|
फाइल फोटो

धनगढी : दुई वर्षअघि फागुन २६ गते कञ्चनपुरको पुनर्वास ४ आनन्द बजारमा भारतीय पक्षको गोली लागि स्थानीय गोविन्द गौतमको ज्यान गयो। नेपाली भूमिमा रहेको कल्भर्डको मर्मत गर्दा भारतीय पक्षले अवरोध सिर्जना गरेका थिए। त्यो बेला विवाद यतिसम्म चुलियो कि भारतीय पक्षले गोली प्रहार गर्‍यो र गौतमको मृत्यु भयो। 

अझै आक्रान्त छ सीमा

सीमा विवादका कारण गोबिन्द गौतमको हत्या भएको थियो। उनको हत्याको दुई वर्ष पुग्नै लाग्दा पनि सो क्षेत्रमा सीमा अझै शान्त बन्न सकेको छैन। यो अवधिमा दर्जनौं पटक भारतीय पक्षबाट नेपाली प्रताडित भएका छन्। ‘फरक फरक बहानामा नेपाल र नेपालीमाथि प्रहार भइरहेको छ’ सीमा क्षेत्रका स्थानीय प्रेम थापाले भने, 'हामी त निरिह जस्तै भएका छौं।’ 

आनन्द बजारमा आफ्नै भूमिमा कल्भर्डको सुधार गर्दा अवरोध गरेको भारतीय पक्षले सिमा क्षेत्रमा नेपाली पक्षलाई कुनै पनि गतिबिधि गर्न नदिने गरेको स्थानीयको भनाइ छ। सीमा क्षेत्रमा जंगली जनावरबाट समेत प्रताडित भएका नागरिकले बाली जोगाउन आफ्नै भूमिमा बिद्युतीय तारबार लगाउँदा समेत भारतीय पक्षले अवरोध सिर्जना गरेको थियो। 

बैशाख १२ गते पुनर्वास नगरपालिका ९ बीच फाटामा सर्वसाधारणले तार लगाउँदा उनीहरूले अवरोध मात्रै गरेनन्, तरबारनै भत्काइदिए। ‘हामीले हाम्रो खेतको बीचबाट तार लागउँदा पनि उनीहरूले धम्काए, भत्काए’ स्थानीय दलबहादुर विष्ट भन्छन्, ‘पटक-पटक हाम्रो भूमिमै पुगेर निर्माणाधीन संरचनाहरूमा अवरोध गर्दा पनि सरकारले चाँसो दिँदैन।’

बीच फाटमा नेपाली भूमिमा नेपालीले तारबार लगाउँदा अवरोध सिर्जना गरेको भारतीय पक्षले पुनर्वास नगरपालिका ११ डोकेबजारमा भने एकलौटी ढंगले तारबार हाल्ने र ट्रेन्च खन्ने काम गरेको हो। सीमा क्षेत्रमा नेपाली पक्षसँग समन्वय नगरेर ट्रेन्च निर्माण गर्दा त्यस क्षेत्रका नागरिक डुवानको समस्यामा पर्ने भन्दै निर्माण कार्यमा रोक लगाउन अपिल गरेका थिए। ‘आफ्नै जग्गामा घर बनाउँदा त हामी छिमेकीसँग सल्लाह गर्छाैँ। भारतले सीमामा तारबार लगाउँदा नेपाली पक्षसँग सल्लाह गर्न पर्दैन?’ पुनर्वास ११ डोकेबजारका प्रेम थापाले प्रश्न गरे। पटक पटक भारतीय पक्षबाट हुने ज्यादतीले योे क्षेत्रका नागरिक हैरान छन्। नेपाली भूमिमै पुगेर नेपाली नागरिकलाई सास्ती दिने गरेको उनीहरू बताउँछन्।

सीमा स्पष्ट नहुँदा समस्या 

नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भहरू स्पष्ट छैनन्। कैलालीको धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकामा सबै भन्दा बढी सीमा विवाद छ।धनगढीको फुलवारीमा रहेको ७४२ र भजनी नगरपालिकाको ७०७ र ७०८ सीमा स्तम्भ भारतीय पक्षले एकलौटी रुपमा स्थापना गरेको त्यस क्षेत्रका स्थानीयबासीको आरोप छ। 

नेपाली सिमासर्वे टोलीको उदासिनताका कारण भारतीय पक्षको हस्तक्षेप बढेको उनीहरूकोे गुनासो छ। कैलालीका यि क्षेत्रमा बिगत लामो समयदेखि भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको आरोप छ। अतिक्रमण गरेका केही सीमा स्तम्भ २०६६ सालमा विभिन्न विद्यार्थी संगठनहरूको टोलीले भत्काएपछि थप समस्या बल्झिएको हो। नदी कटानले नेपाली भूमि भारतमा पुर्‍याउँदा बिवाद झन् बढेको भजनी नगरपालिका ३ का वडा अध्यक्ष बिक्रम चौधरीले बताए।

‘हामीले बर्षाैँदेखि उपभोग गर्दै आएको र हामीसँग जग्गा धनी प्रमाण पत्र रहेको जग्गा अहिले भारतमा परेको छ। वडाध्यक्ष चौधरीले भने, ‘नदीले धार परिवर्तन गर्छ। कटानी बढाउँछ अनि नेपालीले भूमि गुमाउनु पर्ने बाध्यता रहेको  छ।’ कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा रहेका सीमा पिल्लरहरू हराइरहेका छन्। कञ्चनपुरको १९४ देखि  १९५ सम्म मात्रै १४ वटा सहायक पिल्लर भेटिएका छैनन्। भेटिएका मध्ये अधिकांश जीर्ण र काम नलाग्ने अवस्थामा रहेका छन्।

सीमा स्पष्ट नभएका कारण पटक-पटक भारतीय पक्षले सीमा अतिक्रमण गर्ने गरेको स्थानीयवासी हरि जोशीले बताए। ‘९५ नम्मरको पिल्लर ढलेको छ। त्यो अहिले पारि भारतमा पर्छ। त्यहाँसम्म कोही गएका छैनन्। ९६ नम्मरको पिल्लर पनि कहाँ छ कसैलाई थाहा छैन। त्यहाँ हाम्रो जग्गा छ। उनीहरूले कहिले खेती लगाउन दिदैनन्, कहिले खेति काट्न दिदैनन्’ जोशीले गुनासो पोखे।

गुम्दै प्यारा ताल

सरकारले चाँसो नदिँदा ३० वर्ष अघिसम्म नेपालको पूर्ण स्वामित्वमा रहेको पुनर्वास नगरपालिका ९ बिचफाटास्थित प्यारा ताल अहिले भारतीय पक्षबाट अतिक्रमण भइरहेको छ। ‘उनीहरू प्यारा ताल हाम्रो हो भन्छन्’ स्थानीय हरी शर्मा जोशीले भने, '३०/३५ बjर्ष पहिले यो ताल पूर्ण हाम्रो स्वामित्वमा थियो। अहिले क्रमशः भारतले हाम्रो हो भन्दैछ।’ 
२०४६ साल अघिसम्म जिल्ला विकास समितले प्यारा तालमा एकलौटी रुपमा ठेक्का दिने गरेको स्थानीय बताउँछन्। २०४७ सालपछि भारतीय पक्षले आधा उनीहरूको हिस्सा भएको दाबी गरेका हुन्। शर्माले भने, ‘नेपाल सरकारले चाँसो दिएन। त्यो बेला देखि प्यारा ताल आधा उनीहरूको आधा हाम्रो भयो तर। अहिले पूरै हाम्रो हो भन्दै उनीहरूले माछा मार्न जाने नेपालीहरू पक्राउ गर्ने गरेका छन्।’ 

विवाद सुल्झाउन गठित टोली विवादित क्षेत्रमा नपुगेर फर्कियो

नेपाल भारत सीमा क्षेत्रको विवाद सुल्झाउन गठन गरिएको सीमा सर्वे टोलीले विवादित क्षेत्रमा प्रवेशनै नगरि काम सम्पन्न गर्‍यो। गत बर्ष मंसिरमा नेपाल भारतको संयुक्त सीमा सर्वे टोलीले कैलाली कञ्चनपुरका सीमा पिल्लरको अवलोकन मर्मत तथा निर्माणको काम थालनी गरेको थियो। यो अवधिमा कैलाली कञ्चनपुरमा रहेको ६५९ वटा सिमा पिल्लरको अवलोकन गरिएको छ भने १०१ वटा पिल्लरको मर्मत तथा ३१ वटा नयाँ पिल्लर निर्माण गरिएको छ। मर्मत तथा निर्माण गरिएका मध्ये अधिकांश कैलालीका सीमा पिल्लर रहेका छन्।

१०१ वटा पिल्लरको मर्मत गरिएकोमा कैलालीमा मात्रै ९८ वटा र कञ्चनपुरमा ३ वटा रहेका छन्। तर जुन क्षेत्रको विवादले सरकारले नेपाल भारत सीमा सर्वे टोली निर्माण गरेको हो, त्यही क्षेत्रका सीमा पिल्लरबारे दुबै देशका सर्वेक्षकहरूले खासै महत्व दिएनन्। पहिलो चरणको काम सम्पन्न भएको र बाँकी काम दोस्रो चरणमा हुने नेपाल भारत सिमासर्वे टोलीनम्बर ४ का प्रमुख सुदर्शनसिंह धामीले बताए।

सीमा सर्वेको काम प्रभावकारी भएको दुबै देशका अधिकारीले बताएका थिए। तर कैलालीको काला कुन्डा, कुसुम घाट र फुलवारीस्थित मोहना नदीको दक्षिणी क्षेत्रमा सीमा विवादका कारण कुनै काम हुन सकेन। त्यस्तै कञ्चनपुरको डोकेबजार भन्दा पश्चिमी क्षेत्रमा सीमा विवाद अन्त्यको कुनै पहल भएन। कैलालीको ७०० सीमा स्तम्भदेखि कञ्चनपुरको ८११ सीमा स्तम्भसम्म अध्ययन भए पनि विवादित क्षेत्रहरूमा भने सिमा सर्वे टोलिले विवाद निरुपणका लागि कुनै पहल गरेन।  

अवरोध अन्त्यका लागि पहल गर्ने प्रशासनको आश्वास

जिल्ला प्रशासन कर्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले पटक पटक सीमा क्षेत्रमा हुने अवरोध अन्त्यका लागि पहल गर्ने बताएका छन्। ‘नेपाली पक्षसँग समन्वय नगरेरै कुनै काम गर्न पाइँदैन,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने।’ यस विषयमा नेपाल-भारत सीमा बैठकमा कुरा उठाउने छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.