|

दार्चुला : दुई दिनदेखि लगातर परेको हिमपात र वर्षाले जिल्लाको यातायात र सञ्चार सेवा अवरुद्ध भएको छ। दार्चुलाको व्यास र अपिहिमाल गाउँपालिकाका अधिकांश क्षेत्रमा हिमपात भएको छ भने दुहूँ, नौगाड र मार्मा क्षेत्रका उच्च पहाडि क्षेत्रका साथै सबै स्थानीय तहका उच्च क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

निरन्तरको हिमपात र वर्षाले जिल्लाको यातायत र सञ्चार पूर्ण रुपमा प्रभावित भएको छ। सडक हिलाम्य भएपछि मार्मा, दुहूँ र नौगाड गाउँपालिकाको यातायात पूर्ण प्रभावित भएको छ भने महाकाली लोकमार्गमा पर्ने तेर्छालेक क्षेत्रमा हिमपात हुँदा यातायात सञ्चालन गर्न समस्या भएको छ।

हिकिलादेखि खलंगासम्मको सडक गाडी नै गुडाउन नसकिने अवस्था भएकाले आफू हिँडेरै खलंगा पुगेको दुहुँ २ हिकिलाका भवानसिह धामीले बताए। महाकाली नगरपालिका वडा नम्बर २ मैखोली क्षेत्रमा सडक अवरुद्ध भएपछि नौगाडको यातायात पनि अवरुद्ध भएको छ। स्तरोन्नति हुन नसकेको सडक हिलाम्मे हुँदा जिप नै सञ्चालन गर्न नसकिने अवस्था आएको स्थानीय सागर डोबालले जानकारी दिए।

वर्षा र हिमपातले सडकसँगै सञ्चार सेवा पनि अवरुद्ध भएको छ। महाकाली नगरपालिका क्षेत्रबाहेक अन्य स्थानीय तहमा सञ्चार अबरुद्ध भएको छ। स्टेसनहरुमा पावर सम्पलाई हुन नसक्दा सञ्चारमा समस्या देखिएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए। ‘जिल्ला सदरमुकामबाहेक अन्य क्षेत्रका टावरहरु सोलार सिस्टमबाट चल्ने भएकाले समस्या आएको हो’ टेलिकम प्रमुख गुरुङले भने।

हिजोदेखि लगातर घाम नलागेका कारण सञ्चारमा समस्या आएको छ भने बैतडीको बित्थडमा समस्या आउँदा दार्चुला इन्टरनेट सेवासमेत अबरुद्ध छ। समाचार सम्प्रेण लगायतका काम गर्न भारतीय नेटवर्कको प्रयोग गर्नु परेको स्थानीय पत्रकार सन्तोष कोट्टारीले जानकारी दिए। निरन्तर वर्षा र हिमपात भए पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकृत प्रहरी निरीक्षक हिम्मत बोहराले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.