वर्षको तीन लाख बढी आम्दानी

|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ बेलडाँडीका तेजबहादुर चौधरीले चार महिनाको अवधिमै गोलभेंडा बिक्री गरेर रु ४५ हजार हात पारेका छन्।छोटो अवधिमै मनग्ये आम्दानी भएपछि दोस्रोपटकसमेत गोलभेंडा रोपेका छन्। रोपेको गोलभेंडा बजारमा बिक्री गर्नका लागि तयार भएको छ।

बारीमा लटरम्म फलेको गोलभेंडा बजारमा बिक्री गर्न तयार भएको छ उनले भने, ‘अघिल्लो लट्भन्दा दोब्बर बढी आम्दानी हुने अपेक्षा राखेका छौँ।’ गोलभेंडाको दोस्रो लटबाट रु ६० हजार जति आम्दानी हुने उनले बताए। व्यावसायिक रूपमा पाँच वर्षदेखि गोलभेंडा खेती गर्दै आएका चौधरीले कृषि प्राविधिकको सल्लाहमा आधुनिक तरिकाले दाजु तेजबहादुर बहिनी हेमन्तीले  गोलभेंडा खेतीलाई निरन्तरता दिएका छन्।

गोलभेंडाको माटो सुहाउँदो बिउ छनोट गर्ने, बेर्ना तयार गर्ने, रोग किरा व्यवस्थापन गर्ने, बारीमा रोपेपछि छापो राख्ने, सिँचाइ दिने, मलखाद राख्ने र गोलभेंडा बारीबाट टिप्ने कार्यदेखि बजारमा बेच्न लैजाँदासम्म अपनाउनुपर्ने सावधानीबारे दुवैजना जानकार छन्।

विगतमा परम्परागत तरिकाले गोलभेंडा खेती गर्दा गतिलो आम्दानी थिएन हेमन्तीले भनिन् ‘आधुनिक तरिकाले गोलभेंडा खेती गर्न सिकेपछि थोरै लगानीमा धेरै आम्दानी हुन थालेको छ। कृषि प्राविधिकको सल्लाहले व्यवसायीक बनाएको छ।’

 ‘गोलभेंडा खेती बारे धेरै कुरा सिकेको भएपनि रोगकिरा नियन्त्रण गर्न चुनौती भएपछि मोवाईल फोन बाट कृषि प्राविधिकको सल्लाह लिएर सुझाव अनुसार कार्य गर्दा रोग किराले पुरयाउने क्षति बाट जोगिन सकिएको छ’ उनले भनिन्।

र्षको तीन लाख बढी आम्दानी 

गोलभेंडा खेती बाटै चौधरीले बर्षको रु तीन लाख बढी आम्दानी लिने गरेका छन। गोलभेंडासँगै उनले खेतमा काउली, आलु, दुई वटा प्लाष्टिक टनेल भित्र बेमौसमी काँक्रासमेत रोपेका छन्।  बजारमा गोलेभेंडापछि बढी आम्दानी लिन सकिने बालीका रुपमा काँक्रा रहेको छ।  तरकारी खेती गर्नका लागि रु ३५ हजार खर्च गरेका चौधरीले घरको पूरै खर्च तरकारी खेतीको आम्दानीले धानेका छन्।

‘घर खर्च गरेर बाँकी रहेको रकम भविष्यका लागि बैंकमा बचत समेत हुन थालेको छ’ उनले भने।  गोलभेंडा खेतीको आधा कमाई परिवारको खर्च, बालबालिकाको विद्यालयको खर्च चलाउनमा सकिन्छ चौधरीले भने, ‘बाँकी रहेको आम्दानी र अन्य तरकारी खेतीको आम्दानी बैंकमा बचत गर्दै आएका छौं।’  सिचाईका लागि गाँउमा कुलोको व्यवस्था भएकाले तरकारी खेती गर्न निकै सहज भएको छ। 

बेमौसमी काँक्राको बजारमा अधिक माग हुने भएकाले तेज बहादुर संग गाँउका आधा दर्जन बढी किसानले काँक्राको खेती गरेका छन। प्लाष्टिक टनेलमा काँक्रा रोपेका राधा चौधरीले गत बर्ष रु ४० हजार आम्दानी गरेका थिए। सहजै आम्दानी हात परेपछि उनले यस बर्ष दुई वटा प्लाष्टिक टनेलमा काँक्रा रोपेका छन्। गाँउमा तरकारी खेती गर्ने किसानको संख्या भने ४० बढी छ। खेतमा तरकारीको गोडमेल, मल राख्ने, सिचाई गर्ने र टिप्ने कार्य पुरुषले गर्ने गर्दछन।

महिलाहरुले टिपेको तरकारी टोकरीमा राखेर टाउकोमा बोकी नजिकैका बजारमा लगेर बेच्ने गरेका छन। बारीमा उत्पादीत तरकारी अन्न संग साटने र नगदमा बिक्री हुने गरेको पुतली चौधरीले बताइन्। ‘बढी तरकारी उत्पादन भएका बेला नजिकका झलारी र कैलालीको अत्तरिया बजार पुरयाएर समेत बेच्ने गर्दछौँ’ उनले भनिन् ।

 तरकारी खेतीमा संलग्न किसान भन्छन, ‘सरकारले बीउ, मल, सिचाई र बजारको भरपर्दो व्यवस्था मिलाई दिए अझै हौसला थपिने थियो। स्थानिय सरकार आएपनि अझै किसानले अफनत्व पाएका छैनन्।’ बेलडाँडी गाँउ बाट मात्रै बर्षमा रु ६० लाख बढीको तरकारी उत्पादन हुने गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.