तोरीबारीमा मौरी चराउने दैनिकी

|

विराटनगर : मोरङस्थित लेटाङ नगरपालिका २  फडानीका कमल राईले २०० घार ‘मेलिफेरा’ जातको मौरी पालेका छन्। तोरी फूल्ने सिजन भएका कारण अहिले राईलाई जिल्लाका जुन-जुन स्थानमा तोरी फूलेको छ त्यहाँ-त्यहाँ मौरीको डुँड बोकेर हिँड्ने चटारो छ।

दुई दशकदेखि मौरीपालन गर्दै आएका राई दम्पतीको मौरीपालन मोहन सबैका लागि लोभलाग्दो छ। मौरी चरणको लागि कानेपोखरी गाउँपालिको १ र २ नम्बर वडा पुगेका उनले तीन महिनामा चरणको लागि मौरी गाउँ डुलाउने गर्दछन्। कानेपोखरीका कृषकले व्यावसायिक रूपमा सिजनअनुसार तोरी खेती गर्छन्। त्यही कुरा थाहा पाएका उनले मौरी लिएर उक्त क्षेत्र आएका हुन्। अन्य क्षेत्रका मौरीपालन गर्नेहरूको पनि कानेपोखरी पहिलो रोजाइ बन्छ।

‘तोरीको फूलको रस खाएको मौरीको मह स्वास्थ्यको लागि एकदमै लाभदायी हुन्छ,’ राईले भने, ‘त्यही भएर सिजनअनुसार फूल फूल्ने बेलादेखि काट्नुभन्दा एक महिना अगाडिसम्म चरणमा मौरी छोडदिने गरेका छौँ।’ २०० घार रहेको राईको ‘मेलीफेरा’ जातको मौरी कानेपोखरी २ बयवन बजारदेखि पूर्वतिर ५० बिघा क्षेत्रफलमा लगाएको तोरीमा ४० घार राखेका छन्। त्यस्तै कानेपोखरी १ होक्लाबारीमा १३० घार र रन्जनीमा ३० घार मौरी तोरी फूलेको ठाउँमा चरनको लागि राखिएको छ।

‘चैतदेखि जंगलमा साल, सिसौलगायतको अन्य विभिन्न जातको बोट विरुवा फुल्ने गर्दछ’ राईले भने, ‘घर पायक पर्ने स्थानको जंगलमा मौरी चरनको लागि लाने गरेका छौं।’ मौरीको चरन क्षेत्रमा लगेको बेलामा कमल र उनकी श्रीमती  पवित्राले दैनिक रुपमा हेरचान गर्ने गरेको छन्। ‘मौरीलाई दैनिक जसो रस राख्ने ठाउँमा चाका दिनुपर्ने हुन्छ’ मौरीको हेरचार गर्दै गरेका कमलले भने, ‘मौरी बास बस्नु अगाडि नै घारमा चाका राखिदिनु पर्दछ। दिनभरी चरेको मौरीले चाकामा ल्याएर मह राख्ने गर्दछ’ उनले भने। सात महिना मौरी आफैँ चरे पनि पाँच महिना भने पाल्नुपर्ने हुन्छ।

राईकाअनुसार असार, साउन, भदौ, असोज  र कात्तिक महिनामा मौरी घरमै पाल्नुपर्ने हुन्छ। त्यस महिना मौरीको लागि केही हुँदैन। कमल राईले २०६० सालबाट मौरीपालन सुरु गरेका हुन्। उनले एक हप्ताको व्यावसायिक रूपमा मौरीपालन तालिम लिएपछि उनले यो व्यवसाय अंगालेका हुन्। उनले सुरुमा २ वटा गोलाबाट सुरु गरेको मौरी पालन क्रमशः घार बढाउँदै लगे। मौरी राम्रोसँग सप्रिएपछि अहिले २ सय घार पुर्‍याउन सफल भएको उनको भनाइ छ। उनले मौरीपालनसम्बन्धी तालिम पनि दिने गर्छन्। 

मह बेचेर मासिक एक लाख

राई दम्पतीले यस महिनामा राम्रो मह उत्पादन गरेको बताए। तोरीको सिजनामा मंसिरदेखि माघको पहिला सातासम्मा १२ क्विन्टल मह उत्पादन गरेको उनको भनाइ छ। उत्पादन भएको मह विक्री गर्न कुनै समस्या छैन। ६०० रुपैयाँ प्रतिकिलो मह बिक्री गर्दै आएका राई दम्पतीले मासिक एकलाख रुपैयाँको मह बिक्री गर्ने गरेको बताउँछन्। गत वर्ष महबाट मात्रै १२ लाख रुपैयाँ आम्दानी गरेको उनको दाबी छ। 

राईका २ जना छोरा अध्ययरत छन्। दुवै छोराका पठन–पाठन र लालनपालनको लागि मौरीपालन व्यवसायले धानिरहेको उनको भनाइ छ। लगनशील भएर कुनै एउटा व्यवसायमा टिक्न सके पैसा कमाउन विदेश जानु नपर्ने उनको अनुभव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.