|

बैतडी : चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन्।  स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएका छन्। यसका साथै ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको छ। नेपाल सरकारले प्रत्येक स्थानीय तहमा बैंक पुर्‍याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको हो।

सरकारले प्रत्येक स्थानीय तहमा बैंक खोल्ने नितीले जिल्लाका सबै पालिकामा बैंक स्थापना भएका हुन्।  ग्रामीण क्षेत्रमा विभिन्न बैंकका  शाखा स्थापनासँगै स्थानीय तहबाटै बैंकिङ कारोबार गर्न सजिलो भएको छ।  सुर्नया गाउँपालिकाको वडा नं २ सतबाँझमा नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखा स्थापना भएसंगै बैंकिङ्ग कारोवार गर्न सजिलो भएको गाउँपालिका अध्यक्ष वीर वहादुर विष्टले जानकारी दिए। सदरमुकाम धाउनुपर्ने बाध्यता हट्दै जानुका साथै गाउमै बैंकिङ्ग कारोवार गर्न सजिलो भएको छ। उनले भने, ' बैंक स्थापना भएसंगै बैंकिङ्ग कारोवार गर्न सजिलो हुनुका साथै ग्रामिण अर्थतन्त्रमा पनि सुधार हुँदै गएको छ।'

गाउँपालिकाभरीको ८० प्रतिसत काम बैंकबाटै हुने गरेको र गाउँपालिकामा बाँकी रहेका विद्यालय तथा अन्य संघ संस्थालाई पनि स्थानीय बैंकवाट गर्न अनुरोध गरेको उनले बताए।  नेपाल ईन्भेष्टमेण्ट बैंकको सतबाँझमा गत बर्षको  फागुनमा  शाखा  स्थापना भएको हो। शाखा स्थापना भएपश्चात हालसम्म १ हजार १ सय  जनाले बैंकमा खाता खोलेको बैंकका शाखा प्रबन्धक गोविन्दबहादुर विष्टले जानकारी दिए।

जिल्लाको दुर्गम सिगास गाउँपालिकामा कृषि विकास बैंकको शाखा स्थापना भएको छ। त्यस क्षेत्रका नागरिकलाई पनि आर्थिक कारोबार गर्न सहज भएको हो।आर्थिक कारोवार बैंकमार्फत गर्दा कुनै घाटा नभई फाइदा मात्र हुने जानकारी नहुँदा वित्तीय सचेतना जगाएर सर्वसाधारणलाई बैंकको पहुँचमा ल्याउने प्रयासमा स्थानीय तहहरु लागेको छन्।  दोगडाकेदार गाउँपालिकाले पनि पालिकामा हुने हरेक आर्थिक गतिविधी बैंकबाटै गरिरहेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए।

ग्रामीण क्षेत्रको विकास गर्ने लक्ष्य लिएर किसानलाई आर्थिकरुपमा मजबुद बनाउन बैंक आफैँले मूल्याङ्कन गरी लगानी गर्ने गरेको  छ। सरकारले बजेट सार्वजनिक गर्ने क्रममा ‘एक घर, एक बैंक खाता’को लक्ष्य लिए अनुरुप नै यहाँका गाउँपालिकाले काम गरिरहेका छन्। चेतनाको अभावका कारण सर्वसाधारणले बैंकिङ प्रणालीलाई झन्झटिलो मान्ने भएकाले त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैंकले सहजीकरण गर्दै आएको दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए।

नगरपालिकाले सामाजिक सुरक्षाभत्ता बैंकमार्फत अनिवार्य बनाएपछि वृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर बैंकले सेवा पु¥याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको उनको भनाइ छ। बैतडीका  अधिकांश स्थानीय तहमा बैंकको शाखा स्थापनाले स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्थालगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ।

स्थानीय तहमा खुलेका बैंकले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लगानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ।  जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक,  पञ्चेश्वर गाउँपालिकामा नोबेल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आईएमई बैंक , डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल ईन्भेष्टीमेन्ट बैंक, र मेलौलीमा एनसिसि बैंकका शाखा स्थापना भइसकेका छन्। सदरमुकामस्थित दशरथचन्द  नगरपालिकामा वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखाहरु रहेका छन् भने पाटन नगरपालिकाका कृषि विकास बैंक लगायतका शाखाहरु छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.