|

काठमाडौं : प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि शहीद सप्ताह मनाइँदै छ। 

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो। स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० मा काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ मा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ मा शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए। 

सप्ताहको पहिलो दिन बिहीबार बिहान टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको सालिकको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरण गर्ने कार्यक्रम छ। यसैगरी १३ गते आइतबार सिफलमा माथेमालाई मृत्युदण्ड दिइएको स्थलमा निर्माण भएको उनको सालिकमा पुष्पगुच्छा अर्पण गरिने छ । माघ १५ मङ्गलबार शहीद चन्द र श्रेष्ठलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा पुष्पगुच्छा अर्पण गरी सम्मान गर्ने कार्यक्रम छ। 

माघ १६ बुधबार शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको महानगरपालिकाका अधिकृत धनपति सापकोटाले जानकारी दिए। 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

यसैगरी दिउँसो लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा मन्त्रिपरिषद्को २०६४ जेठ ११ को निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको छ।

यसैगरी देशभर निर्माण भएका शहीद स्मारक, उद्यानलगायत स्थलमा विभिन्न कार्यक्रमको आयोजना गरी तीनै तहका सरकारले दिवस मनाउने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.