|

चितवन : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बिहीबार चालकको स्वास्थ्य परीक्षण र सवारी साधनको इन्जिन परीक्षण गरेको छ। भरतपुर महानगरपालिका १ रामनगरमा गरीएको कार्यक्रममार्फत २०२ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको हो। जसमध्ये ९९ जनाको मेडीकल र १०३ जनाको आँखा परीक्षण गरिएको हो। 

परीक्षणका क्रममा २० जनामा उच्च रक्तचाप र ७ जनामा आँखाको समस्या देखिएको थियो। उनिहरुलाई आवश्यक उपचार पश्चात मात्रै सवारी साधान सञ्चालन गर्न सचेत गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। यस्तै बस, मालवाहक टक, कार, जिप लगायतका ४ पांग्रे ९७ वटा सवारी साधनको ईन्जिन परीक्षण गरिएको थियो। परीक्षणका क्रममा सवारी साधनमा व्रेक आयल कम, प्रेसर कम, मोविल चुहिने लगायतका समस्या देखिएको थियो। त्रुटि देखिएका सवारीलाई आवश्यक मर्मत सम्भार गरेर मात्र सवारी प्रयोग गर्न भनिएको गौतमले जानकारी दिए।

भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, यातायात व्यवस्था कार्यालय भरतपुर, अटो मेकानिकल्स व्यवसायी संघको संयुक्त सहकार्यमा कार्यक्रम गरिएको थियो। यस्तै बराह ज्वेलरीले पनि कार्यक्रममा सहयोग गरेको थियो। सो परीक्षण कार्यक्रममा भरतपुर आँखा अस्पतालबाट ९ जना चिकित्सकको टोली, भरतपुर सरकारी अस्पतालबाट ४ जना गरी १३ जना चिकित्सकको टोलीले चालकको स्वास्थ्य जाँच गरेका थिए।

अटोमेकानीकलसका १५ जनाको टोलीले सवारीको चेकजाँच गरेका थिए। बिहान ८ बजेदेखि १० बजेसम्म २ घण्टा गरिएको सो कार्यक्रममा सहभागी चालकहरुले आफूहरूलाई यात्राका क्रममा कहिलेकाहिँ केही कुरा थाहा नहुँने र थाहा भए पनि मर्मतका लागि सम्बन्धित स्थानमै पुग्नुपर्ने बाध्यता पनि रहेको बताएका थिए। जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम भइरहे पनि दुर्घटना भने कम भएको देखिँदैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा भएका विभिन्न सवारी दुर्घटनामा ९१ जनाको मृत्यु भएको छ। ३४० जना घाइते भए। सवै भन्दा बढी मोटरसाइकल दुर्घटनाबाट ३७ जनाको मृत्यु भएको छ भने त्यसपछि २२ पैदलयात्रुको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

गत वर्षको यही अवधिमा ६१ जनाको मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.