|

समयको कुनै सीमा हुँदैन। अनि मृत्युको आभाष। जबसम्म यो लोक रहन्छ, हरेक पल पनि अस्तित्वमा रहन्छ नै। आखिर कहालीलाग्दो यो ब्रम्हाण्ड झैं हरेक पल विशाल समयको एक ‘अणु’ नै त हो। हरेक पलको प्रस्थानसँगै अर्को आरम्भ, एकपछि अर्को, निरन्तर। घडीको टिकटिकजस्तै। जसरी एउटा मृत्युसँगै अर्को जीवन यो संसार भोग्न बाध्य छ। हामी बाँचेको समय त भ्रम मात्रै न हो। समय त अजम्बरी छ। हामीलाई भ्रममा पारेर आफू कहिल्यै नमर्ने। तर पनि बनिरहन्छ, हरेक जन्म र मृत्युको साक्षी। बम्ह्राण्डकै जन्मदेखि मृत्युसम्म नै। कहिल्यै नथाक्ने।

आफ्नै भन्नु त आखिर प्राण मात्र न हो, शरीरले साथ छोड्दा पनि सँगै जलिजाने। समय त बेइमान हुन्छ। एकै पटक अरबौंको सपना संगालेर हिंड्ने। कति पूरा हुने, त कति मानिसको प्राणसँगै जलेर जाने, सधैं अपुरै–अधुरै। समय त बस्, मुस्कुराइ रहन्छ। हरेक क्षण। ती सब रमिता हेरेर, हजारौं सपना उजाडिएको हेरेर। हरेक विश्वास र अविश्वासले दिने चोटमा। हरेक सम्बन्धको फक्राइ र टुक्राइमा पनि। हाँसी नै रहन्छ। आफ्नो असंम्भव झैं लाग्ने अन्त्यमा रमाउँदै।

मानिस न हो, जिन्दगीमा जति आनन्दका क्षण आउँछन्। त्यति नै उदेकलाग्दा पनि। मेरो एउटै मन्त्र छ। न आनन्दका क्षणमा अति मात्तिन्छु, न त उदेकका पलमा निकै आत्तिन्छु। त्यसैले मैले जल्न थालेका लासहरू निकै देखेको छु। ती लासहरूमध्ये कति जल्दा आफैंलाई दुख लाग्यो त कति जल्दा अफसोचसमेत भएन। कहिले आफैं जले झैं लाग्यो, कहिले राखसँगै बगे झैं जस्तो पनि लाग्यो। कहिले ढल बगे झैं जस्तो पनि लाग्यो। मेरो शरीरबाट एउटा घाउ निको भए झैं। यस्तै बेला मनमा लाग्छ, म जति नरम छुँ, त्यति नै कठोर पनि रहेछु। लाग्छ, आखिर मेरो नियति पनि त्यही हो। आखिर एकदिन जल्नकै लागि जन्मिएका न हौं। सत्य त्यही हो। उ जल्छ त म पनि जल्नै पर्छ। अनि किन लोभ? अनि किन लालच? मेरो मनमा मात्र लागेर संसार बद्लिने पनि होइन नि, आखिर। यस्तै सोचले सधैं चुप रहन बाध्य तुल्याउँछ। अनि आफू पनि सहभागी भइन्छ, त्यस्तै खेलमा। समयको खेल नै अजीवको हुनेरहेछ।

समयका अनेकौं ताण्डवबीच पिताको मृत्यु जीवनमा सबैभन्दा कठोर पलका रुपमा आयो। तर, सहनसक्नु पर्दो रहेछ। सम्झना त हराउँदै गइहाल्दो रहेछ। बाल्यवस्थामा मेरा नरम हातलाई कति सहलाए होलान्? मेरा पिताले जानेर–नजानेर। त्यसपछि मेरा जिद्दीहरूलाई कति सहे होलान्? मेरा कति गल्तीलाई नदेखे झैं गरे होलान्? देखेर पनि। हुनत उनी मर्दा पनि मैले गाला सुम्सुमाए, हात सुम्सुमाए। तर, अति कडा हुँदा रहेछन्, मरेका छालाहरू। दाह्रीभन्दा पनि पनि कडा। अनि पो उनको लास नजिक पनि उनको सामिप्यता महसुस गर्न सकिन। आखिर १३ दिन ‘भेन्टिलेटर’ मा राखेर निकालियो थियो, त्यो लास। त्यो १३ दिन हाम्रा लागि उनको बिदाइ गर्ने वातावरण तयार पार्न पर्याप्त रह्यो। त्यसैले होला, आर्यघाटमा पनि म त्यति रोइन। उनी जल्दा पनि म रोइन। जसरी मेरी आमा पनि रोइनन्। अरुलाई बाल मतलब, त्यो मृत्युको। मलाई कठोरतम् बनाउन पर्याप्त बन्यो, त्यो १३ दिन। समय न हो, बेइमान। 

समुद्रले पनि किनारामा ठोक्किंदा आफ्नो आगमनका केही चिनो छाड्छ नै। फूलले पनि मुर्झाउनुअघि आफू फुलेको आभाष दिन्छ नै। मुस्कानसहित। तर त्यसको विपरीत, आँधीले आफ्नो कठोर आगमनको डोब छाड्दा अनेकौं मन रुवाएकै हुन्छ। भूकम्पले पनि हृदयलाई चिराचिरा पार्ने सम्झना दिएकै हुन्छ। त्यही भएर होला हरेक आगमन र प्रस्थानको चिनो फरक रहन्छ।

समय त वास्तवमै हुनेरहेछ, बेइमान। मेरा पितालाई जिन्दगीभर दुःख दिने, अदालतमा पेशीको पेचमा फसाउने सहोदर काकाको लासलाई पनि बोक्नुपर्‍यो। मलाई आफैंलाई आफैंसँग त्यो पलजति घृणा कहिल्यै जागेको थिएन। थुक्क म! धिक्कार म! मेरा पितालाई जिन्दगीभर रुवाएको लास मैले बोक्नु पर्‍यो। यही ढोंगी समाजको करले। वास्तवमा भन्ने हो भने म त्यस्तो मृत्युहरू पनि चाहन्छु। जसले कसैको आत्मालाई रुवाएको होस्। मेरा प्रियको आत्मालाई। तर गर्नु, हरेक रातको झप्काइसँगै सम्झना कमजोर बन्छन्। समय न हो, जीवनको गाडी फेरि आफ्नै तालमा हुँइकिनु नै पर्छ। त्यस्ता पिताको मृत्युसमेत सहज लाग्दै जान्छ, त्यस्ता काकाको मृत्यु पनि बिर्सनु पर्छ। अनि किन नलागोस् त अरू मृत्यु पनि सहज! समयको खेल न हो!

मानिस भएर जन्मिएपछि जीवनलाई अनेकौं प्रहार र अवस्थामा बाँच्न सिक्नु पर्दोरहेछ। कहीले काहीँ अरुको मन जलाएर पनि, भत्काएरपनि। आखिर त्यही यक्षप्रश्नको सेरोफेरोमै रुमल्लिंदा रुमल्लिदैं पंचतत्वमा विलीन पनि हुनैपर्छ। तर, समय आफ्नै तालमा बगी नै रहन्छ। जसरी मेरा पिता–पुर्खाको अस्तित्वविलीन हुँदै गयो, समयसँगै। मेरो र मेरा पुस्ताको पनि हुने नै छ, एक–एक गरेर। तब पनि यो लोकमा जिन्दगी त चलिरहने नै छन्। समय त बगिरहने नै छ। 

पशुपतिको बागमती पारी बसेर एकछिन गम्ने हो भने जीवनलाई हरेकले बुझेँ झैं गर्छन्, म जस्तै– पारी जलिरहेका लास हेरेर। अबुझहरू! कसैको मलामीमा जाँदा मृत्यु नै सत्य हो भनेर अनेकौं गफ हाँकिन्छ। लोभ र पापलाई व्यर्थ मानिन्छ। तर, लास जतिजति खरानी बन्दैजान्छ। हामीलाई कतै जाने हतारो बढ्दै जान्छ। अनि फर्कनुपर्छ, उही जालझेलको संसारमा। मनमा बढ्दै जाने लोभ र पापसँगै। फेरि पलाउँदैनन् त्यस्ता सोचहरू मनमा, अर्को मलामी नगएसम्म। यस्तै नै हुन्छ, समयको आलाप। जहाँ एउटा चितासँगै एउटाको समय टुंगिन्छ, सपनाको महल भत्कन्छ। कतै अर्कैको जन्मसँगै अर्कोको समय सुरु हुन्छ। अनि खोस्रिन थालिन्छ फेरि एउटा नयाँ सपनाको जग। यसरी हुन्छ, एउटा जलेको सपनासँगै अर्को सपनाको उदय। जसरी हुन्छ, एउटा अन्ध्यारो पलको समाप्तिसँगै उज्यालो पलको सुरुवात। त्यसरी नै, जसरी भर्खरै एउटा छाल किनारामा ठोकिएर फर्कन नपाउँदै अर्को छाल त्यही किनारामा ठोकिने प्रतिक्षामा रहन्छ। 

मेरो हकमा। जिन्दगीको घडीले आधा शताब्दी ठोक्न केही वर्ष बाँकी नै छ। तर, यही अवधिमा निकै अनुभव संगाल्ने मौका पाएको छुँ। मलाई चिन्ने, मेरा एकाध लेखाइ पढेकालाई थाहा छ। म मृत्युलाई जितेर फर्किएको हुँ। त्यो जितमा घमण्ड छैन। दुख पनि छैन, भव्य रमाइलो पनि छैन। 

समुद्रले पनि किनारामा ठोक्किंदा आफ्नो आगमनका केही चिनो छाड्छ नै। फूलले पनि मुर्झाउनुअघि आफू फुलेको आभाष दिन्छ नै। मुस्कानसहित। तर त्यसको विपरीत, आँधीले आफ्नो कठोर आगमनको डोब छाड्दा अनेकौं मन रुवाएकै हुन्छ। भूकम्पले पनि हृदयलाई चिराचिरा पार्ने सम्झना दिएकै हुन्छ। त्यही भएर होला हरेक आगमन र प्रस्थानको चिनो फरक रहन्छ। सम्झना फरक रहन्छ। कुनै निकै आनन्ददायक त कुनै अति पिडादायक। तर, छल गरेर आएको मृत्युले भने असंख्य आँखा रसिलो बनाएर नै फर्कन्छ। तर, दोमन लिएर आएको मृत्युले न त आँसुका बबन्डर खडा गर्न सक्छ न त मुस्कानको पहाड नै। बस जिउँदा लासहरूको पहाड मात्र खडा गर्छ। समयले झैं।

जीवनमा दुई–चार पटक मृत्युलाई अंगालो मारियो। मेरो मृत्युले आगमनको कुनै संकेत गरेन। त्यसैले मैले उसलाई स्विकार पनि गरिन। बिन्दास म! आखिर मेरो संसार र बुन्न बाँकी अनेकौं सपना त सग्लै थिए नि। छन् पनि। भर्खर हाँस्न सिकेको छोरा अनि जीवनका अनेकौं सपना संगालेकी छोरी। मेरो असमायिक निधनका लागि तयार पनि थिएनन्, ती मन र आँखाहरू। उनीहरूको सपनामा मैले पनि अंकुसी गाँस्न त बाँकी नै थियो नि। त्यसैले मैले मृत्युलाई जित्नु नै थियो। जितियो तर, यसले दिएर गएका पीडादायक डोबहरू अहिले पनि छातीमा टाँसिएकै छन्। दुई मुलुकको सीमा झैं। दुई छातीबीचको भँगालो बनेर। सिनेम्याटिक भाषामा मेरा ‘क्लिभेज’। सीधा भाषामा ‘हर्ट बाइपास’ पछिका डोब।

त्यसबेला नमरेर घर फर्कंदा मैले खुशीका असीमित छालहरू मेरा छोरी र छोराका बाहेक कसैको आँखामा देखिन। आमाको आँखा त सन्तानका लागि सधैं रसाइ नै रहेका हुन्छन्। के भन्नु र खै। मेरी आमाको पनि रसाएको नै थियो। आमाको माया बराबर सागरको गहिराइ पृथ्वीमा छैन भन्ने यकिन हुन्छ नै त्यस्ता क्षणमा। जो आमा केही दिनअघि मात्र पति वियोग सहन बाध्य भएकी थिइन्। छोरा मर्छ वा बाँच्छ भन्ने द्विविधा पाल्दा कति पोल्दो हो, त्यो आमाको मन। अनि जीवनका स्वर्णिम कथा रच्दै गरेका सन्तानका आँखामा कति डुबुल्की मार्दा हुन्, अकल्पनीय त्रासले। कल्पना गर्न पनि कठिन हुन्छ। जसरी आकाश नाप्न सकिंदैन, त्यसरी नै आमा र सन्तानका मन पनि नाप्न सकिंदैन। कहाँ के लुकेको छ। थाहा पनि नहुने। समयसँगै गाँसिएका नाता त मानिसको आभासँगै फरक हुँदोरहेछ।

मेरा छोरी र छोरामा १० वर्षको अन्तर छ। अहिले हेर्दा लाग्छ। एउटाको आँखा आफ्नै भविष्यको सपना बुन्नमा व्यस्त छ। अर्कोलाई न भविष्यको गहिराइको वास्ता छ, न त भविष्यमा आइलाग्ने पीडाका पहाडको ज्ञान। म जस्तै बेकाबु, बिन्दास। बीना लगामको बाइपंखी घोडा झैं। कुनै समयमा मेरा बाबाले मेरो भविष्य आफ्ना आँखामा बुने। त्यसरी नै आज म बुन्दैछुँ, मेरा सन्तानका लागि। एउटा न्यानो सपना। 

मायाको अनुभूति नजिक हुनुमा जति हुन्छ टाढा हुँदा त्यति नै बढ्छ पनि। बाबाको सामीप्यमा म जति लुटपुटिन्थ्ये। आज त्यसरी नै उनीहरू मेरो सामिप्यमा लुट्पुटिन्छन्। हिजो मृत्युको मुखमा पुग्दा समेत हाँसेको यो ज्यान अहिले त कमजोर संवेदनामा पनि बहकिदिन्छ। समयले मानिसको विश्वासलाई पनि कमजोर बनाउँदै जाँदो रहेछ, शरीरलाई झैं। तर पनि, मर्नलाई पनि समयले साथ दिनु पर्छ। मलाई अकाल मृत्यु त्यसैले कहिल्यै स्विकार्य हुनेवाला थिएन र छैन पनि।

जबसम्म मनमा अठोट बाँचिरहन्छ तबसम्म कुनै रोगले मार्न सक्दैन। सबैभन्दा ठूलो सत्य भनेको बाँच्ने रहरलाई मर्न नदिनु नै रहेछ। जबसम्म मनमा मर्ने मनसायले जरो गाड्दैन तबसम्म मरिँदैन

के हावा अनि पानीको आयु हुन्छ? अनि के समय कसैको बन्धनमा बस्छ? जवाफ जति सहज लाग्छन्। गहिरिंदै जाँदा त्यति नै असीमित जालोको पासोमा फस्दै गइँदो रहेछ। म समय होइन तर समयलाई पासोमा पार्ने निकै कसरत गरियो। समय मसँगै हारेको अनेकौं भ्रम पनि पालियो। तर, मेरा भ्रमहरू सबै खोक्रा रहेछन्। जब लोभ जाग्न थाल्छ, तब मानिस कमजोर बन्छ। मेरो मनमा लोभ जाग्न थालेको छ। बाँच्ने लोभ, समयलाई वशमा पार्ने लोभ। जीवनमा यही नै अन्तिम कमजोरी नबनोस्, त्यता पनि सचेत नै छुँ।

तर पनि,एउटा कुरा प्रष्ट छ। जबसम्म मनमा अठोट बाँचिरहन्छ तबसम्म कुनै रोगले मार्न सक्दैन। सबैभन्दा ठूलो सत्य भनेको बाँच्ने रहरलाई मर्न नदिनु नै रहेछ। जबसम्म मनमा मर्ने मनसायले जरो गाड्दैन तबसम्म मरिंदैन भन्ने जस्तो पनि लाग्छ, आजकाल। समयलाई पनि झुक्याउनसक्ने बहाना तयार पार्न सकिन्छ कि? जस्तो भ्रम पनि पलाउँछ, यस्ता सोचपछि। कति अर्थमा यो बाँच्नका लागि सकारात्मक पक्ष पनि बनिदिन्छ। मेरो अनुभवले त यही भन्छ। तर, घमण्ड गरेर होइन। मुस्कुराएर भन्नु पर्दा आखिर अनुभव भनेको त बाँच्ने कै त काम लाग्ने हो, मरेर गएकाले कहाँ बाँड्न सक्लान् र यस्ता अनुभव। मरेर गएकाको त कागजी ‘थ्योरी’ मात्र काम लाग्छ। 

मनमा सधैं एउटै कुरो खड्कन्छ। मृत्यु एकमात्र सत्य हो। समय बेइमान। थाहा पाउँदा–पाउँदै पनि अनि आफैं हरेक पक्षबाट सबल हुँदा–हुँदै अरूसँग सद्भावको आशा किन पलाउँछ? सहयोगको अपेक्षा किन जगाउँछ? आफ्नै मन सगरभन्दा विशाल हुँदा हुँदै अरु मनमा बस्ने चाहना किन गर्छ? अनि त्यही एकमात्र सत्यसँग अंगीकार त हुनै छ, त्यही पनि मनमा किन कसैप्रति अति नै घृणा जगाउँछ, अति माया जगाउँछ? जताततै सम्बन्धमा मिठास खोजिरहन्छ? सधैं अतृप्त बनाउने यस्ता प्रश्नका जवाफहरूले मनलाई हुँडलिरहथ्यो, रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.