महाभारतमा सबैभन्दा बढी अन्यायमा परेको पात्रको नाम थियो बर्बरिक। यो एक्काइसौँ शताब्दीमा पनि बर्बरिक नै अन्यायमा परेछ।
विराटनगर नजिकै झोराहाट भन्ने ठाउँ छ। त्यहाँ एउटा नाटक मण्डली छ। त्यो नाटक मण्डलीले मदन भण्डारको पार्टीनाम ‘बर्बरिक’को परिचयमा एउटा नाटक लेखेछ। मदन भण्डारीका विशेषताहरूलाई समेटेको त्यो नाटक झोराहाट नाटकघरमा नौ दिन राम्ररी चलेछ। गाउँघरमा नौ दिनसम्म चलेको नाटक, त्यसमा पनि नेपाल कम्युनिस्ट पार्टीका विशिष्ट नेता मदन भण्डारीको नाटक १० दिन त काठमाडौंमा कसो नचल्ला भनेर कुन्ज नाट्यघरका भाइ कमल ढकालले काठमाडौं भित्र्याएछन्। माघ २ गतेबाट नाटक आरम्भ भयो। कमल भाइले माघ ३ गते मन दुखाएर मलाई भने, ‘हाम्रा कम्युनिस्टलाई के भएको दाइ! म बाहिरको मान्छे। युगनायक मदन भण्डारीको ‘प्रोमोसन’मा यसरी लागेको छु तर पार्टीलाई केही चासो छैन। तपाईं बर्बरिक उपन्यासको लेखक। एकपल्ट नाटक हेरेर न्याय गरिदिनुपर्यो।’
मैले नाटक हेरेँ। नेकपा मालेको चौथो महाधिवेशनदेखि मदन-आश्रितको हत्यासम्मको घटनालाई समेटेको त्यो नाटक मलाई उत्कृष्ट लाग्यो। विक्रमको २०२० को दशकमा म पनि नाटक खेल्थेँ तर पछिल्ला दिनमा थोरै मात्र नेपाली नाटक हेरेको छु मैले। मैले हेरेका सबै नाटकहरूसँग काँध जोड्ने क्षमता देखेँ मैले ती भाइ-बहिनीहरूमा। अधिकांश दृश्यहरूमा मैले आफ्नो उपन्यास नाटकघरको पर्दाभित्र लहरिइरहेको देखेँ।
‘आधारभूत रूपमा कलाकारहरूले पात्रप्रति न्याय गरेका छन्। साह्रै बिग्रिएको केही छैन। सामान्य त्रुटिहरूलाई भोलि कलाकारसँगै बसेर निराकरण गरौँला। मेरो उपन्यासको एउटा पाटो, युगान्तकारी परिवर्तनको पाटो समातेर नाटक बनेको रहेछ। मदन भण्डारी महासचिव बनेको चौथो महाधिवेशनबाट आरम्भ भएको, राजनीतिक परिवर्तनको पक्षधरता र मदन भण्डारीको सोचलाई प्रतिनिधित्व गरेको नाटक मलाई मनपरेको थियो।’
यो मेरो निष्कर्ष मैले कलाकार र कमल ढकाललाई सुनाएँ। म सन्तुष्ट भएको थिएँ।
‘दाइ, त्यसो भए नेकपाले मदन मण्डारीलाई बिर्सेकै हो?’
मैले तत्काल उत्तर दिन सकिनँ। दिन सक्ने अवस्था पनि थिएन। मदन भण्डारीले नेतृत्व गरेको नेकपा (माले) र नेकपा (एमाले)को रूप अहिले धेरै फेरिएको छ। जनताको बहुदलीय जनवादको उज्यालोमा धेरै काम गरेको म स्वयं अहिलेको नेकपा चिन्न सकिरहेको छैन भने अरूलाई पार्टीबारे उत्तर दिने हैसियत मसँग कहाँ थियो र?
जम्मा एक घण्टाको समय मदन भण्डारीको नाममा दिन नसक्ने कम्युनिस्टहरूका बारेमा म के भनूँ!
अहिले नेपालमा जस्तो व्यवस्था छ, त्यो मदन भण्डारीकै सोच हो। राजाबिनाको प्रजातन्त्र, धर्मनिरपेक्ष राज्य, जीवनका लागि सिद्धान्त, सम्पूर्ण अधिकार स्थानीय तहमा जस्ता अहिले उठाइएका नाराहरूमा मदन भण्डारीकै अनुहार छ। यो प्रारम्भिक पुँजीवादको कुरै छाडौँ- आफ्नो गर्भमा समाजवाद अंकुरित समृद्ध पुँजीवादसम्मको मार्गचित्र कोरेका छन् मदन भण्डारीले। आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युगभन्दा श्रेष्ठ हुनुपर्छ समाजवादी युग भन्ने निष्कर्ष बोकेको छ जनताको बहुदलीय जनवादले। नेपालको जनताको बहुदलीय जनवाद सिधै कार्ल मार्क्सको ‘स्वतन्त्रता र समानतासँग’ जोडिएको छ। त्यसलाई परिपुष्ट गर्न लेनिनवाद या माओवाद चाहिँदैन। बर्बरिक नाटकले त्यही ‘स्वतन्त्रता र समानता’को उद्घोष गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताका लागि गौरवको विषय हुनुपर्थ्यो यो नाटक। पार्टीले यसलाई सातै प्रदेशमा पुर्याउने योजना बनाउनुपर्ने हुन्थ्यो। कमल ढकालको अनुरोधमा नेकपाका नेताहरूले पनि हेर्नुभएको छ यो नाटक। काठमाडौंको कुन्ज थिएटरमा बर्बरिक नाटकलाई ल्याउने श्रेय नेकपाका नेताहरूलाई दिन सकिँदैन। यसको श्रेय पनि कमल ढकाललाई जान्छ।
हुनत गर्ने भनेको त व्यक्तिले नै हो। समष्टिले गाली वा मानभाउ पाउने हो। कमल ढकाल नेकपाका नेता वा कार्यकर्ता होइनन्। उनी हुन् मदन भण्डारीको परिचय नमरोस् भनेर चिन्ता गर्ने एक जना जिम्मेवार नागरिक।
हामी लामो समयसम्म उग्रवादी कम्युनिस्ट रह्यौँ। झण्डैझण्डै संस्कार बनेको त्यो उग्रवादले मार्क्स, लेनिन र माओत्सेतुङलाई बराबर ठान्ने गल्ती गर्यो। कार्ल मार्क्स कहिल्यै अधिनायकवादी थिएनन् भनेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिले भन्दा पनि हाम्रा नेकपाका अधिकांश नेता समाजवाद भनेको अधिनायकवाद नै हो भन्ने भ्रममा रुमल्लिइरहेका छन्। ‘जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हुनुपर्छ, जनतालाई जे काम लाग्दैन, पार्टीलाई पनि त्यो काम लाग्दैन’ भन्ने मान्यतालाई बर्बरिक नाटकले जीवन्त बनाएको छ। रहस्यमय हत्या भनिएको दासढुंगा हत्याकाण्डको सत्यको संकेत पनि गरेको छ नाटकले- सुसाशन र तत्कालीन गृहमन्त्रीको शुक्लाफाँटाको भ्रमण सन्देश सार्वजनिक गरेर।
जिम्मेवारीको हिसाबले यो नाटकको प्रचार, प्रसार र व्यवस्थापन नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले लिनुपर्थ्यो तर यसो भएन। यो सबैभन्दा दुःखको कुरो हो।
मदन भण्डारीको हत्या भएको २५ वर्ष भयो। यो लामो समयमा युग परिवर्तन गर्ने मदन भण्डारीलाई अहिलेको पुस्ताले पनि चिनुन् भन्ने उद्देश्य बोकेको बर्बरिक नाटकलाई नेपाल कम्युनिस्ट पार्टीले आफ्नो बनाओस्। किनभने मदन भण्डारीमाथि यही पार्टीको पहिलो हक लाग्छ। मुलुक संघीयतामा गइसकेको वर्तमानमा कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता कसरी श्रममुखी हुनुपर्छ भन्ने पाठ सिक्ने अवसर पनि यो नाटकले दिएको छ।
म आफूभन्दा बुढाहरूतिर हेर्दिनँ। जनताको बहुदलीय जनवादलाई, माओत्सेतुङको नौलो जनवादद्वारा पराजित गर्न खोज्ने हाम्रो पुरानो स्थायी कमिटी अहिले पनि जीवित छ। त्यसको आङ कन्याएर ‘स्वतन्त्रता र समानता’को सपना देख्न सकिन्नँ। त्यसैले म जहिले पनि युवाहरूको उज्यालो अनुहारतिर हेर्छु र अनुरोध गर्छु- भाइ बैना हो, मदन भण्डारीलाई चिन, उनीबाट सिक र सुखी समृद्धिको नेपाल बनाउने सपना देख, जसले आफ्नो खुट्टा हेरेर राजनीति गर्छ, मदन भण्डारी सधैँ उसैसँग हुन्छन्। जो माथि केन्द्रीय कमिटीतिर हेरेर राजनीति गर्छ, त्यसले निष्कृयताको सुस्केरामा मर्नुपर्ने हुन्छ।
झोराहाटका कलाकारहरू कमिटीमा छैनन्। कमल ढकाल त भाइ हुन्। तर यतिबेला नेकपाको केन्द्रीय कमिटीभन्दा यिनीहरू नै जनताको बहुदलीय जनवादको अभियन्ता भएका छन्। सिक्नुहोस् युवा कमरेडहरू, यस्तै अभियन्ताको व्यवहारबाट।
धन्न, मन्त्री लालबाबु पण्डितले नाटक हेरेपछि एक पटक मन्त्री निवास आउनु होला, सँगै बसेर चिया पिउँला, सक्ने सहयोग गरूँला भनेर कलाकारको मान राखिदिनुभयो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।