|

सल्यान : जिल्लाको एक माध्यमिक विद्यालयमा विगत चार महिनादेखि तीन विषयको अध्ययन अध्यापन नभएको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्।  जिल्लाको कुमाख गाउँपालिकामा रहेको बुद्घजनकल्याण माध्यमिक विद्यालय विगत चार महिना यता विषयगत शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन्। 

कात्तिक महिनादेखि यता कक्षा ९ र कक्षा १० को विज्ञान विषयको पढाई ठप्प हुंदा पठनपाठनमा समस्या भएको कक्षा १० मा अध्ययनरत छात्र विनोद बुढाथोकीले बताए। चार महिना वितिसक्दा समेत शिक्षकको पदपूर्ति नहुँदा  विज्ञान विषयको कोर्ष अधुरै रहेको उनले गुनासो गरेका छन्। चार महिना वितिसक्दा पनि विज्ञान जस्तो विषय पढाई नभएका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको उनले बताए। यस्तै ८ कक्षाको विज्ञान,गणित र पेशा व्यवसाय विषयको कोर्ष पनि चार महिनादेखि  बन्द भएको कक्षा ८ मा अध्ययनरत छात्र दीपक केसीले जानकारी दिएका छन्।

विगत चार महिनादेखि शिक्षक सरुवा भएर गएको र कोही घर विदामा गएका शिक्षक पनि नफर्किएपछि ती विषयको अध्यन गर्न समस्या भएको उनले गुनासो गरेका छन्। वार्षिक परीक्षा आउन केही महिनामात्रै बाँकी छँदा समेत विद्यालयमा विषयगत शिक्षकको विकल्प नगरेको भन्दै तालाबन्दी गर्नु परेको कक्षा ९ मा अध्यनरत छात्र युवराज खड्काले जानकारी दिएका छन्।

खड्काले भने,‘हामीले विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिसँग पटक पटक पढाई संचालन गर्न शिक्षकको माग गर्‍याे। तर अहिलेसम्म पनि सुनुवाई भएन। हामीले पढ्न पाउने अधिकारबाटै वन्चित हुनुपर्दा समेत कसैले वास्ता गरेन। त्यसैले बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नु परेको हो।’ विद्यालयमा तत्काल शिक्षकको पदपूर्ति गर्नु पर्ने र नियमित सबै विषयको कक्षा संचालन गर्ने लिखित सहमति नहुँदासम्म तालाबन्दी नखोलिने लगायतका ९ बुँदे माग आफूहरूको रहेको खड्काले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.