|

धनकुटा : बढ्दो आधुनिकतासंँगै नेपाली समाजबाट दुना टपरी लोप हुने अवस्थामा पुग्न थालेको छ। यही हिसाबले लोप हुँदै जाने हो भने अबको १०-२० वर्षपछि पछिल्लो पुस्ताले दुना टपरी गुगल र तस्बीरमा हेरेर चित्त बुझाउनुपर्ने अवस्था सिर्जना हुनेछ।

नेपाली समाजमा विवाह, ब्रतबन्ध र पूजाआजालगायतका कार्यहरूमा दुना टपरी प्रयोग गर्ने गरिन्थ्यो र अझै पनि गर्ने गरिन्छ। तर यो क्रम पछिल्लो समय क्रमश: हराउँदै जान थालेको छ। बढ्दो आधुनिकतासँगै दुना टपरीका सट्टामा प्लाष्टिक र कागजका सामानको प्रयोग बढेर गएको छ। हुनत देशका कतिपय स्थानमा दुना टपरीको उद्योग नै संंचालन भइरहेका छन्। धनकुटामा केही होटलबाहेक अन्य ठाउँमा दुना टपरी पाइन छाडेको छ। ग्राहकलाई दुना टपरीमा राखेर परिकार दिने चलन भने बढेर गएको छ। तर नेपाली समाजमा जुन हिसाबले दुना टपरीको प्रयोग हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। 

दुना टपरी बनाइने विभिन्न प्रजातिका पातमध्ये घोर्लाको पात, केराको पात र सालको पात विवाह, ब्रतबन्ध, पूजाआजा र श्राद्धमा शुद्ध रहेको मान्ने गरिन्छ। केही वर्षदेखि धार्मिक कर्मकाण्ड गर्दै आइरहेका धनकुटा- २ का दीपक निरौला हालका कर्मकाण्डमा दुना टपरीको प्रयोग कम हुँदै आइरहेको सुनाउँछन्। यदि दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकियो भने पेपर र प्लाष्टिक विस्थापित हुने पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ बताउँछन्। दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिएमा जंगलमा त्यसै खेर गइरहेका सालका पातबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने उनको तर्क छ।

दुना टपरीमा केही कुरा राखेर खाएमा निकै समय तातै रहन्छ र स्वास्थ्यका लागि फाइदा पनि गर्ने भएकाले प्लाष्टिकका सामग्रीभन्दा यसतर्फ ध्यान दिन आवश्यक भएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट अमिताभ ठाकुरको भनाइ छ। प्लाष्टिक वा कागजका सामग्री राखेर तातो खानेकुरा खाएमा स्वास्थ्यमा असर गर्ने ठाकुर बताउँछन्। 

देशका हरेक धार्मिकस्थलमा दुना टपरी र सालको पात खोज्ने भक्तालुको कमी हुँदैन। बालाचतुर्दशी, शिवरात्रि, तीज, लाखबत्ती बाल्नेजस्ता धार्मिक कार्यमा अधिक मात्रामा दुना टपरीको प्रयोग हुने गर्छ। देशका स्थापित धार्मिक पीठहरूमा दुना टपरी खोजिए पनि गाउँमा भने दुना टपरी विस्तारै लोप हुँदै गइरहेका छन्। बस्ती बाक्लिँदै जाँदा सालको वन फँडानी हुँदै गइरहेको छ। नजिकै पात पाउनै गाह्रो हुन थालेको छ। वैवाहिक कार्य होस् कि पूजापाठ, गाउँका धेरै दिदीबहिनी भेला भएर टपरी बनाउने सामाजिक चलन सामाजिक सद्भावका लागि पनि उपयुक्त मानिन्थ्यो। तर पछिल्लो समय गाउँगाउँमा आधुनिक भाँडा प्रचलनमा आएपछि दुना टपरीसँगै सामाजिक सद्भाव पनि पातलिँदै गएको छ।

दुना टपरीमा अक्षता मुछेर टीका लगाइने प्रचलन विस्तारै हट्दै गएको छ। अहिले तामा तथा काँसको थालीमा अक्षता मुछ्ने चलन सुरु भएको छ। तर कतिपय ठाउँमा अझै पनि दुना टपरी नै प्रयोग गरेर भोज सम्पन्न गर्दै आइरहेका छन्। टपरीमा भोज खुवाउन चाहे पनि सुविधा खोज्ने मान्छे बढेकाले विवाह भोज तथा कर्मकाण्डमा टपरी कम प्रयोग हुँदै आइरहेको छ। ब्रतबन्ध, श्राद्ध, सत्यनारायण पूजालगायत धार्मिक अनुष्ठानहरूमा टपरीको महत्त्व अझै पनि घटेको छैन।

पाठशालाले थाल्यो संरक्षणको प्रयास

विस्तारै लोप हुँदै गइरहेको दुना टपरी धनकुटा नगरपालिकामा जोगाउने प्रयास भइरहेको छ। विविध मठमन्दिर तथा विवाह भोज, कर्मकाण्ड, ब्रतबन्ध, श्राद्ध, सत्यनारायण पूज लगायतमा विशेष प्रयोग हुने टपरीलाई राज्यले उद्योगको रूपमा विस्तार गर्न सके रोजागरी सिर्जना, समाजिक र साँस्कृतिक विकासमा टेवा पुग्ने जानकारहरू बताउँछन्। यसले भारतीय बजारको पलाष्टिकका अस्थायी प्लेट, कचौरामा बाहिरिइरहेको करोडौँ रुपैयाँ स्वदेशमै रोकिने देखिन्छ। धनकुटामा हाम्रो बहुमुखी पाठशालाले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि बालबालिका लक्षित दुना टपरी निर्माणसम्बन्धी तालिम दिएर दुना टपरीको संरक्षणको पहल सुरु गरेको छ।

विद्यार्थीहरूलाई परंंपरागत संस्कार र संस्कृतिका बारेमा ज्ञान दिलाउँदै किताबमा देखेका र पढेका कुरालाई व्यावहारिक शिक्षा दिलाउन यस्तो कार्यक्रम गरिएको हाम्रो बहुमुखी पाठशालाका संयोजक सरोज भुजेलले जानकारी दिए। मौलिक परंंपराअनुसार आवश्यक पर्ने दुना टपरीको महत्त्व र आवश्यकताका विषयमा छलफलसमेत गरिएको थियो। हिले मावि, भाषा मावि, गोकुण्डेश्वर मावि, गोकुण्डेश्वर बालमन्दिर मावि, त्रिवेणी मावि, तमोरभ्याली बोर्डिङ, दीप इंग्लिश बोर्डिङ, बालसंसार बोर्डिङ, तुलसी मेहर बोर्डिङका ३० जना छात्र छात्रालाई प्रशिक्षण दिइएको छ। 

पछिल्लो समय नेपाली मौलिकता हराउँदै गएको र यस्ता कार्यक्रमले विद्यार्थीलाई रचनात्मक बन्नमा समेत सहयोग पुग्ने हुँदा दुना टपरी गाँस्ने सीप सिकाइएको प्रशिक्षक लक्ष्मीदेवी श्रेष्ठले बताइन्। हाल हाम्रो बहुमुखी पाठशालाले मौलिक चित्रकला, मौलिक नृत्य, मौलिक गीत-संगीत जस्ता परंरागत संस्कृतिको संरक्षणमा काम गर्दै आएर धनकुटामा पृथक पहिचान निर्माण गरिरहेको संयोजक भुजेलले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.