|

बैतडी : वर्षासँगैको हिमपातले जनजीवन प्रभावित भएको छ। बुधवार बिहानैदेखि बैतडीका अधिकांश क्षेत्रमा असिना,बर्षा र हिमपात भएको हो।

हिमपात यहाँका राजमार्गसमेत अवरुद्ध भएका छन्। राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएका छन्।  अनारखोली, खोडपे लगायतका क्षेत्रमा बाक्लो हिमपात भएकाले दशरथचन्द राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।  यसका साथै मोतीनगर , ढोल्यामोड, बित्थड र देउलेक लगायतका स्थानमा पनि भारी हिमपात हुँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।  

यसअघि मंगलबार पनि हिमपात भएको थियो। हिमपातले मंगलबार पनि राजमार्ग अवरुद्ध भएको थियो। अत्यधिक चिसो बढेकोले जनजीवन पनि प्रभावित भएको छ। हावाहुरी, वर्षा र हिमपातले बैतडीमा विगत ३ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ। सोमवार बेलुकाको हावाहुरी र हिमपातले यहाँ विद्युत् अवरुद्ध भएको हो। 

हावाहुरी र हिमपातले बैतडीको खोडपे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा रहेका तारहरु टुटेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ। 

लगातार हिमपात र बर्षा  भइरहेकाले मर्मत गर्न समस्या भएको जनाएको छ। जिल्लामा विद्युत सेवा अवरुद्ध हुँदा यहाँको नागरिक सञ्चारविहीन भएका छन्। यहाँ सञ्चालित रेडियो  प्रसारणमा समस्या  तथा अन्य सञ्चारमाध्यम पनि प्रभावित हुन पुगेको छ।    यसका साथै विद्युतवाट सञ्चालित हुने कलकारखाना , मिल पनि चल्न सकेका छैनन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.