यहाँको लगानी र प्रतिफल विदेश लगेको छैन : निरजगोविन्द श्रेष्ठ

|

काठमाडौं : खोज पत्रकारिता केन्द्रले विदेशमा नेपालीले पैसा राखेको बारे केही दिनअघि सार्वजनिक गरेको सामग्रीप्रति व्यवसायी निरजगोविन्द श्रेष्ठले आपत्ति जनाएका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै खोपकेको सामाग्रीमा आफ्नो नाम मुछिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। उनले त्यसबाट भ्रममा नपर्न आफ्ना अग्रज एवं नेपालीलाई अपिल पनि गरेका छन्।

व्यवसायी श्रेष्ठले सन् १९७९ मा सरकारी छात्रवृतिमा तत्कालीन सोभियत संघबाट उच्च शिक्षा पढ्न जाँदा लगेको १५० डलरबाहेक नेपालबाट आफूले कुनै लगानी वा प्रतिफल विदेश नलगेको स्पष्ट गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्- ' विदेशमा दु:खसुख गरेर कमाएको केही अंश देशमा लगानी गरेका छौँ, यथाशक्य समाजसेवा पनि गरिराखेकै छौँ। अवसर र वातावरण मिल्दै जाँदा मातृभूमिप्रतिको यही कर्तव्यबोधले देशमा हाम्रो लगानी बढ्दै जानेछ। मेरो पनि नेपालमा नयाँनयाँ आयोजनामा संलग्नता निरन्तर बढेको छ र अझ बढ्दै जानेछ। यहाँ आर्जन भएको सम्पत्ति फेरि यहीँ लगानी भएको छ। मैले विद्यार्थी कालमा सन् १९७९ मा नेपालबाट लिएर गएको १५० डलरबाहेक अहिलेसम्म यहाँ भएको लगानी वा त्यसको प्रतिफल बाहिर लगेको छैन।'

व्यवसायी श्रेष्ठले खोपकेले नाम जोडेको अफसोर कम्पनीसँग आफ्नो संलग्ता नभएको जनाएका छन्। 'मेरो नाम जोडिएर उल्लेख गरिएका कुनै पनि अफसोर कम्पनीमा मेरो संलग्नता छैन।' विज्ञप्तिमा भनिएको छ- 'जहाँसम्म अम्कादोर (Amkodor) कम्पनीको विषय छ, यो मेरो कर्मभूमि बेलारुसमा अवस्थित क्सक्याभेटर, लोडर, रोलर, ट्रक, ट्र्याक्टर लगायतका सडक, कृषि, वन, उद्योग आदिमा प्रयोग हुने हेबी इक्विपमेन्ट उत्पादन गर्ने पूर्व सोभियत संघकै प्रतिष्ठित कम्पनी हो। सन् १९७९ मा राष्ट्र बैंकको सटही सुविधाबापत साटेको १५० डलर लिएर उच्च शिक्षाका लागि सोभियत संघ उडेको म अग्रजहरूको आशीर्वादले आज यति प्रतिष्ठित र बहुउपयोगी कम्पनीको सेयरहोल्डर हुन पुगेको छु र यसमा मलाई गर्व छ।'

व्यवसायी श्रेष्ठले विदेशमा दु:खसुख गरेर कमाएको केही अंश देशमा लगानी र समाजसेवाको काममा लगाएको उल्लेख गरेका छन्। उनले नेपालमा नयाँ नयाँ आयोजनामा आफ्नो संलग्नता निरन्तर बढेको जनाउँदै र अझ बढ्दै जाने विश्वास व्यक्त गरेका छन्। नेपालमा गरेको लगानीबाट भएको आर्जन नेपालमै लगानी भएको उनले स्पष्ट पारेका छन्।

 

वक्तव्यको पूर्ण पाठ

खोज पत्रकारिता केन्द्रले अनुसन्धानमा आधारित भनेर सार्वजनिक गरेको सामाग्रीलाई विभिन्न सञ्चार माध्यमले साभार गर्दै प्रकाशन गरेको र त्यसमा
मेरो नाम समेत अनावश्यक र भ्रमपूर्ण ढंगले उल्लेख गरेको पाइएकोले त्यसबारेमा केही बोल्नै पर्ने महसुस गरी यो प्रेस विज्ञप्ति जारी गरेको छु।

अलिकति आफ्नो बारेमा भनौं। मेरो जन्म २०१५ साल फागुन १५ गते पाल्पामा भएको हो। स्थानीय भगवतीथान स्कूलमा ६ कक्षासम्मको अध्ययनपछि गरीब र
जेहेन्दार विद्यार्थीले पाउने छात्रवृति पाई जनता विद्यालयबाट २०३० सालमा एसएलसी परीक्षा उत्तिर्ण गरेको हुँ। तत्पश्चात पुल्चोक क्याम्पसबाट उत्कृष्ट परिणाम सहित सिभिल ओभरसियर बनेपछि सन् १९७९ मा सरकारी छात्रवृत्तिमा तात्कालीन सोभियत संघबाट उच्च शिक्षा हासिल गरेको हुँ।

मेरा प्रिय आफन्तजन, आदरणीय गुरुहरू, पाल्पाका छरछिमेकका अग्रजहरूको स्नेह, आशीर्वाद र प्रेरणाले एवं ईश्वरको अनुकंपाले म आज विदेशमा एक सफल
व्यवसायीको परिचय स्थापित गर्न सक्षम भएको छु। उहाँहरूको असीम उत्प्रेरणालाई ग्रहण गरी म स्वयंले समर्पण र लगनशीलताका साथ मेहेनत नगरेको भए शायद यो उपलब्धी हासिल हुने थिएन।

खोज पत्रकारिताका सन्दर्भमा पत्रपत्रिकामा मेरो नाम जोडिएर उल्लेख गरिएका कुनै पनि अफसोर कम्पनीमा मेरो संलग्नता छैन। जहाँसम्म अम्कादोर (Amkodor) कम्पनीको विषय छ, यो मेरो कर्मभूमि बेलारुसमा अवस्थित एक्सक्याभेटर, लोडर, रोलर, ट्रक, ट्र्याकटरलगायतका सडक, कृषी, वन, उद्योग आदिमा प्रयोग हुने हेबी इक्विपमेन्ट उत्पादन गर्ने पूर्व सोभियत संघकै प्रतिष्ठित कम्पनी हो। सन् १९७९ मा राष्ट्र बैंकको सटही सुविधाबापत साटेको १५० डलर लिएर उच्च शिक्षाका लागि सोभियत संघ उडेको म अग्रजहरूको आशीर्वादले आज यति प्रतिष्ठित र बहुउपयोगी कम्पनीको सेयरहोल्डर हुन पुगेको छु र यसमा मलाई गर्व छ। नयाँ भाषा, सँस्कृति र वातावरणमा सिक्दैसिक्दै अगाडि बढेर यो स्थानसम्म पुग्नु पक्कै सजिलो थिएन। तर हामी नेपालीलाई मुलुकले सरल व्यवहार, इमानदारी र पारदर्शिता, कठोर परिश्रम र अनुशासनजस्ता गुणहरू दिएको छ। यिनै गुणहरूका कारण संसारका धेरै देशमा नेपालीहरूले व्यापार, व्यवसायको क्षेत्रमा सफलता हासिल गरिरहेका छन्। यो हाम्रालागि गर्वको कुरा हो।

हामी देशबाहिर बस्ने नेपालीको मन्त्र 'एक पटकको नेपाली सधैंको नेपाली' हो । हामीले विदेशमा देखेका, सिकेका राम्रा कुराहरू हाम्रो जीवनकालमै नेपालमा पनि होस् भनेर संसारभरि छरिएर रहेका नेपालीहरूले हातेमालो गरेर नेपालको समृद्धिमा योगदान गरिनै रहेका छन्। विदेशमा दु:खसुख गरेर कमाएको केही अंश देशमा लगानी गरेका छौं, यथासक्य समाजसेवा पनि गरिराखेकै छौं। अवसर र वातावरण मिल्दै जाँदा मातृभूमिप्रतिको यही कर्तव्यबोधले देशमा हाम्रो लगानी बढ्दै जाने छ। मेरो पनि नेपालमा नयाँनयाँ आयोजनामा संलग्नता निरन्तर बढेको छ र अझ बढ्दै जाने छ। यहाँ आर्जन भएको सम्पत्ति फेरि यहीँ लगानी भएको छ। मैले विद्यार्थीकालमा सन् १९७९ मा नेपालबाट लिएर गएको १५० डलरबाहेक ऐले सम्म यहाँ भएको लगानी वा त्यसको प्रतिफल बाहिर लगेको छैन।

तसर्थ, खोज पत्रकारिता केन्द्रको अनुसन्धानको आधारमा भनेर सार्वजनिक भएका सामाग्रीमा मेरो नाम मुछिनु दुर्भाग्यपूर्ण छ। यसबाट भ्रमित नहुन मेरा आदरणीय अग्रजलगायत सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपील गर्दछु।

निरजगोविन्द श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.