|

चितवन : चितवन र आसपासका विभिन्न स्थानमा पानीमा आश्रित चराको संख्या बढेको छ। जनवरी ५ देखि २० सम्म गरिएको चरा गणनामा पानीमा आश्रित चराको संख्या थपिएको पाइएको हो।

चराविद् टीकाराम गिरीले यस वर्ष ग्रेट ह्वाइट फ्रन्टेड गोस र राज गंगा चिल गरी दुई वटा नयाँ प्रजातिका पानीमा आश्रित चरा थपिएको जानकारी हुन्। गत वर्षको अध्ययनमा ४८ प्रजातिका चरा भटिएकामा यस वर्ष दुई वटा थपिएर ५० प्रजातिका आठ हजार ४९६ वटा पानीमा आश्रित चरा भेटिएका छन्। तीमध्ये सबै भन्दा धेरै चखेवाचखेवी चार हजार ४८० वटा भेटिएको गिरीले बताए। यो संख्या गत वर्षको भन्दा एक हजार ६०० ले बढी हो।

चितवन राष्टिय निकुञ्ज, सौराहा बेल्ट जिन्दगानी घाटदेखि राप्ती ड्यामसम्म, राप्ती ड्यामदेखि कसरा पुलसम्म, तमोर ताल, लामीताल, बीसहजारी ताल, लोथर, राप्ती नदी, दिव्यनगर, भण्डारालगायतका स्थानमा करिब ६० जनाको विभिन्न समूह बनाइ चरा गणना गरिएको थियो। चराविद् गिरीका अनुसार यस वर्ष पानीमा आश्रित र पानीबाहिरका गरी कुल २१७ प्रजातिका ११ हजार २२ वटा चरा भेटिएका छन्। हाँस प्रजातिका चरा भने कम फेला परेको छ।

नदी प्रदूषण बढ्दै गएको र खोल्सी तथा सिमसार क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिएको गिरीको भनाइ छ। नदी तथा तालतलैया सरसफाइमा ध्यान नदिए बासस्थान मासिने खतरा रहेको र चरा संरक्षणमा ठूलो चुनौति देखिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज, बर्ड एजुकेशन सोसाइटी र हिमालय नेचरको संयुक्त आयोजना तथा चितवन गैंडा लज, निकुञ्ज जिप सफारी र राप्ती जल यात्राको सहयोगमा चरा गणना गरिएको थियो। खोला, नदी, तालतलैया, खोल्सा, सिमसार क्षेत्रमा पानीको अवस्था, प्रदूषण, अतिक्रमण, संरक्षणको अवस्था, जैविक विविधता, चराको संख्या, अवस्था थाहा पाउन नेपालसहित विश्वका विभिन्न देशमा हरेक वर्षको जनवरीमा चरा गणना गर्ने गरिन्छ। युरोपबाट पहिलो पटक ५२ वर्षअघि चरा गणना सुरु गरिए पनि नेपालमा भने ३२ वर्ष अघिदेखि चरा गणना गर्न थालिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.