|

पर्वत : विगत चार वर्षदेखि मिर्गौलाको रोगका कारण थलिएकी यहाँकी एक बालिकालाई प्रवासीले आर्थिक सहयोग गरेका छन्। 

रोजगारीका लागि पर्वतबाट दोहा कतारमा पुगेका युवाले पर्वतको राम्जाठाँटी गाविस-३ की १४ वर्षीया किशोरी अनिता शर्मालाई सहयोग गरेका हुन्। विगत चार वर्षदेखि मिर्गौला रोगबाट पीडित बनेकी किशोरीलाई उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले पर्वत सम्पर्क मञ्च, दोहा, कतारले नगद ३० हजार सहयोग गरेको हो। 

उक्त रकम सोमबार कुश्मामा एक कार्यक्रमको आयोजना गरी पीडित किशोरीका बाबु डिल्लीराम शर्मालाई नेकपा एमालेका अध्यक्ष पदम गिरीले हस्तान्तरण गरेका हुन्। 

दुईवटै मिर्गौलामा समस्या देखिएपछि काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदै आएको उनले बताए। उनी अहिले नियमित औषधि सेवन गरिरहेकी छिन्। उनी गाउँमै रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी छन्। आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारमा नियमित औषधोपचारका लागि रकम अभाव भएपछि विभिन्न दाताले सहयोग गर्दै आएका छन्। 

अनिताको उपचारका लागि हालसम्म तीन लाखभन्दा बढी खर्च भइसकेको बाबु डिल्लीराम शर्माले बताए। उनले अहिले औषधी सेवनले काम गरेको र औषधिले काम गर्न छाडेपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने जानकारी दिए। उनले आफ्नी छोरीको उपचारका लागि आवश्यक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन्। 

उनका दुई छोरी र दुई छोरा रहेका छन्। उक्त सहयोग रकम मञ्चका अध्यक्ष शेषराज तिमिल्सिनाको पहलमा सङ्कलन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.