|

गोरखा : बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ। आयोजनाले मुआब्जा वितरण शुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइका प्रमुख कृष्ण कार्कीले जानकारी दिए।

चालु आवमा मात्रै चार अर्बभन्दा बढी रकम मुअब्जा वितरण गरिसकिएको उनले बताए। आयोजना प्रमुख कार्कीले मुआब्जा वितरण गर्न बाँकी रहेका डुबान प्रभावितलाई पनि चालु आर्थिक वर्षमै मुआब्जा बितरण गरिसकिने जानकारी बताए। उनले चालू आव ०७५/७६ मा प्राप्त १८ अर्बले गोरखा र धादिङका सबै प्रभावितलाई रकम वितरण गरिसकिने जानकारी समेत दिए। उनले भने 'मुअब्जा वितरणका लागि रकमको अभाव छैन।आरुघाट र खहरे क्षेत्रबाहेक मुअब्जा निर्धारण भएका सबै ठाउँका प्रभावितलाई मुआब्जा वितरणको काम सम्पन्न हुन्छ।'

यस्तै अहिले प्राप्त रकमले डुबान प्रभावित क्षेत्रका बासिन्दाको घरगोठ र बोटबिरुवाको समेत मुआब्जा वितरण गर्न रकम अभाव नहुने आयोजना प्रमुख कार्कीको भनाइ छ। उनलषे भने, 'जमिनको मुआब्जा वितरण गरिसकिएका डुबान क्षेत्रका बासिन्दाका घरगोठ र बोटबिरुवाको मुआब्जा बाँड्ने तयारी पनि गरिरहेका छौँ। त्यसका लागि प्राप्त रकमले पुग्छ भन्ने हाम्रो अनुमान छ।'

आयोजनाले मुआब्जा वितरणको काम तीव्र गतिमा अगाडि बढाएको भए पनि प्राविधिक समस्याका कारण केही ढिलाइ भएको समेत उनले बताए। उनले भने, 'मालपोत र नापी कार्यालयमा पर्याप्त कर्मचारी छैनन्। यहाँबाट फाइल छिटो अघि बढाए पनि त्यहाँ कामको चापका कारण सोचेजस्तो गतिमा काम अघि बढ्न सकेको छैन।'

अहिले आयोजनाले गोरखातर्फ साबिकको अश्राङ, बोर्लाङ र धावातर्फका डुबान प्रभावितलाई मुआब्जा वितरण गरिरहेको पनि उनले बताए।आयोजनाले डुबान पर्ने आरुघाट, आर्खेत, खहरे क्षेत्रको मुआब्जा निर्धारण गर्न भने अझै सकेको छैन।

अयोजना प्रमुख कार्कीले 'यो वर्षभित्र मुआब्जा निर्धारण गर्न बाँकी रहेका सबै ठाउँको मुआब्जा निर्धारण गर्ने तयारी पनि भइररहेको छ। 'प्रभावितसँग छलफल गरी मुआब्जा निर्धारणका लागि लगभग सहमति भइसकेको उनको भनाइ छ। मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेकाले आयोजनाले अब तत्कालै पुनर्वास र पुन: स्थापनाको कामलाई अगाडि बढाउने प्रमुख कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.