|
File Photo

जनकपुरधाम : धनुषासहित मध्य तराई मधेशका जिल्लामा बुधबार परेको पानीसँगै जाडोको प्रकोप बढेको छ। धनुषासहित पूर्वको सप्तरी, सिरहा, महोत्तरी, सर्लाही सहितका जिल्लामा बुधवार बिहानैदेखि परेको पानी र हावाले मध्य तराईका जिल्लामा चिसोको बढेको हो।

यस वर्षमा मध्य तराईका जिल्लामा अन्य वर्षको तुलनामा चिसो नभए पनि एक्कासी परेको पानी र हावाका कारण जाढो बढेको छ। मौसम परिवर्तनसँगै तराईका जिल्लामा बिहानको समयमा शितलहरको प्रकोप जाडोमा बृद्धि भएको हो । बिहान तथा बेलुका अत्याधिक चिसो तथा शितलहर लाग्नुका साथै चिसो हावाले जनजीवन प्रभावित हुने गरेको छ ।

जाडोका कारण जनकपुर अञ्चल अस्पतालमा निमोनिया, रुघाखोकी, टाउको दुख्ने जस्ता रोगीको संख्या बढेको जनकपुर अञ्चल अस्पतालले जनाएको छ। यता जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले बढ्दो शितलहर तथा जाडोलाई मध्यनजर गर्दै विभिन्न विभिन्न सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरेको छ।

शितलहरसँगै प्रत्येक वर्ष जनकपुरको विभिन्न चोकचोकमा बालिने गरेको आगो यस वर्ष कुनै पनि स्थानमा बालिएको छैन। माघको पहिलो सातासम्म मौसम सामान्य रहे पनि दोस्रो सातामा प्रवेश गरे लगत्तै चिसो बढेको हो। चिसो बढेसँगै बालबालिका, बृद्धबृद्धा र अशक्तमा बढी प्रभाव देखिएको छ। विभिन्न स्थानमा सर्वसाधारण आगो तापेर चिसो छलिरेहका देखिए भने चहलपहलमा कमी आएको छ।

अस्पतालमा विरामीको चाप

बढ्दो चिसोका कारण स्वास्थ्य संस्थामा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वाश–प्रश्वासका बिरामीको संख्या बढेको छ। जनकपुर अञ्चल अस्पतालमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धा बढी बिरामी भई अस्पताल भर्ना भएको चिकित्सकले बताएका छन्। अञ्चल अस्पतालमा चिसोका बिरामी ७५ प्रतिशतको हाराहारीमा छन्। चिसोले दम, निमोनिया, कोल्ड डायरिया, घाँटी दुख्ने जस्ता समस्याले पीडित मानिस बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट नागेन्द्र प्रसाद यादवले बताए।

‘इर्जेन्सीमा आउने विरामीमा ७५ प्रतिशत चिसोकै बिरामी छन, ओपीडीमा पनि त्यस्तै अवस्था छ’ उनले भने ‘ विशेषगरि बालबालिका र वृद्धवृद्धा चिसोले प्रभावित भएपछि उपचारका लागि आउँछन्।’ अस्पतालको इमर्जेन्सीमा औसत दैनिक सय जना र ओपीडीमा दुई सयदेखि अढाइ सयको हाराहारीमा विरामी उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ। त्यसैगरी जनकपुरमा रहेका अन्य निजी स्वास्थ्य संस्थामा चिसोका कारण हुने विभिन्न संक्रमणका विरामी बढेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.