|

दमक (झापा) : कमल गाउँपालिका–३ सानो केर्खाका १७ वर्षीय अभिषेक राई र उनकी बहिनी १५ वर्र्षीया आयुष्मा राई आफ्नै घरबाट निकालिएका छन्। उनीहरुलाई हजुरआमा र फुपुले घरबाट निकालेका छन्।

अभिषेक र आयुष्माले आफूहरुलाई हजुरआमा र फुपुहरुले घरबाट निकालेको भन्दै गाउँपालिकाको न्यायिक समितिमा उजुरी गरेपछि घटना बाहिरिएको हो।  उनीहरुका अनुसार ७० वर्षीया हजुरआमा निरमाया तथा फुपुले गत पुस ५ मा कपडा, झोलालगायतका समान फाल्दै घरबाट निकालिदिएका थिए। त्यसपछि छिमेकी आश्रयमा बस्दै आएको उनीहरुको भनाइ छ।

आरोप प्रत्यारोप

उनीहरुका बाबु अनमोल राईको २०६१ सालमा क्यान्सरका कारण निधन भयो। त्यसको केही समयपछि आमाले पनि दोस्रो बिवाह गरिन्। त्यसपछि उनीहरु हजुरआमासँग बस्दै आएका थिए। 

उनीहरुमा छ जना फुपुमध्ये एक जना अविवाहित र अपांगता भएकी छन्। अरु सबैको विवाह भएको छ।

अभिषेक कक्षा १२ मा अध्ययनरत छन्। उनका अनुसार घरमा विवाहित फुपु आएपछि पटकपटक आफू र बहिनीमाथि कुटपिट भयो। घरबाट निकालियो। गाउँमा छलफल भए पनि उनीहरुले न्याय पाएनन्। त्यसैले उजुरी गर्नु परेका उनको दाबी छ। 

अभिषेकले यस्तो आरोप लगाए पनि हजुरआमा र फुपुले त्यसलाई अवस्वीकार गरेका छन्। हजुरआमा नीरमायाले छोराको मृत्युपछि नाति नातिनीले राम्रो व्यवहार नगरेपछि आफ्नो स्याहारसुसारका लागि छोरी बोलाएको बताउँछन्। 

छोरा अनमोलको क्यान्सर लागेपछि लागेको ऋण तिर्न छोरीहरुले सहयोग गर्दै आएको बताएकी छन्। उनले नाति नातिनीहरु घरमा बसे आफुले घर छाड्ने बताइन्। आमासँगै रहेकी छोरी अप्सराले आफू आमाको स्याहारसुसारका लागि आएको तर भदाहरुबाट आफुमाथि गलत आरोप लगाइएको बताएकी छन्। 

तर, अभिषेक र आयुष्माका ठूलोबुवा गोकर्णले दाजुबहिनीलाई जबरजस्ती घरबाट निकालिएको र आफूले पटकपटक मिलेर बस्न आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए। 

समाधानको प्रयास

अभिषेक र आयुष्माले गत पुस १९ मा हजुरआमार फुपुले घरबाट निकालेको भन्दै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए। त्यसपछि समितिले छलफल गरी माघ ६ मा अन्तरिम संरक्षणात्मक आदेश दिए। तर, त्यसको कार्यान्वयन नभएको न्यायिक समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए।

गाउँपालिकाका उजुरी प्रशासक लयप्रसाद चम्लागाईको अनुसार उजुरीमाथि छलफल गरी स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा ४९ को उपदफा ८ (क) अनुसार बसी आएको घरमा बस्न, खान, शिक्षा लिन दिनु, कुटपिट नगर्नु तथा शिष्ट र सभ्य व्यवहार गर्नु भनी संरक्षणात्मक आदेश दिइएको थियो। 

अभिषेक र आयुष्माले हजुरआमाको स्याहार गर्ने र हजुरआमाले पनि नाति नातिनीको संरक्षण गर्ने सहमति गरियो। त्यसलाई हजुरआमाले स्वीकार गरे पनि कार्यान्वयन नभएपछि जनप्रतिनिधि तथा प्रहरीको टोली घरैमा पुगेर दाजुबहिनीलाइए घरमा भित्र्याए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.