समाज

आधारभूत सबै सेवाबाट वञ्चित काेशीटप्पु, कुनै सरकारको गएन आँखा

माघ १५, २०७५

    उदयपुर : शिक्षा, स्वास्थ्य, विद्युत र यातायातनै आधारतभुत सरकारी सेवा हुन्। जस्तोसुकै दुर्गम मानिने बस्तीमा पनि अहिले विद्युत्, सडक, स्वास्थ्यचौकी अनि विद्यालय देख्न पाइन्छ। तर, उदयपुर र सुनसरीको सीमामा पर्ने सप्तकोशीका भँगालोले बनाएका विभिन्न टप्पु बस्तीमा यी सुविधा छैनन्।

    भौतिक पूर्वाधारहरुको सुविधा त परै जाओस्, जीवन गुजाराका लागि नभई नहुने गाँस र बासको न्यूनतम सुविधा पाउनबाट पनि वञ्चित छन्। गरिब तथा विपन्न परिवार बसोबास गर्छन्। दुवै जिल्लाको नगरपालिका क्षेत्र पर्छन्। नगरपालिका भन्न साथ शहरोन्मुख क्षेत्र मानिन्छ। 

    उदयपुरको वेलका नगरपालिका २ चिलिया टप्पुका बासिन्दालाई नगरपालिका भए पनि यो गाउँमा बिजुली, स्वच्छ खानेपानीको अभावमा वर्षौँदेखि छ। इनार र ट्युबवेलको दूषित पानी आउँछ। सडक यातायात र स्वास्थ्य तथा शिक्षाको सहज पहुँच पनि नहुँदा यहाँका बासिन्दा अभावै अभावको जीवनयापन गरिरहेका छन्।

    स्थानीय तेजबहादुर राईले सप्तकोशीको बहाव पूर्वतिर हुँदा उदयपुर र पश्चिमतिर हुदाँ जिल्ला पर्ने बताए। ‘यहाँ माझी, राई तथा तामाङ समुदायकाको बसोबास छ,’ उनले भने, चिलिया टप्पुमा खेतीयोग्य जमिन प्रशस्त भए पनि सिँचाइको सुविधा नहुँदा अन्न उत्पादन गर्न सकिँदैन। यसैगरी स्थानीय शर्मिला तामाङले भनिन्, ‘चुनावताकामा सबैले बिजुली ल्याउछौँ, खानेपानीको योजना सञ्चालन गरिदिन्छौ, सिँचाइका लागि डिप वोरिङ बनाउछौँ भनेर भोट मागे पनि अहिले कसैले दिएनन्।’

    करिब ४०० घर गरिब तथा विपन्न परिवारहरुको बसोबास रहेको चिलिया टप्पुमा विकास निर्माणका योजना सञ्चालन भएका छैनन्। चिलिया र श्रीलंका टापु उदयपुर तर्फको बस्ति वेलका नगरपालिका वडा नं २ र ९ मा पर्छ भने सुनसरीतर्फ बराहा नगरपालिकाको  ६, ७ र ९ नम्बर वडा पर्छ। सप्तकोशीको भँगालोबाट टापुहरु बनेको छ। दुवैतर्फ यसरी विभाजन भएको टापुमा १२ हजारभन्दाबढी घरधुरी छन्।

    गाउँविकास समितिका बासिन्दाबाट नगरपालिकावासी बनेका छन्। नगरबासी हुँदा समेत सर्वसाधारण शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, विद्युतुत, बजार लगायतका अति आवश्यकीय पूर्वाधारबाट पूर्णतया वञ्चित छन्। स्वास्थ्यचौकी भवन छ, स्वास्थ्यकर्मी बस्दैनन्, विद्यालय गुणस्तरीय शिक्षा छैन। सप्तकोशीको बगरमा रहेको ऐलानी जमिनबाट जीविकोपार्जन गर्नेहरू छन्। 

    पीडा छ सप्तकोशी टप्पुमा

    चारैतिरबाट सप्तकोशी नदी र त्यसको भंगालोले घेरेर बनेको टाप्पुमा विभिन्न गाँउ छ। कुनै गाँउलाई चिलिया टापु अनि श्रीलंका टप्पु नामले चिनिन्छ। यहाँका सर्वसाधरण किनमेल र ओखतीमुलो गर्न नजिकको बांगे बजार पुग्न डुंगा चढेर जाने गर्दछन्। सिसौलीघाट र राजावसामा डुंगा लाग्छ। पूर्व सुनसरीको प्रकाशपुर बजार नजाने हो भने पश्चिम उत्तर उदयपुरको बेलका नगरपालिककाको रामपुरबजार आइपुग्नु पर्छ।

    कोशीको भंगालोमा जता गएपनि ढुंगा नचढी सुखै छैन। टापुका स्थानीय रामबहादुर मगरले कोशीको बाढीले हरेक बर्खामा गर्ने कटान नरोकिँदा यो ठाउँबाट मानिसहरू बसाइँ सर्ने क्रम बढेको बताए। ‘कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै पर्ने भएकाले बथानका बथान गाउँ पसेका जंगली हात्तीले केरा, फलफूल र मकैबाली खाएर नष्ट गरिदिन्छ,’ उनले भने, ‘कोशीले दिने दुःखसँगै जंगली जनावरको सास्तीले पनि हामी हैरान भएका छौँ।’ बाटोघाटोको समेत राम्रो प्रबन्ध छैन। दैनिक रूपमा गाउँ छाडेर अन्त्र हिँडेपछि डुंगाा नचढी सुख पाइँदैन। 

    यसरी बन्यो सप्तकोशीमा टापु

    उदयपुरलाई केन्द्र विन्दु बनाएर ०४५ भदौमा गएको भूकम्पले उदयपुर र सुनसरीको सिमाना भएर बग्ने सप्तकोशीले आफ्नो धार परिर्वतन गर्दा धेरै टापु बनेको बेलका नगरपालिका २ का वडा सदस्य कुमार अधिकारी बताउँछन। ‘तपेश्वरी, प्रकाशपुर र महेन्द्रनगर गाविसलाई टापु बनाइदियो।’ उनले भने, ‘सप्तकोशीले धार परिवर्तन गर्दा बस्तीलाई टापु बनाएको हो।’

    सुनसरी र उदयपुर बीचबाट बग्ने सप्तकोशी नदीको मध्यवर्ती क्षेत्र र सुनसरीमा ठूलो मानव वस्ति छ। सप्तकोशी नदीले साबिकको बहाव छाडेर दायाँबायाँ दुवैतिर धार परिवर्तन गरेपछि चारैतिरबाट सप्तकोशीको घेराबन्दीमा परेको हुन। त्यहीँबाट  श्रीलंका, चिलिया टापुमा परिणत भएको अधिकारीको भनाइ छ।

    ०५४ सालभन्दा अघि सप्तकोशी उदयपुरको भागबाट बगेको थियो। भुकम्पपछि सुनसरीको भूभागबाट बगेपछि उदयपुरतर्फ धेरै खेतीयोग्य जमिन निस्किएको छ।

    यसो भन्छ, वेलका नगरपालिका

    वेलका नगरपालिकाका २ वडा सदस्य कुमार अधिकारी नगरपालिका, प्रदेश र संघीय सरकारले विशेष योजना निर्माण गरे सप्तकोशी टप्पु पर्यटकीय क्षेत्र बन्ने बताउँछन्। ‘नदीको ठूला ठूला भँगालाले घेरको बस्ती नेपालमा यही मात्र छ,’ उनले भने, ‘यसलाई सरकारी स्तरबाटै विशेष पहल गरे धेरै राम्रो हुने थियो।’ 

    नगरप्रमुख दुर्गाकुमार थापाले उदयपुरतर्फ पर्ने टप्पुका जग्गामा व्यवसायिक खेती गर्न लागिएको जानकारी दिए। सिँचाइ, खानेपानी र विद्युत विस्तारका लागि विभिन्न कार्यक्रम समेत सुरु गरिएको थापाको भनाइ छ। ‘सिंचाईका लागि वोरिङ जडान गर्न ५० प्रतिशत अनुदानमा ४५ लाख रकम विनियोजन गरिएको छ,’ उनले भने, ‘विद्युत विस्तारका लागि ४५ लाख रुपैयाकै खर्चमा ट्रान्फर्मर खरिद प्रक्रिया अगाडि बढिसकेकोले आउँदो असार मसान्तभित्र चिलिया टप्पुमा बिजुली पुग्छ।’

    चिलिया टापु उदयपुरतर्फ पर्छ। साविक तपेश्वरीको बान डाँडाबाट चिलिया टप्पुलाई झोलुङ्गे पुलले जोडिसकेको र गाउ भित्रका आन्तरिक सडकहरुमा तत्काल ग्राभेल गरी सडक सञ्जालले रामपुरसम्म जोड्ने गरी काम गर्न थालिएको नगरपालिकाको भनाइ छ। बेलका २, ८ र ९ समेत टप्पुमै पर्ने भएकोले ती सबै वडाहरूबाट समेत टप्पुमा बजेट छुट्याइएको नगर प्रमुख थापाले बताए। 

    नगरपालिका अनुसार उदयपुरतर्फको चिलिया टापुमा झण्डै ३८ हेक्टरभन्दा धेरै उत्पादनयोग्य जमिन बाँझो छ। त्यसको सदुपयोग गर्न नगरपालिकाकाले विशेष योजना बनाएको नगरपालिकाको दाबी छ। 

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]