|

जनकपुरधाम : धनुषामा दर्तैविनाका क्रसर उद्योगले खोलाबाट अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन् गर्दै आए पनि नियमनकारी निकाय मौन छन्। क्रसर उद्योगहरूले राज्यका नियमकानुनको धज्जी त उडाइरहेका छन् नै प्रकृतिको अन्धाधुन्द दोहन र सर्वसाधारणको स्वास्थ्यमाथि  गम्भीर असर पुर्‍याइरहेका छन्।

प्रदेश २ को प्रवेशद्वारमै रहेको जनकपुरधाम उप–महानगरपालिका स्थित बेंगाशिवपुरमा विनोद साहले गरेको सुभास क्रसर उद्योग वर्षौँदेखि नवीकरणविना नै सञ्चालनमा रहेको पाइएको छ।

धनुषा जिल्लाको पूर्वी क्षेत्र चुरेको फेदमा रहेको गणेशमान चारनाथ नगरपालिकाको तल्लो गोदारमा सञ्चालित कमला स्टोन क्रसर उद्योग नवीकरण नगरी दुई वर्षदेखि सञ्चालनमा रहेको छ। कमला स्टोन क्रसर उद्योगका सञ्चालक महादेव महतो सुडीले सञ्चालन गरेको उद्योगले वन निकुञ्ज, खोला, बस्तीबाट हुनुपर्ने दूरीको मापदण्ड पूरा गरेको छैन भने २०७३ असार मसान्तसम्म मात्र उद्योगको नवीकरण भएको छ। 

यस्तै धनुषाकै दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको नगराइन नगरपालिका ४ मा सञ्चालित कुमारी माँ गिट्टी उद्योग पनि मापदण्डविपरीत नै सञ्चालनमा छ। जोगमाया देवी झाले सञ्चालन गरेको सो क्रसर उद्योग नदी भन्दा ५०० मिटर दूरीमा हुनुपर्ने मापदण्ड उद्योगले पालना गरेको छैन भने २०६९ भदौ ११ गतेसम्म मात्र उद्योगको नवीकरण भएको छ।

यस्तै धनुषाको लबटोलीमा सञ्जय शर्माले सञ्चालन गरेको कमलामाई क्रसर उद्योग पनि मापदण्डविपरीत सञ्चालित छ। २०७३ पुस २८ गते सम्म मात्र उद्योग नवीकरण भएको भएपनि हाल सम्म निर्वाध रूपमा सञ्चालनमा रहेको पाइएको छ।

धनुषाकै मिथिला नगरपालिका अन्तर्गत चुरेको फेदमा ज्ञानकुमारी देवीले सञ्चालन गरेको क्षिरेश्वरनाथ महादेव क्रसर उद्योग पनि अवैधानिक छ। सरकारले तोकेको मापदण्ड पूरा गरेको छैन भने तर पनि निर्वाध रूपमा सञ्चालनमा रहेको पाइएको छ। धनुषाको नगराइन नगरपालिका अन्तर्गत घोडघासमा अरुणकुमार साहले सञ्चालन गरेको जय माता दी स्टोन क्रसर उद्योग पनि मापदण्डविपरीत छ भने २०७३ मंसिर ११ गतेसम्म मात्र उद्योगको नवीकरण भएको छ।

यसरी घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधामले क्रसर उद्योग मापदण्डविपरीत रहेकाले कसैको पनि दर्ता नवीकरण नगरेको प्रमुख सञ्जीवकुमार दुवेले बताए। मापदण्ड अनुसार खोला, बस्ती, वन, राजमार्गबाट हुनुपर्ने निश्चित दूरीका साथसाथै वातावरणीय परीक्षण प्रतिवेदन समेत नरहेकाले उद्योग वर्तमान मापदण्ड अनुसार नभएकै कारण नवीकरण बन्द गरिएको उनको भनाइ छ।

नयाँ मापदण्ड पूरा नगरेका क्रसर उद्योगले ढुंगा, गिट्टी, बालुवा संकलन गरिरहेकाले त्यस्ता कार्य अविलम्ब रोक्न भन्दै पत्राचार गरिएको थियो। २०७५ पुस १५ गते घरेलु कार्यालयले सबै क्रसर उद्योगलाई पत्राचार गरेको थियो। तर कार्यालयको पत्राचारलाई बेवास्ता गर्दै व्यवसायीले कामलाई जारी नै राखेका छन्।

यता नवीकरण नभए पनि उद्योगले आन्तरिक राजस्व कार्यालयमा कर बुझाउँदै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.