|

काठमाडौं : कुनै पनि गीतले श्रोताको कति माया पाउँछ भन्ने सर्जकले अनुमान गरेको हुदैँन। तर श्रोताको माया पाइदिए हुन्थ्यो भन्ने अपेक्षा भने हुन्छ। कतिपय गीत सर्जकले अपेक्षा गरेभन्दा बढी चर्चामा आउंँछन् भने कतिपय गीतहरू सर्जकले अपेक्षा गरेभन्दा न्यून चर्चा हुन्छ। यो ध्रुव सत्य कुरा हो।

वि.संं. २०६० तिर हो, जतिबेला नेपाली लोकदोहोरी क्षेत्रमा एउटा गीतले तरंंग ल्याइदियो। देशमा सशस्त्र जनयुद्द थियो। कति महिलाको सिन्दूर पुछिए। कति बालबालिकाका अभिभावक गुमे। त्यही बेला सर्जक राजकुमार बगरको शब्दमा दिनेश काफ्ले र गीतादेवीको स्वरमा एउटा लोकदोहोरी गीत बजारमा आयो- 'भन्नु नभा'को, आमा! रातो सारी चुरा-पोते किन नला'को?'

जति बेला बगर रिमा रेकर्डिङ स्टुडियोमा आबद्ध थिए। त्यस बेला लोकदोहोरी गायक भोजराज काफ्लेले यस गीतको लय हालेका थिए। लयसँग मिल्ने शब्दको खोजीमा थिए उनी। यसका लागि काफ्लेले बगरसँग अनुरोध गरे। बगरले यो लयमा आफूले शब्द लेख्न सक्ने आशय व्यक्त गरे।

त्यस बेला सशस्त्र युद्ध मात्र होइन, नेपाली दाजुभाइहरू भारतीय तथा बेलायती सेनामा भर्ती हुने क्रम पनि जारी थियो, जुन अहिले पनि यथावत छ।

बगरको गाउँमा पनि भारतीय सैनिकमा आबद्ध भएका धेरै दाजुभाइहरू थिए, जुन युद्धमा पुगेर फर्किएर आएनन्। यो गण्डक क्षेत्रमा अझ बढी रहेको छ। गाउँमा लाहुरेका श्रीमतीहरूको सिउँदो पुछिएको छ। उनीहरूका बच्चाहरू, जो साना छन्, जसलाई हिन्दु स‌ंस्कारबारे ज्ञान छैन। जुन कुरा उनले देखेका थिए।  उनी यस्तै कारुणिक यथार्थ कुरालाई सोच्दै घर लागे।

बेलुका घर पुगेर यही कुरा खेलाउँदै गीत लेख्न थाले। यस गीतको कथामा एउटा अबोध बालकलाई आफ्नी आमाले किन अरू आमाले जसरी कपालको बीचमा रातो रङ र रातो कपडा लगाउनुहुन्न भन्ने जिज्ञासा बढ्छ। उनले यही कथालाई शब्दमा समेटे।

नेपालमा सशस्त्र जनयुद्धले देश थिलोथिलो बनेको थियो। यस अवस्थामा यो भावको गीत सान्दर्भिक हुन सक्ने आफूलाई लागेको उनी बताउँछन्। यो गीत लेख्न प्रेरित गर्न त्यस बेलाको वातावरण र परिवेश नै मुख्य स्रोत रहेको बगरले बताए। 

एउटा सिर्जना कति समयमा लेखिन्छ, महत्त्वपूर्ण होइन भन्ने लाग्छ उनलाई। त्यो सिर्जना कस्तो छ? आम जनमानसमा कस्तो प्रभाव पार्‍यो? यो महत्त्वपूर्ण हुने उनले बताए। त्यस बेला यो विषयमा कसैले पनि यो छोरा र आमाको कोणबाट नलेखेको भएकाले आफूले सहज र छिटो यो गीत लेखेको उनले बताए।

उनी रिमा रेकर्डिङमा काम गर्थे। रातभर गीत लेख्थे। उनी भन्छन्, 'म तनहुँबाट राजधानी गीतकार बन्छु भनेर आएको थिएँ। मेरो ध्येय नै गीतकार बन्ने नै थियो।' 

जब उनले यो गीत राती लेखेर बिहान काफ्लेलाई सुनाए, काफ्लेले खुसी व्यक्त गरे। सुरुवातमा यो गीत काफ्ले स्वयंले छोराको रूपमा गाउने कुरा तय भएको थियो। बगरले यो कुरा अस्वीकार गरिदिए।

उनी भन्छन्, 'परिपक्व मान्छेको स्वरभन्दा नाबालक स्वर यस गीतमा अझ जीवन्त रहने कुरामा म निश्चिन्त थिएँ।' बगरको उक्त जवाफपछि काफ्लेले आफ्ना छोरा दिनेश काफ्लेलाई गीत गाउन लगाए। दिनेश काफ्लेको स्वर  मीठो थियो। यो गीत दिनेशले गाउँदा गज्जब हुने मनसायले गीत रेकर्ड भएको बगर सम्झन्छन्। उक्त गीत बजारमा आएपछि  चर्चाको शिखरमा पुग्यो। स्वयं बगर पनि चर्चामा रहे। त्यसभन्दा अघि बालगीत यति धेरै चर्चित नभएको उनी बताउँछन्। श्रोताहरूले यो गीतलाई दिएको सम्मान भुल्न नसक्ने उनी बताउँछन्।

गीतको मर्मअनुसार भिडियो बन्यो भने गीत हेर्नलायक बन्छ। लोकप्रिय बन्छ।  यो गीतमा अभिनय गर्ने पात्रले यो गीतलाई झन् जीवन्त बनाएका छन्। यो गीतबाट नै उनले पारिश्रमिक लिएर लोक गीत रेकर्ड गर्ने क्रम सुरु भएको उनले बताए। लोकगीत व्यावसायिक रूपमा लेखनको सुरुवात बगरले गरेको उनका नजिकका मित्रहरूले सुनाएको उनी बताउँछन्।

यही गीतका कारण आफूले व्यावसायिक रूपमा धेरै लोकगीत लेखेको बताउँछन् बगर। २०६० देखि २०७० को समयमा लोकदोहोरीको क्षेत्र उच्च गतिमा थियो। क्यासेटको जमाना थियो। व्यापार पनि प्रशस्तै हुन्थ्यो।

लोकदोहोरीको व्यावसायिक यात्रा सफल हुनु र आफू यस क्षेत्रमा प्रवेश गर्नु पनि एकैचोटि भएको हुनाले बगरले लगभग एक हजार लोकदोहोरी गीतहरू लेखेको बताउँछन्। 

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.