पालिकामा पुगे केन्द्रमा पुगेनन् बैंक

|

उदयपुर : उदयपुरका पहाडी  क्षेत्रका गाउँपालिकाले बजार क्षेत्रमा खोलेका सम्पर्क कार्यालय धमाधम बन्द गर्न थालेका छन्। गाउँपालिकाले पालिकाको केन्द्रमा बैंकिङ कारोवार लगायतका काममा इन्टरनेटको सुविधा नभएको भन्दै बजार क्षेत्रमा खोलेका कार्यालयहरू अहिले बन्द गर्न थालेका हुन्।

पुन: संरचनासँगै बनेका पालिकाको केन्द्रलाई वेवास्ता गर्दै बजार क्षेत्रमा सम्पर्क कार्यालय स्थापना भएका थिए। स्थानीय तहको निर्वाचनपछि पनि पालिकाको केन्द्र बजारमै थियो। तर पछिल्लो समयमा पालिकाको केन्द्रमै इन्टरनेट, बैंक, तथा केही भौतिक पूर्वाधार निर्माण भएपछि पालिकाकाले केन्द्रले पनि मुहार फेर्दै गएको छ। अनि सम्पर्क कार्यालय पनि बन्द हुँदै गएका छन्।

उदयपुरगढी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले गाईघाटमा रहेका सम्पर्क कार्यालय अहिले गाँउपालिकाको केन्द्रमै पुर्‍याएको बताए। ‘पहिला यस पालिकाको केन्द्रमा इन्टरनेटदेखि लगायतका धेरै समस्या थियो’ उनले भने, ‘अहिले त्यो पनि हट्दै गएको छ। गाइघाटमा रहेको सम्पर्क कार्यालय पनि बन्द गरेका छौं।’

गाइघाटमा रहेको सम्पर्क कार्यालय अहिले पूर्ण रुपमा बन्द छ। गाँउपालिकाकै केन्द्रमाबाट सवै कारोवार गर्न थालेपछि बन्द भएको अधिकृत सुवेदीको भनाइ छ। ‘धेरै आर्थिक कारोवारको काम इन्टरनेटकै माध्यमबाट हुन्छ’ उनले भने, ‘मुख्य गरी हामीलाई चाहिने पनि त्यही इन्टरनेट थियो। अहिले त्यसको व्यवस्था गरेपछि हामीले पालिाकाबाटै काम गर्न थालेका छौं।’

उदयपुरगढी, रौतामाई, लिम्चुबुङ गाउँपालिकाको सम्पर्क कार्यालय गाइघाटमा थियो भने ताप्ली गाउँपालिकाको सम्पर्क कार्यालय कटारी बजारमा थियो। अहिले सवै गाउपालिकाले पालिकाको केन्द्रबाटै सेवाग्रहीलाई सेवा दिन थालेका छन्। ‘पहिला गाउँपालिकाको केन्द्र बारामा इन्टरनेट थिएन,’ लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले भने, ‘गाइघाटमा सम्पर्क कार्यालय खोलेर काम गर्न बाध्य थियौं। अहिले बैङक पनि आउँदै छ। इन्टरनेटको व्यवस्था भएको छ। योजनादेखि सवै कुराको भुक्तानी पालिकाकै केन्द्रबाट गर्ने गरेका छौं।’

यता रौतामाई गाउँपलिकाले पालिकाको केन्द्र भुटारबाटै गाइघाटको सेवा दिन थालेको जानकारी दिएको छ। प्रमुख प्रशासकीय अधिकृत खम्वराज राईले गाइघाटमा रहेको सम्पर्क कार्यालय बन्द गर्न लागेको जानकारी दिए। ‘हामीलाई सानो समस्या भनेको बैंकको नै छ। अहिले पनि’ उनले भने, ‘पालिकाको केन्द्रमा विद्युत नभए पनि सोलारबाट काम चल्छ। तर इन्टरनेट पनि छ। तर बैङक मुकुर्ची बजारमा छ। त्यो पालिकाको केन्द्रबाट धेरै टाढा छ।’

अधिकांश पालिकाका केन्द्र सोलारकै भरमा छन्। चार गाउँपालिकामध्ये सवैभन्दा सुगम मानिने उदयपुरगढी गाउँपालिका हो। उदयपुरगढीमा पनि अझै विद्युत सेवा विस्तार हुन सकेको छैन। उदयपुरगढीमा पनि लिम्चुङबुङ, रौतामाई, ताप्लीकै शैलीमा सोलारबाट विद्युत आपूर्ति गरिरहेको छ। 

पालिकामा पुगे बैंक, केन्द्रमा पुगेनन्

सरकारी नीति अनुसार पालिकाको केन्द्रमै बैंक पुग्नुपर्ने भए पनि उदयपुरका दुई गाउँपालिकाको केन्द्रमा बैंक स्थापना भएको छैन। उदयपुरगढीको नेपालटार बजार र रौतामाईको मुकुर्ची बजारमा मात्र बैङक स्थापना भएका छन्। दुवै पालिकाको केन्द्रमा शाखा खोल्नु पर्ने बैंकले सुरक्षा र भौतिक पूर्वाधारको अभाव देखाउँदै व्यापारी केन्द्रमा मात्र बैंकको शाखा स्थापाना गरेका हुन्।

उदयपुरको रौतामाईको मुकुर्चीमा मेगा बैंकले शाखा संचालनमा छ। त्यो पालिकाको केन्द्रभन्दा झण्डै १५ किलोमिटर टाढा रहेको छ। यसैगरी उदयपुरगढी गाउँपालिकाको बजार क्षेत्रमा पर्ने नेपालटार बजारमा सानिमा बैंकको शाखा पनि पालिकाको केन्द्रमा छैन। पालिकाको केन्द्र उदयपुरगढीबाट ८ किलोमिटर दूरी टाढा रहेको स्थानीयले बताउँछन्। ताप्ली गाउँपालिकाको केन्द्रमा रुपाटारमै प्राइम कमर्सियल बैंक लिमिटेडले शाखा स्थापना छन्। लिम्चुचुङकमा बैंक स्थापना हुन सकेको छैन। सवै स्थानीय तहका धुले सडक मात्र पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.