|

काठमाडौं : लामो समयदेखि उच्चरक्तचाप र मधुमेहबाट पीडित साहित्यकार तथा प्राध्यापक मोहनराज शर्मा (मोराश)को ८१ वर्षको उमेरमा निधन भएको छ। उनलाई पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएको थियो। नेपाली भाषा  र साहित्य सिर्जना, समालोचना, इतिहास, भाषा व्याकरणका क्षेत्रमा कलम चलाउने शर्माका दर्जनौँ पुस्तक प्रकाशित छन्। शर्माको 'नेपाली साहित्यको संक्षिप्त इतिहास', 'नेपालीका केही आधुनिक साहित्यकार', 'कथाको विकास प्रक्रिया', 'बैकुण्ठ एक्सप्रेस', 'कोर्रा' कथासंग्रह, 'पुछारको पातो', 'च्याँखेधर्ना' हास्यव्यंग्य, 'शैलीविज्ञान', 'शब्दरचना र वर्ण विन्यास वैज्ञानिक पद्धति'लगायतकमा पुस्तक प्रकाशित छन्।

निबन्ध विधाबाट नेपाली साहित्यमा आएका उनको पहिलो रचना हो ‘बिलु।' यो नै उनको सार्वजनिक रूपमा देखिएको पहिलो रचना हो। आधा शताब्दी लामो साहित्यिक यात्रामा शर्माको लेखनमा विविधता पाइन्छ।

शर्माको साहित्य, समालोचना र भाषा-व्याकरणको क्षेत्रमा योगदान अतुलनीय रहेको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती बताउँछन्। शर्मा नेपाली साहित्यका आख्यान, कथा तथा निबन्धका विविध विधामा चर्चित छन्। मान्यतामा उनी केन्द्रित रहेका छन् । समालोचनामा भाषावादी आरम्भ र विस्तारमा उनको योगदान अमूल्य रहेको पनि उप्रेतीले बताए। उनी शर्माबारे भन्छन्, 'समालोचना, निबन्ध, कथा, नाटक, व्यंग्यको क्षेत्रमा उहाँको प्रयोग नेपाली साहित्यमा अविष्मरणीय योगदान रहेको छ। शर्मा नेपाली भाषा-साहित्यका गहन अध्येता हुन् भन्दा हामीलाई गर्व महसुस हुन्छ।'

मित्रताको कसीबाट हेर्दा पनि शर्मा एकदम सहृदयी व्यक्ति भएका कुलपति उप्रेती बताउँछन्। साथीहरूलाई सहृदयी भावना राख्ने शर्मासँग उप्रेतीको संगत वि.सं. २०२१ देखि भएको बताउँछन्। उनी सम्झन्छन्, 'वि.सं. २०२५ मा नै मेची अंचलस्तरीय साहित्य सम्मेलनमा झापादेखि झन नजिक हुने अवसर मिलेको हो।'

साइबर समालोचना साहित्यसँग सम्बन्धित केही शोधकार्य पनि पछिल्लो क्रममा भएका छन्। साइबर समालोचनाको शैली नेपालमा भित्र्याउन शर्माको ठूलो भूमिका रहेको साहित्यकार तथा समालोचक महेश पौड्याल बताउँछन्।

हेमोग्लोबिनको कमीका बिरामी थिए शर्मा। पछिल्लो सात वर्षदेखि यही रोगसँग लडिरहेका उनी रोगले ग्रस्त हुँदा पनि साहित्यिक कार्यक्रममा सक्रिय रहन्थे। पछिल्लो क्रममा उनी साहित्यिक कार्यक्रममा देखापर्न छाडेका थिए। नेपाली साहित्यमा शर्मा पूर्वीय र पाश्चात्य साहित्यमा दख्खल राख्ने समालोचक हुन्। उत्तरआधुनिक साहित्य, विशेष गरेर कथामा भित्र्याउने साहित्यकारका रूपमा शर्माको नाम अग्रपंक्तिमा आउने गरेको पौड्याल बताउँछन्। उनी भन्छन्, 'उहाँको बैकुण्ठ एक्सप्रेस भन्ने कथामा साहित्य मनपराउनेले पढे भने मात्र पनि उत्तरआधुनिक शैली भनेको के हो प्रष्ट हुन्छ।'

शर्मा उमेरले बुढ्यौलीमा लागे पनि युवापुस्ताको लेखकसँग बसेर पुस्तक लेख्ने गर्थे। उनका कतिपय पुस्तकहरू अहिलेका युवापुस्ताका लेखकसँग सहकार्य गरी बजारमा आएका छन्। नेपालको लोकसाहित्य, लोकवार्ता विज्ञानलगायत शर्माका आधिकारिक पुस्तकहरू बजारमा छन्, जुन एकदमै दुर्लभ किताबमध्ये पर्छन्। लोकसाहित्यको सैद्धान्तिकीकरणमा शर्माको योगदान अतुलनीय रहेको छ। शर्मासँग पछिल्लो एक दशक जब पौड्याल साहित्यमा सक्रिय रहे, त्यही समयदेखि शर्मासँग निकट हुने अवसर प्राप्त गरेको उनी बताउँछन्। शर्माबाट नयाँ पुस्ताले समालोचक अथवा लेखक बन्नलाई नेपाली सिद्धान्त र पश्चिमा सिद्धान्त बुझेर आए मात्र लेखन अब्बल हुन्छ भन्ने प्रेरणा लिन सक्ने पौड्याल बताउँछन्। शर्माका हरेक कथाहरू निरन्तर प्रयोगशील पनि रहेका पौड्यालको भनाइ छ।

एक प्रसिद्ध कवि तथा लेखकले पश्चिमा डायलन टमसले जसरी पश्चिमा कथाकारितामा जस्तो खाले प्रयोग गरे, शर्माले नेपाली साहित्यको विशेषत: कथाकारितामा त्यस्तै प्रयोग गरेको उनले बताए। 'यसबाट के प्रष्ट हुन्छ भने विश्व साहित्य पढ्यो भने आफ्नो लेखन पनि परिष्कृत गर्दै लैजान सकिन्छ भन्ने प्रेरणा शर्माबाट लिन सकिन्छ', शर्माको निधनले नेपाली साहित्य र भाषामा ठूलो क्षति पुगेको पनि उनले बताए। हाम्रा लोकसाहित्य र पारंपरिक साहित्य हाम्रो नेपाली मौलिक साहित्य भएका र यसको अध्ययन र अनुसन्धानमा लाग्नुपर्छ भन्ने प्रेरणा शर्माबाट लिन सकिने पौड्याल बताउँछन्।

शर्मा आफ्नो पिएचडीको पनि गुरु रहेका सहप्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले बताए। शर्माले आफूभन्दा कम उमेरका विशेष गरेर युवापुस्ताका लेखक तथा साहित्यका विद्यार्थीहरूलाई मित्रवत् व्यवहार गर्ने गरेको गौतम सम्झन्छन्। 'शर्माको सबैभन्दा विशिष्ट कुरा के भने उनले त्यस्तो कुनै विधा छैन, जसमा उनले कलम नचलाएको होस्', उनी भन्छन्। वि.सं. २०४८ मा आफू एमए पढ्दादेखि नै शर्मासँग नजिक हुने अवसर पाएको पनि उनी सम्झन्छन्।

युवापुस्तासँग नजिक हुन चाहने शर्माले नयाँ र नवीन शैलीको साहित्य लेखे मात्र नेपाली साहित्यको उचाइ बढ्ने सोच राख्ने गरेको उनी सम्झन्छन्। नयाँपुस्ताले उनीबाट सिक्नुपर्ने कुराको सूची लामो रहेको गौतम बताउँछन्। कुनै पनि विषयमा गहन रूपमा अध्ययन नगरी हल्का फुल्का लेखेर बाहिर ल्याउन नहुने कुरा अहिलेको पुस्ताले सिक्नुपर्ने गौतम बताउँछन्। निडर र अलिक डरलाग्दो व्यक्तित्व भए पनि शर्माको एकदम सरल व्यक्तित्व रहेको उनले बताए।

एउटा निडर र आफ्नो ज्ञानलाई स्पष्ट बुझाउन सक्ने विद्वानका रूपमा परिचित छन् शर्मा। वि.सं. २०४१ मा शर्माले आफूलाई अध्यापन गरेको शर्माका विद्यार्थी तथा गीतकार प्रा.डा. कृष्णहरि बराल बताउँछन्। वि.सं. १९९४ कात्तिक १८ गते काठमाडौं धर्मस्थलीमा जन्मिएका शर्मा काशी हिन्दु विश्वविद्यालयबाट इतिहासमा र त्रिविबाट नेपालीमा स्नातकोत्तर पूरा गरेका थिए। त्यसपश्चात् उनी प्राध्यापन पेसामा आबद्ध भएका थिए। लामो समय त्रिवि नेपाली केन्द्रीय विभागमा प्राध्यापन गरेका शर्मा प्रखर र शालीन व्याख्याताका रूपमा विद्यार्थीमाझ परिचित रहेको बराल बताउँछन्।

शर्माले अध्यापन गराउँदा हरेक विद्यार्थीहरूलाई आफूले जानेको र भोगेको जीवनबारे रोचक तरिकाले व्याख्या गरेको सम्झन्छन् उनी। उनका अनुसार नचाहिने प्रश्न कसैले सोधेको खण्डमा त्यति नरुचाउने व्यक्ति हुन् शर्मा। एमए सकेपछि बरालको शर्मासँग निकटता बढेपछि 'भाषा विज्ञान र नेपाली भाषा' भन्ने पुस्तक लेखेका छन्, जुन बिए र उच्चमाविमा पनि पढाइ हुने गरेको छ।

शर्माको 'बैकुण्ठ एक्प्रेस'लाई मदन पुरस्कार गुठिले २०४२ सालको मदन पुरस्कारबाट पुरस्कृत गरेको थियो। शर्माले आफ्नो जीवनकालमा अनगिन्ती पुरस्कार र सम्मान पाएका छन्।

हार्दिक शब्दश्रद्धा भाषा-साहित्यसेवी मोराशप्रति!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.