|

बाँके : भारतबाट डेढ महिनाअघि खरिद गरेर ल्याएको घुम्ती शौचालय नेपालगन्ज नगरको चार ठाउँमा संचालनमा ल्याइएको छ। सार्वजनिक शौचालय नभएका कारण व्यापारी, सर्वसाधारण र बटुवाहरू खुल्ला ठाउँमा शौच गर्न बाध्य भएपछि नेपालगन्ज उपमहानगरपालिकाले बुधबारदेखि घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो।

नगरक्षेत्रको अति व्यस्त हुने चोक र बजारका चार ठाउँमा चारवटा घुम्ती शौचालय संचालनमा ल्याएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले बताए। उनका अनुसार, नेपालगन्ज बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चोक र त्रिभुवन चोकमा घुम्ती शौचालय राखिएको छ।

उनले वडाका जनप्रतिनिधि, सर्वसाधारणको माग र आवश्यकतालाई मध्यनजर गरि घुम्ती शौचालय राखिएको बताए। नेपालगन्ज नगरलाई खुल्ला दिसामुक्त घोषणा भए पनि सार्वजनिक शौचालय नभएका कारण सर्वसाधारण खुल्ला ठाउँमा शौच गर्न बाध्य भएका थिए।

शौचालय निर्माणका लागि सार्वजनिक जमिन नभएका ठाउँलाई लक्षित गरी घुम्ती शौचालयको अवधारणा ल्याइएको उपप्रमुख उमा थापामगरले बताइन्। उनले खुल्ला दिसामुक्त घोषणा कार्यान्वयनमा सघाउ पुर्‍याउन शौचालय खरिद गरिएको बताइन्। ‘खुल्ला दिसामुक्त घोषणा भए पनि सार्वजनिक शौचालयन नभएका कारण खुल्ला ठाउँमा शौच गर्नेलाई कारवाही गर्न सकिएको थिएन,’ उनले भनिन्, ‘खुल्ला ठाउँमा शौच गर्नेलाई अब कारवाहीको दायरामा ल्याइने छ।’

नगर प्रमुख डा. राणा, उपप्रमुख थापामगर, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले रिवन काटेर संयुक्त रुपमा घुम्ती शौचालयको उद्घाटन गरेका हुन्। रु. ५९ लाखमा चार वटा घुम्ती शौचालय खरिद गरिएको प्रवक्तासमेत रहेका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले बताए। उनले आवश्यकताअनुसार अन्य ठाउँमा पनि घुम्ती शौचालय राखिने बताए।

एक ठाउँबाट अर्को ठाउँमा सहज रुपमा लैजान सकिने उक्त शौचालयमा एकसाथ आठ जनाले प्रयोग गर्न मिल्ने सुविधा भएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए। घुम्ती शौचालय सञ्चालनपछि सार्वजनिक शैचालयको अभावलाई कम गर्ने र नगरको सरसफाईमा मद्दत पुग्ने भएको छ।

घुम्ती शौचालय सञ्चालनका लागि तीन महिनाका लागि भ्याटसहित ७० हजारमा सरसफाईकर्मी भानु भट्टलाई जिम्मेवारी दिइएको उपमहानगरले जनाएको छ। सञ्चालन खर्चका लागि उपभोक्तासँग पिसाव वापत पाँच रुपैयाँ र दिसाबापत १० रुपैयाँ शुल्क निर्धारण गरिएको भट्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.