फिचर

दशकपछि हिउँले ढाकेको डडेल्धुरा सदरमुकाम, (फोटोफिचर)
SHARES

माघ १२, २०७५

    डडेल्धुरा : डडेल्धुरामा धेरै वर्षपछि शुक्रबार बाक्लो हिमपात भएको छ। झण्डै एक दशकपछि भारी हिमपात भएको हो। शुक्रबार दिउँसोदेखि डडेल्धुरा सदरमुकामसहित जिल्लाका उच्च लेकाली ठाउँमा निरन्तर रुपमा रातिसम्म बोक्लो हिमपात भएको थियो।

    डडेल्धुराको अनारखोली, साहुखर्क, हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको छ। हिमपात भएसँगै पहाडी जिल्लामा चिसोका कारण जनजीवन प्रभावित भएको छ। डडेल्धुरा सदरमुकाम क्षेत्रमा डेढ फिट हिउँ जमेको जल तथा मौसम विज्ञान विभाग मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ।

    लामो समयपछि बाक्लो हिउँपरेपछि यहाँका स्थानीयहरु हिउँसँग रमाइरहेका छन्। हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्।

    यो समयमा बालबालिकामा निमोनिया र वृद्धवृद्धामा दम, श्वासप्रश्वाससम्बन्धी रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मीले जोड दिएका छन्। हिमपातले हिउँदेबाली सप्रने भन्दै किसान खुशी भएका छन्। हिमपातले गहुँलगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने अमरगढी कृषि शाखाका संयोजक टेकबहादुर विष्टले बताए।

    हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ। दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा शुक्रबार बिहानदेखि यातायात सेवा ठप्प भएको हो।

    डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग अनारखोली, मेलखर्क, हगुल्डे, साउँखर्क, भत्कडाँ, स्याउले बजारलगायत क्षेत्रमा बाक्लो हिउँ जमेकाका कारण यातायात चल्न नसकेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। हिउँलाई हटाउने काम भइरहेको उनको भनाइ छ।

    नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको हिउँ हटाउने र सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। यसवर्ष यो क्षेत्रमा चौथौ पटक हिमपात भएको हो।  

     

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]