स्थानीय बासिन्दा भन्छन्- अनियन्त्रित ढंगले चलाउन बन्द गरियोस्

|

विराटनगर : सुन्दर हरैंचा ३ को इन्द्रपुर बोर्डिङ स्कुलमा अध्ययनरत ११ वर्षीया लक्ष्मी ढकालको मृत्युपछि गाउँ नै शोकमग्न बनेको छ। माघ ५ गते उनका बुबा चुडामणि ढकाल पनि सडक दुर्घटनामा परी घाइते थिए। खुट्टामा चोट लागेका उनलाई उपचारका लागि लैजाने तयारी हुँदै थियो। सोही समयमा छोरीको दुर्घटनामा मृत्यु भयो।

ठूलो बाबु लेखनाथ ढकालका घरमा बसेकी उनी सोमबार बिहान आफू स्कुल जाँदा टिफिनमा चटपटे बनाएर लाने सुरमा थिइन्। उनले प्याज काटिन्, धनिया काटिन्, चटपटे तयार गरिन्। त्यसपछि उनलाई आलु चिप्स किन्नु पर्ने आवश्यकता भयो। ठूलो बुबाले चिप्स किन्न दिएको २० रुपैयाँ लिएर सडक पारिको पसल गइन् तर उनी फर्केर आउन सकिनन्। उनकी ठूली आमा पवित्रा ढकालले छोरी सडकमा लडिरहेको देखिन्। कुदेर हेर्न पुग्दा उनको मृत्यु भइसकेको थियो। 

आमा विदेश जाने भनेर हिंडेको लामो समय भयो। हाल कुनै सम्पर्क नभएको उनकी ठूलो आमा पवित्राको भनाइ छ। बुबा चुडामणी ढकाल गत माघ ५ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए। उनको पनि नोबेल अस्पतालमा उपचारका लागि सोमबार नै ल्याइएको छ। 

ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले ७ वटा ट्रिपरमा आगजनी गरेका छन्। ढकाललाई बिहान ८ः४० को समयमा बाटो पार गर्ने क्रममा ट्रिपरले ठक्कर दिएको थियो। विराटचोक-विराटनगर सडक खण्डमा पर्ने बेलेपुरनजिक सिसौगाछीमा बालिकालाई ठक्कर दिएर ट्रिपर भागेपछि स्थानीय आक्रोशित भएका थिए। सो ना ३ ख ३३५५ नम्बरको सो ट्रिपर बेलेपुरमा सडक छेउका रुखमा ठोक्किएपछि स्थानीयले पेट्रोल छर्केर आगजनी गरेका थिए। त्यसपछि हजारौं स्थानीयले सडक नियन्त्रणमा लिएर सडकमा गुड्दै आएका ट्रिपरमा आगजनी गरेका हुन्। उनीहरूले सडकमा प्रदर्शनसमेत गरेका थिए।

विराटचोक पश्चिम सलकपुर र गोठगाउँमा पनि स्थानीयले सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए। स्थानीयले दुर्घटनास्थल वरपर आइपुगेका को १ ख ५८३३, को १ ख ५६८४, को १ ख ६५६३, को १ ख ५४०७ र ना ३ ख ४५८७ नम्बरको ट्रिपरमा आगजनी गरेको मोरङ प्रहरीले जनाएको छ। आगोले जलेको अर्को एउटा ट्रिपरको भने नम्बर पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। तीब्र गतिमा गुड्ने ट्रिपरका कारण दुर्घटना बढेको र सडकसमेत नराम्ररी भत्किएको भन्दै स्थानीयले सो सडकमा ट्रिपर बन्द गर्नुपर्ने माग गर्दै आएका छन्। 

बालिकको मृत्युपछि उनीहरूले घटनाको छानविन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै सडकमै शव राखेर प्रदर्शन गरे। मोरङको चिसाङ खोला, केरावारीस्थित खदम खोला लगायत स्थानीय खोला र क्रसर उद्योगबाट ढुंगा, गिटी र बालुवा लोड गरेर आउँदै गरेका ट्रिपरहरू आगजनीमा परेका छन्।विराटनगरको पुष्पलाल चोकबाट २६ किलोमिटरको दूरीमा रहेको विराटचोक सडकखण्ड भएर अधिक ट्रिपर चल्ने गर्छ।

दुर्घटना गराएर फरार भएको ट्रिपर चालकलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। ट्रिपर भने सुनसरी दुहवीका गोपाल साहको भएको प्रहरीले जनाएको छ। घटनामा जलेका अन्य ट्रिपर भने इटहरीका क्रसर व्यवसायी भीम पौडेलको पाथिभरा ढुवानी सेवाका हुन्। एउटा ट्रिपर केरावारीका गोपाल कार्कीको स्वामित्वमा रहेको बताइएको छ।

दुर्घटनापछि उत्पन्न असहज परिस्थितिलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटचोकदेखि बेलेपुरसम्मको तीन किलोमिटर क्षेत्रलाई प्रदर्शन गर्न नदिने उद्देश्यले निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

ट्रिपरमा रोक लगाउन माग

ट्रिपरले ठक्कर दिएर बालिकाको मृत्यु भएपछि स्थानीयले उक्त सडकमा ट्रिपर कुद्न नदिने बताएका छन्। यसअघि पनि सर्वसाधारणले सो सडक साँघुरो रहेको र अत्याधिक विद्यालय तथा बालबालिकाको चाप हुने भएको कारण ट्रिपर संचालनमा रोक लगाउन माग गर्दै आएका थिए। ट्रिपरकै कारण त्यस ठाउँमा दर्जनौं दुर्घटना भएको उनीहरूको भनाइ छ।

सोही ठाउँका निशान्त चापागाईंलाई पनि ट्रिपरले ठक्कर दिएको थियो। ठक्करपछि घाइते उनलाई तत्कालै ट्रिपर ब्याक गरेर ४ वर्ष अगाडि मारिएको स्थानीय बताउँछन्। त्यसयता त्यहाँका सर्वसाधारणले पटक पटक ट्रिपरमा रोक लगाउनु पर्ने माग गर्दै आएको स्थानीय पूर्व शिक्षक विनोदकुमार चापागाईं बताउछन्। सो बाटोमा ट्रिपरको ज्यादती खपी नसक्नुको रहेको उनी बताउँछन्।  ‘हामी पनि सवारी चलाउँछौं, तर यस्तो प्रतिस्पर्धा गरेर कुदाउँदैनौं,’ स्थानीय यातायात मजदुर कूलबहादुर दियाली भन्छन्, ‘ट्रिपरमा टिभ अनुसार पैसा पाउने भएपछि चालकले अत्याधिक गतिमा कुटाउँदा दुर्घटना हुने गरेको हो।’

बालिकाको मृत्यु भएसँगै त्यस ठाउँका महिला तथा बृद्धबृद्धा पनि ट्रिपर गुड्न नदिने बताउँछन्। स्थानीय इन्दिरा चापागाईंले आफ्ना बालबच्चा सडक वारपार गर्दा होस् या स्कुल पठाउँदा चयनले सास फेर्न नपाएको भन्दै आक्रोश व्यक्त गरिन्। ‘हामीले हाम्रा बच्चा बिहानदेखि बेलुकासम्मै चिन्तित हुन्छौं,’ उनले भनिन्, ‘ट्रिपरको अराजकताले बालबच्चालाई स्कुल पठाउन र सडक वार पार गराउँदा मुटु नै चिसो हुने गरेको छ।’

१८ फुटको बाटोमा अत्याधिक गतिका साथ ट्रिपरको प्रतिस्पर्धा हुने गरेको सोही ठाउका सर्वसाधारण रामबहादुर अधिकारी बताउँछन्। ट्रिपरकै कारण उक्त सडक विग्रिनुका साथै आसपासका सर्वसाधारण त्रसित हुने गरेका छन्।

ट्रिपरकै श्रृंखलाबद्ध दुर्घटना 

विराटचारेकदेखि विराटनगर पुष्पलाल चोकसम्मको सडकमा ट्रिपरको राज अत्याधिक चल्ने गरेको छ। ट्रिपरले साइकल चिन्दैन, अन्य सवारीसाधन देख्दैन र सर्वसाधारणलाई चरो मुसो ठान्दैन। मोरङको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार सो सडकमा चालू आर्थिक वर्षमा मात्रै ११ वटा ट्रिपरबाट दुर्घटना भएको छ भने ३ जनाको ज्यान गइसकेको छ।  ३ महिना अगाडि उदयपुरकी एक महिलाको सुन्दरहरैचा २ मा दुर्घटना भयो। स्कुटरलाई पछाडिबाट ठक्कर दिएर तीन मिटरसम्म घिसारेपछि उदयपुर रौतामाइ नगरपालिका–२ की ३५ वर्षिय गीता कटुवालको उपचारको क्रममा मृत्यु भएको थियो।

मंसिर ५ गते सुन्दरहरैचा ७ नेताचाेक स्थित ट्रिपरकै ठक्करले ग्रामथानका ६१ वर्षीय मोती साह गम्भीर घाइते भए। विराटचोकबाट विराटनगरतर्फ आइरहेको ट्रिपरले ठक्कर दिँदा साह घाइते भएका हुन्। ट्रिपरको ठक्करबाट भएका दुर्घटनाका यी पछिल्ला उदाहरण हुन्। यसअघि पनि यस्ता थुप्रै दुर्घटना भइसकेको स्थानीय गणेश प्रसाद पोखरेल बताउँछन्। 

चालु आर्थिक वर्षको कार्तिकमा सबैभन्दा बढी दुर्घटना भएको छ। कार्तिकमा तीन वटा दुर्घटना भयो। जसमा १ जनाको मृत्यु भयो भने ३ जना घाइते भएको ट्राफिक प्रहरीको अभिलेखमा उल्लेख छ। ट्रिपर देख्यो कि आफैंलाई खान आएको जस्तो लाग्ने गरेको स्थानीय इन्दिरा चापागाईको भनाइ छ। 

ट्राफिक प्रहरीका अनुसार ट्रिपर चालक कम उमेर र जीर्ण सडकमा तीव्र गतिले गैरजिम्मेवारीपूर्ण तरिकाले चलाउँदा दुर्घटना हुने गरेको छ। ट्राफिक प्रहरी प्रदेश १ कार्यालयले बिहान ९ बजेदेखि १०ः३० बजेसम्म, बेलुका ३ बजेदेखि ४ः३० बजेसम्म र शुक्रबार बिहान साविक बमोजिम बन्द, दिउँसो १२ बजेदेखि २ बजेसम्म ट्रिपर संचालनमा रोक लगाएको छ। यद्यपि सो सडकमा अझै दुर्घटना कम हुन नसकेको तथ्यांकले देखाएको छ। 

ट्रिपर रोक लगाउने तयारी

ट्रिपरले ठक्कर दिएर बालिकाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटचोकदेखि विराटनगरसम्मको सडकमा ट्रिपर संचालनमा रोक लगाउने संकेत गरेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद केसीले सर्वसाधारणले यसअघि पनि सो सडकमा ट्रिपर रोक लगाउन माग गर्दै आएको बताए। यद्यपि व्यवसायीको माग चलाउन पाउनुपर्छ भन्ने रहेको कारण समय मिलाएर छुट गरेको भए पनि बालिकाको मृत्युपछि ट्रिपर रोक लगाउने हो कि भन्ने विषयमा आफूहरू छलफल गरिरहेको उनले बताए। 

प्रजिअ केसीले शान्ति सुरक्षालाई कायम गर्नका लागि बेलेपुरदेखि विराटनचोक र सुकुना मार्गसम्म निषेधाज्ञा गरिएको भए पनि कुनै पनि बल प्रयोग नगरिएको बताए। उनले बालिकाको शव सडकबाट उठाउन सरोकारवाला पक्षसँग छलफलमा रहेको र सहमति पछि पोष्ट मार्टमको तयारी गर्ने उनले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीलाई पक्राउ गरिने भन्दै प्रजिअ केसीले धैर्य गर्न र संयमता अपनाउन सर्वसाधारणलाई आग्रह पनि गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.