पतालका चिकित्सक आनन्द देबले बताए। सर्वसाधारण व्यक्तिले रगत दिएर। शल्यक्रिया गरिएको लिम्बूको सोमबार दिउँसो ३ बजे बच्चा जन्मिएको थियो।

शल्यक्रियापछि पनि रक्तस्राव नरोकिएका कारण अस्पतालले रेफर गरेको उनका पति किर्तिमान लिम्बूले बताए। अस्पतालले समयमा नै सही सल्लाह नदिएर बिरामीको गम्भीर अवस्था भएपछि मात्र रेफर गर्ने गरेको बिरामीका आफन्तहरुको गुनासो रहेको छ। लिम्बूलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी तेह्रथुमले माघ २ गते ६३ पिन्ट संकलन गरेको रगत तेह्रथुममा व्लडबैंक नहुँदा सुनसरी पठाइएको थियो। हालसम्म पनि जिल्ला अस्पताल तेह्रथुममा व्लडबैंक स्थापना नहुँदा यहाँ आउने थुप्रै बिरामीले रगतको अभावमा जोखिम खेप्नु परिरहेको छ।

सरकारले जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारका लागि कार्यविधि नै तयार गरेर राष्ट्रपति उत्थान कार्यक्रम सञ्चालनमा ल्याएको छ। यस किसिमका कार्यक्रमले जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको ज्यान बचाउनमा ठूलो योगदान गर्नेमा जिल्लाबासीहरु आशावादी देखिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.