|

काठमाडौं :  सेन्ट जेभियर्स कलेजले २१औँ काव्य प्रवाह गोष्ठी सम्पन्न गरेको छ। कलेजले आफ्ना विद्यार्थीमाझ गरेको कविता प्रतियोगितामा कक्षा १२ 'ए' कि छात्रा अनिता खत्रीको कविता 'मलाई त्यो मजस्तै लाग्छ' प्रथम भयो। त्यस्तै, कक्षा १२ सी का छात्र मोहम्मद अस्फाकको कविता 'आत्महत्या हैन अन्तिम हत्या' र कक्षा ११ सी का छात्र मोहन बुढाको कविता 'किसान बा' क्रमश द्वितीय र तृतीय भए।

सेन्ट जेभियर्समै अध्ययन गर्ने विद्यार्थीहरूका ७० बढी कविताबाट विभिन्न चरणमा छनोट गरी ७ जना   प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेका थिए। अन्तिम ७ कवितामा कक्षा १२ एफका सुजन क्षेत्रीको 'आमा', कक्षा ११ बि का विवेक बुढा मगरको 'जीवन', एम्एमसी दोस्रो सेमेस्टरका दीपकराज सन्जेलको कविता 'जिन्दगी र दौड' तथा बिएस्सी माईक्रोका विवेक राना क्षेत्रीको कविता 'साइँला दाइ' छनोट भएका थिए।

पुरस्कृत कविहरूले प्रमुख अतिथि वरिष्ट कवि तथा संस्कृतविद् तुलसी दिवस, प्रिन्सिपल फादर जिजु भर्गिस एस् जे, भाइस प्रिन्सिपल फादर जोमन जोस एस जे, प्राचार्यद्वय खेम प्रसाईं र देवेन्द्र पौडेलका हातबाट प्रमाणपत्र तथा मेडल प्राप्त गरे। यसका अलवा वर्षभरिनै भएक‍ो वाचनकला, निबन्ध तथा कथा लेखन प्रतियोगीता (अङ्ग्रेजी नेपाली) मा पनि पुरस्कृत भएका पुरस्कृत विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

वरिष्ट कवि  दिवसले सेन्ट जेभियर्समा अध्ययनरत साना भाइ बैनाले सुनाएको कविता राष्ट्रियस्तरको कविता भएको भन्दै खुसी व्यक्त गरे। अतिथिका रूपमा उपस्थित प्राज्ञ डा. देवी नेपाल, व्‍यङ्ग्य कवि लक्ष्मण गाम्नागे र युवा कवि जीवन खत्रीले पनि आ-आफ्ना कविता सुनाए। नेपाल आईडल तथा भारतीय टेलिभिजन सो सारेगमबाट चर्चामा आएकी मेनुका पौडेलले समेत गीत गजल गायनको प्रस्तुति दिइन्। उनलाई गायन क्षेत्रमा योगदान दिएको भन्दै सम्मान पत्रसमेत प्रदान गरिएको थियो।

कविताका अलवा विद्यार्थीहरूले कुमारी नाचलगायत देशका विभिन्न भू-भागमा देखाइने कल्चर नृत्य, गायन तथा वाद‍्यवादन बजाएर सांगीतिक धूनसमेत प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.