|

सोलुखुम्बु : हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्लासहित आसपासको क्षेत्रमा रहेको हिमाल तथा डाडापाखा हिउँले सेताम्मे भएको छ भने अत्याधिक चिसो महशुस गरिएको छ।

बुधबार रातिदेखि परेको पानी र हिमपातका कारण सडक यातायातदेखि हवाई सेवासमेत पूर्णरूपमा बन्द भएको छ। स्थानीयस्तरका यातायात आंशिक मात्रमा सञ्चालन भइरहेको छ। बुधबार सल्लेरीबाट काठमाडौंका लागि छुटेका अधिकांश जीपहरू पत्तालेमा रोकिएका छन् भने सोलुखुम्बु आउने जीप ओखलढुंगाको ठाडेमै रोकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

पत्तालेस्थित प्रहरी चौकीका प्रहरी हवल्दार विजय शिवाका अनुसार बिहानै केही जिपले पत्ताले क्षेत्र पार गरेको भए पनि अहिले कुनै सम्भावना छैन। दर्जनौँ जीप तथा मालबाहक ट्रकसमेत पत्तालेमा रोकिएका छन्। सवारी सञ्चालन हुन नसक्दा यात्रु भने अलपत्र परेका छन्।

'केही यात्रु भने हिँडेरै ठाडेदेखि पत्ताले र पत्तालेबाट ठाडे गएका छन्' सवारी चालक कृष्ण कार्कीले भने, 'अहिले पनि वर्षातसँगै हिउँ परिरहेको जसले गर्दा सवारी चलाउन सकिने अवस्थानै छैन।' कार्कीका अनुसार मौसममा राम्रो सुधार नआएसम्म सवारी आवगमनमा सस्या हुनेछ।

सोलुखुम्बुबाट काठमाडौं हिँडेका अधिकांश यात्रु पत्तालेमा रहेका छन्। सडक अवरुद्ध भएसँगै बालबालिका तथा बृद्धबृद्धा यात्रु भने बढी प्रभावित भएको स्थानिय भाईचुङ शेर्पाले बताए। 'अहिले हिउँ करिब एक फिट बढी जम्मा भएको छ' शेर्पाले भने, 'हिउँ पर्ने क्रम जारी छ, घरबाट बाहिर निस्कन मुस्किल भए पनि युवकयुवती भने हिउँसँग रमाई रहेका छन्।'

कुनै पनि उडान भएन

जिल्लामा सञ्चालित दुईवटा विमानस्थलमा बुधबार कुनै पनि उडान हुन नसकेको विमानस्थलले जनाएको छ। मौसम प्रतिकूलताको कारण बुधबार कुनै पनि उडान हुन नसकेको नागरिक उडड्यान प्राधिकरण फाप्लुका प्रमुख अमित चौरसियाले जानकारी दिए।

उनका अनुसार बुधबार फाप्लु विमानस्थलमा तारा एयरको एउटा उडान तालिका भए पनि उडान हुन सकेन। यस्तै फाप्लु स्याङ्बोचे कार्गो सेवासमेत बुधबार बन्द भएको छ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लका अनुसार बुधबार २० वटा उडान तालिका भए पनि कुनै पनि उडान हुन सकेन। नागरिक उडड्यान प्राधिकारण लुक्लाले दिएको जानकारीअनुसार तारा एयरको १०, सीता र समिटको ५/५ वटा उडान तालिका थियो तर ती कुनै पनि उडान भएन। यस्तै, हेलिकोप्टरले समेत उडान भर्न नसकेको बताइएको छ।

माथिल्लो क्षेत्रको पूरै भू-भाग अहिले कुहिरोले ढाकेको छ। हिमपातका कारण खुम्बु क्षेत्रको जनजीवनसमेत प्रभावित बनेको खुम्बु पासङ ल्हमु गाउँकार्यपालिका सदस्य उमा बराइलीले बताइन्

'खुम्बुका अधिकांश मानिस जाडो छल्न बाहिर गएको भए पनि यहाँ बस्ने मानिसलाई निक्कै गाह्रो भएको छ' बराईलीले भनिन्, 'केटाकेटी बूढाबूढी र पशु चौपाय बढी प्रभावीत बनेको छ।'

सोलुखुम्बुको पत्ताले, पिकेडाडा, तामाखानी, रातनाङ्गी, स्यालगुडी, डाँडाखर्क जुनबेशीसहित माथिल्लो क्षेत्र खुम्बुमा हिउँले ढाँकेको छ।

हिउँदे बाली सप्रने भन्दै कृषक हर्षित

पानी परेपछि कृषक भने आफूले लगाएको अन्नबाली सप्रने भन्दै हर्षित भएका छन्। थुलुङ दूधकोशी गाउँपालिका ७ का कृषक रिद्धिबहादुर केसीले हिउँदे बाली सप्रने भन्दै खुसी व्यक्त गरे। पानी परेपछि उनी जस्तै अन्य हजारौँ कृषक हर्षित भएका छन्।

खोटाङको एैसेलुखर्क गाउँपालिका ५ का  कृषक गोपाल दाहाल  माघ पहिलो साता परेको पानी खेतीपातीका लागि निकै राम्रो हुने बताउँछन्। 'धेरै लामो समयपछि पानी पर्‍यो,' दाहालले भने, 'यसले हिउँदे बाली फस्टाउने हुँदा उत्पादन पनि बढ्ने ठूलो आशा छ।'

मौसमको कारण जनजीवन प्रभावीत भए पनि उत्पादन बढ्ने हुँदा आफूहरूलाई कुनै पनि प्रभावको महशुस नभएको किसान बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.