|

डोल्पा  : हिमाली जिल्ला डोल्पामा यस वर्ष तेस्रो पटकसम्म वर्षासँगै हिमपात भयो। पटक–पटक वर्षासँगै भएको हिमपातपछि खेतबारीमा लगाइएको अन्नबालीलाई फाइदा पुग्ने भन्दै डोल्पाली जनता उत्साहित छन्। तर भारी हिमपातकै कारण सञ्चार र हवाई यातायात सेवा अवरुद्ध भएपछि स्थानीय समस्यामा परेका छन्।

पहिलोपटक भएको बाक्लो हिमपातसँगै ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा राखिएको मोबाइल टावर पटक–पटक अवरुद्ध हुन थालेको छ। करिब एक सातादेखि जुफालमा राखिएको नमस्ते र स्काईको मोबाइल टावरमा ठप्प भएको छ। दुर्गममा भरपर्दो सञ्चारको साधनको रूपमा रहेको मोबाइल टावरनै एक सातादेखि नभएपछि  हजारौँ सेवाग्राही मर्कामा छन्।

हप्तौँसम्म मोबाइलमा नेटवर्क नभएपछि जिल्लाबाहिर रहेका आफन्तहरूसँग कुरा गर्न समस्या भएको त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय दिलमाया विष्टले बताइन्। 'आफूले नमस्तेको सिमकार्ड प्रयोग गर्दै आए पनि झण्डै एक सातादेखि मोबाइलमा टावर छैन्, त्रिपुराकोट गाउँ नै सञ्चारविहीन भएको छ' विष्टले भनिन्, 'यसै पनि विकट ठाउँ भएकाले कुनै सानो कामका लागि पनि पैदल हिँडेर वा मान्छे पठाएर खबर गर्नुपर्छ, त्यसमा पनि टावर नहुँदा पुरानो युगमा फर्केजस्तै महशुस भएको छ।'

समस्याबारे सम्बन्धित कार्यालय नै अनभिज्ञ

त्रिपुरासुन्दरी नगरपालिकाको रसी लेकमा राखिएको रेडियो लिंक टावर र ठूलीभेरी नगरपालिकाको जुफालमा राखिएको मोबाइल टावरमध्ये कुनमा समस्या छ सम्बन्धित कार्यालयनै अनभिज्ञ छ। टावर नभएको एकसाता पुगिसक्दा पनि समस्या पहिचहान गरेर सुल्झाउन पहल नभएको भन्दै त्रिपुराकोटका स्थानीयले सम्बन्धित निकायलाई गुनासोसमेत गरेका छन्।

नेपाल टेलिकम नेपालगञ्जका उप–प्रमुख शिवराज खनालका अनुसार जुफालमा राखिएको टावरमा हिँउ परेर ऐन्टेना हल्लेपछि मोबाईल सेवा अवरुद्ध भएको हो। खनालले गत शुक्रबार नै आवाश्यक सामान नेपालगञ्जबाट पठाएको बताए पनि डोल्पा सामान नपुगेको दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले बताए। नेपालगञ्जबाट सामान आएर कहिले अवरुद्ध सेवा सुचारु हुन्छ सम्बन्धित कार्यालयनै बेखर रहेको छ। दुर्गमताको महशुस कम गराउने एकमात्र साधनको रुपमा रहेको मोबाइल सेवा अवरुद्ध भएपछि त्रिपुरासुन्दरी नगरपालिकाबाट दैनिक सम्पादन हुने कामकाजसमेत प्रभावित बनेको छ।

विमानस्थल पनि अवरुद्ध

दोस्रो र तेस्रोपटक परेको बाक्लो हिमपातका कारण जुफाल विमानस्थलको हवाई मार्गमै हिउँ जमेपछि गत शनिबारदेखि जुफाल विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ। लगातार दुई दिनसम्म पनि विमानस्थलमा रहेको हिउँ नपग्लेपछि नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसकेको नागरिक उडड्यन कार्यालय जुफालले जनाएको छ।

लगातार दुइ दिनसम्म उडान नभएपछि नेपालगञ्ज र जुफाल विमानस्थलमा सयौँ यात्रुहरु अलपत्र परेका छन्। डोल्पामा उडान नभएपछि एयरपोर्ट जाने आउने काम मात्रै भएको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय जयस बोहोराले बताए। 'दुई दिनदेखि पुस माघको चिसोमा एकाबिहानै नेपालगञ्ज एयरपोर्ट पुग्ने र फर्कने काम मात्रै छ, जुफाल विमानस्थलमा केही हिउँ घामले पग्लीहाल्छ बाँकी रहेको हिँउ मेसिनद्वारा फालेको भए उडान हुन्थ्यो, सर्वसाधारणले शास्ती खेप्नुपर्ने थिएन' उनले भने।

कर्णालीमा यातायातको भरपर्दो माध्याम हवाईजहाज भए पनि जिल्लाबाट निर्वाचित भएका सांसद र मन्त्रीहरुले यसलाई व्यवस्थित बनाउन नसकेको उनको भनाइ छ। अघिल्ला वर्षहरूभन्दा यस वर्ष धेरै हिउँ परेपछि जिल्लाबाहिर आवतजावत गर्ने नाकाहरूसमेत अवरुद्ध भएका छन्। हिमपातसँगै जुम्ला डोल्पा सिमानामा पर्ने मौरे लेक नाका बन्द भएपछि आवतजावतमा समस्या भएको छ। त्यस्तै लगातार परेको हिउँका कारण लेकमै खनेर भण्डारण गरिएको आलु घरसम्म ल्याएर बिक्रीवितरण गर्नसमेत समस्या भएको त्रिपुरा सुन्दरी नगरपालिका १ करेलीकाँडाका स्थानीय चन्द्र लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.