|

दमक (झापा) : सवै भन्दा विवेकशिल प्राणी भनिने मान्छे। तर यहि मान्छे बेइमान बन्दा कति विवेकहीन बन्छ र अरु प्राणीमाथि कसरी अत्याचार गर्छ ? संसारको दुर्लभ प्राणी मध्येको गैडा। उसले पनि जंगलभित्र आफ्नै शासन व्यवस्था कायम गरेको हुन्छ। यस्तो शासन गर्न उसको मुकुट अर्थात खाग जरुरी हुन्छ। तर परिवन्दमा परेर खाग गुमाउनु पर्दाको पीडामा बसेको मुखियाबिरुद्ध अरु वनबासी प्राणी कति हदसम्म बेइमान बन्न सक्छन् र उसको सिंहासन बिरुद्ध धावा बोल्न सक्छन्?

यही दुर्लभ प्राणी गैडाको रक्षा र सुरक्षाका लागि संरक्षणकर्मीको खोल ओढेका ढोँगीहरु कतिहद सम्म बेइमान बन्न सक्छन् र त्यही गैडा तस्करीको सञ्जाल संसारभरि विछ्याउँछन्? आफ्ना बाबुको लुटिएको खाग खोज्न बर्दिया राष्ट्रिय निकुञ्जको जंगलबाट कंक्रिट र मानिसको जंगल काठमाडौं पुगेको अवोध गैंडालाई कसरी परिवार मोहटबाट छुटाउँछ र मोजमस्तीको अम्मली बनाउँछ, बेइमान काठमाडौले? मुकुट खोज्न हिँडेको गैडू बेइमान काठमाडौंको मोज मस्तीमा भुल्दा कसरी आँफै बेइमान बन्छ र जिम्मेवारी च्युत हुन्छ?

यति धेरै प्रश्नहरूको जवाफ दिने नाटक ‘गैडा टाइम्स’ अहिले झापाको दमकमा मञ्चन भइरहेको छ। कथाकार बुद्धिसागरले लेखेको नाटक गैडा टाइम्सलाई रंगमञ्चमा उतारेका हुन्, झापाकै बासिन्दा रंगमञ्चकर्मी सिजन दाहालले। यस नाटकमा उतारिएको सवै भन्दा घतलाग्दो विषय भनेको जंगली जनावरको मनोविज्ञान र मनोदशा मानवीय ढंगबाट उतार्नु हो। 

संसारकै दुर्लभ प्राणी गैडाको तस्करी गर्नेहरूको सञ्जाल जंगलमा कसरी विस्तार भएको छ र यसले गैडाहरूमा कस्तो प्रभाव पारिरहेको छ भन्ने अवस्था उतारिएको छ नाटक मा। अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१९ नेपालबाट छनाेट परेका १२ नाटकमा पनि यो छनाेट भएको छ। प्रविण खतिवडा र सिजन दाहालले नाट्य रुपान्तरण गरेको नाटक मञ्चनको व्यवस्था चाहिँ दमकको कदम थिएटरले मिलाएको हो। 

प्रतिकूलता भित्रको अनुकूलता

यो नाटक दमकमा मञ्चन गर्दा केही प्रतिकूलताहरू झल्किएका छन्। खुल्ला सभाहललाई प्लाष्टिक र कार्टुनका टुक्राले टालेर नाटक घरको रुप बनाइएको छ।पूर्वाधारमा देखिको संरचनागत प्रतिकूलताबीच नाटक झापाका दर्शकहरूले हेरि रहेका छन्। अर्को कुरा कलाकारका लागिनै नौलो अभ्यास पनि हो। परम्परागत रुपमा नाट्यअभ्यास गरिरहेका कलाकारका लागि रंगमञ्चीय व्याकरण सहज भएन। ‘हामीले यो नाटकमा केही व्याकरण र फर्मूला उल्लंघन गरेका छौं’ निर्देशक दाहालले भने, ‘एक त कलाकारहरूमा नै थिएटरको निरन्तर अभ्यास नभएर पनि हामीले केही नियम मिच्यौ भने केही पूर्वाधारका कारण पनि यस्तो भयो।’

उनकै निर्देशनमा यस अघि मरिचेको चुप्पि नामक नाटक पनि दमकमा देखाइएको थियो। मण्डला थिएटरको चौथो व्याचका उत्पादन दाहालले आधादर्जन नाटक र त्यतिकै संख्यामा चलचित्रमा सहायक निर्देशक समेत भएर काम गरेका छन्। तर रंगमञ्चको धित चलचित्रबाट नमरेको र आफ्नै ठाउँमा नाट्य संस्कृतिको विकास गर्न दमकमानै थिएटर सञ्चालनको तयारीमा लागेको उनको भनाई छ।

नौलो अभ्यास

यो नाटकमा केही नौलो अभ्यास पनि देख्न पाईन्छ। एक त कथाले नौलो अभ्यास बोकेको छ। गैंडाको मनोविज्ञान अनुसन्धान गरेर होस् वा कल्पना गरेर मानवीय स्वभावझै उतार्नु एउटा नौलै काम हो। यस्तै मानिसलाई गैडाको रुपमा रंगमञ्चमा उतार्नु पनि चानचुनै काम होइन। भलै दुई खुट्टा टेकेका कलाकारको भावभङ्गी, बोराको पहिरन, नाकमाथिको खागले कलाकारहरू फिक्सन गैडा प्रतित हुन्छन्। यस्तै नाटकभित्र चलचित्र झै लाग्ने गरी गैडालाई यौन प्यासमा माद चढाएर गिटारसहित र्‍याप गराउन, र्‍याम्पमा उतार्न पनि निर्देशक सफल देखिएका छन्। यस्तै नाटकमा दृश्यलाई जीवन भर्ने लाईभ म्युजिकले पनि नाटकलाई जीवन्त बनाउन कोशिस गरेको छ। 

छुटेका कुरा

नाटक हेर्दै जाँदा केही छुटेको पनि भान हुन्छ। जस्तो की जव गैडू बाबुको मुकुट खोज्न ट्रकमा चढेर काठमाडौको कलंकी आइपुग्छ, त्यस बेला दर्शकले पत्तै पाउँदैनन्। यहाँ काठमाडौंको कोलाहल प्रतित हुने आवाज–साउण्ड इफेक्ट प्रयोग गर्न सक्ने ठाउँ छ। अथवा गैडाले यो के को दुर्गन्ध हो भनेर प्रश्न गरेको भए पनि काठमाडौंको झल्को दर्शकले पनि पाउन सक्ने थिए। यस्तै गैडालाई काठमाडौैले दिएको पहिलो खाजा खाएको दृश्य अस्वाभाविक लामो छ। 

नाटकको पहिलो शो मा ‘सेमी साइलेन्स’ यो दृश्य २ मिनेटको हाराहारीमा हेरियो। यसले दर्शकलाई बोर महशुस गराउन सक्छ। समग्रतामा बेइमानै बेइमानहरूको चरित्र इमानपूर्वक प्रस्तुत गरेको नाटक हो, गैडा टाइम्स। यसमा सागर खाती, सुमित्रा पेहिम, आस्था निरौला, मौषम राना, पासाङ चोमु शेर्पा खुसी, विकास राना, किरण भेटवाल, विदेश लामिछाने, दीपक खरेल, सुवास खरेल, प्रविण मगर, याङसाङ मुकारुङ गैडा, खरायो लगायतका जंगली जनावर बनेर दमकको मञ्चमा माघ १४ गते सम्म देखिदैछन्। 

लाइभ म्यूजिकमा सुजन भण्डारी याङसाङ मुकारुङ र दिवेश लामिछानेको मेहनत छ भने संयोग गुरागाईको गीतले नाटकमा नयाँ रस थपेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.