|

सोलुखुम्बु : हिउँ जमेकाले सोलुखुम्बुका सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको पत्तालेमा हिउँ जमेकाले बुधबारदेखि यातायात कुनै पनि साधन सञ्चालन हुन सकेको छैन।

सडक अवरुद्ध भएकाले काठमाडौं, प्रदेशको अस्थायी राजधानी विराटनगरलगायतको क्षेत्रसँग सोलुखुम्बुको सिधा सडक सम्पर्कबिच्छेद भएको ट्राफिक प्रहरी इन्चार्ज संजिव चौधरीले जानकारी दिए।

उनका अनुसार जिल्ला भित्रिने सवारी साधनहरु ओखालढुंगाको ढाडेमा राकिएका छन् भने जिल्लाबाट बाहिरिने सवारी साधन बाघखोरमा रहेका छन्।

पत्ताले क्षेत्रमा बुधबारदेखि चार वटा मालवहाक ट्रक फसेको पत्ताले प्रहरी चौकीका हवल्दार विजय शिवाले जानकारी दिए। उनका अनुसार उक्त ट्रक मोडलाई जेसिबीले समेत तान्न नसकेकाले उद्धार गर्न सकिएको छैन। मौसममा सुधार आए पनि सेपिलो ठाउँ भएकाले हिउँ बाक्ले भएकाले समस्या भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि जिल्ला भित्रिने र जिल्लाबाट बाहिरिने यात्रुहरु अलपत्र परेका छन्। बुधबार साँझ सदरमुकाम सल्लेरी आएका केही यात्रु जिपबाट बाखखोरमा पुगेर बसेका छन् भने केही यात्रु सदरमुकाम सल्लेरीमै बसेका छन्। 

आकस्मिक काम परेका यात्रुहरुलाई भने यातायात सञ्चालन नहुँदा समस्या भएको छ। वैदेशिक रोजगारीका लागि शुक्रबार बिहान काठमाडौं पुग्नुपर्ने स्थानीय रामबहादुर तामाङ चिन्ता भएको छ। ‘सधैं झै बिहिबार साँझ काठमाडौं पुग्ने र शुक्रबार काम भ्याउने साँेचमा थिएँ,’ उनले भने, ‘प्लेन चल्छ चल्दैन थाहा छैन, गाडी त चल्दैन भन्छन्, भोलिको मेरो काम छुट्ने भयो।’

अहिले करिब १०० हाराहारी यात्रु पत्ताले क्षेत्रमा रोकिएको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.