|

कास्की: माछापुच्छ्रे गाउँपालिकाले आर्थिक रुपमा विपन्न र गरिब नागरिकको स्वास्थ्य सेवासम्म पहुँच पुर्‍याउने उद्देश्यले ‘स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गरेको छ। पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट नागरिक वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकम भुक्तानीमा अनुदान दिने कार्यक्रम शुरुआत गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए।

नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर दुई वर्षअघिदेखि सरकारले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ। जसमा परिवारका पाँच सदस्यले वर्षमा दुईहजार ५०० तिरेर बीमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ। पाँचभन्दा बढीको हकमा भने प्रतिव्यक्ति ४२५ बुझाउनुपर्छ। स्वास्थ्य बीमा कार्यक्रममा सहभागी परिवारका सदस्यले वर्षमा ५० हजारसम्मको उपचार तोकिएको अस्पतालबाट निःशुल्क पाउने व्यवस्था सरकारले गरे पनि आर्थिक रुपमा कमजोर नागरिकले सो सेवा प्राप्त गर्न सकेका छैनन्।

गाउँपालिकाका नौ वटै वडाबाट स्वास्थ्य बीमामा सहभागी हुन नसकेका विपन्न र अतिगरीब २०० परिवारको बीमा गाउँपालिकाले गर्ने योजना बनाएको अध्यक्ष गुरुङ बताए। गाउँपालिकाले चालू आवको नीति तथा कार्यक्रममा नै उल्लेख गरेर विपन्न नागरिकको स्वास्थ्य बीमाका लागि पाँच लाख बजेट विनियोजन गरेको थियो। जसबाट यसवर्ष २०० घरपरिवारका करिब एकहजार परिवारले स्वास्थ्य बीमाबाट लाभ लिन सक्ने उनले बताए। उनले भने, 'नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु गाउँपालिकाको अधिकार क्षेत्रभित्रको विषय हो।

 नागरिकको अधिकारको संरक्षण गर्न,आर्थिक रुपले विपन्न बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम शुरुआत गरेका हौँ।' गाउँकार्यपालिकाको गत हप्ताको बैठकले बीमामा अनुदान दिनेसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै स्वास्थ्य बीमामा सहभागी हुन नसकेको परिवारको तथ्यांक संकलन वडा वडामा शुरु गरिएको गाउँपालिका स्वास्थ्य संयोजक हरिलाल आचार्यले बताए। वडा कार्यालयले वडाअन्तर्गतका गरिब घरपरिवारको पहिचान गरी उनीहरुको आवेदन दर्ता गर्ने उहाँको भनाइ छ।

आम्दानी, रोजगारीको अवस्था, ज्याला, विप्रेषण (रेमिट्यान्स) तथा ऋण उपभोगका आधारमा त्यस्ता परिवार छनोट गरिने आचार्यले बताए। संघीय तथा प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका लाभग्राही भने यस कार्यक्रममा सहभागी हुन नसक्ने जनाएको छ। गरीब,विपन्न तथा अन्य लक्षितवर्गका परिवारले बीमा कार्यक्रमको योगदान रकममा अनुदान माग गर्दा परिवारका सदस्य, उनीहरूको नाममा रहेको घरजग्गाको विवरण, गरगहना र बैंक तथा वित्तीय संस्थामा ऋण लिए नलिएको लगायतका विवरण भर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

कास्कीमा स्वास्थ्य बीमा गरेका नागरिकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्य उपचारको सेवा लिन पाउनेछन्। आकस्मिक उपचारको हकमा भने मणिपाल र गण्डकी मेडिकल कलेजमा पनि उपचार गर्न सक्ने व्यवस्था गरिएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको सिफारिशमा अन्य सरकारी अस्पतालबाट समेत सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.