|

काठमाडौं : राष्ट्रिय नाचघर जमलको मिनि प्रेक्षालय। हलभरी दर्शक। मञ्चको दाहिने छेउमा बसेर कविको कविता वाचन। तिनै कविताहरूमाथि सांस्कृतिक संस्थानका कलाकारहरूको हुरुक्क पार्ने अभिनय। अभिनय हेरेर आँसु चुहाउँदै गर्ने दर्शकहरूमा थपिएका थिए नायक सरोज खनाल पनि। मंगलबार राष्ट्रिय नाचघर जमलमा देखिएको दृश्य हो यो। कविता वाचनमा थिए कवि जीवन खत्री।

सांस्कृतिक संस्थान, एम आर्ट थिएटर र श्री लुनकरणदास-गंगादेवी चौधरी साहित्य कला मन्दिरको संयुक्त आयोजनामा हरेक महिनाको १५ गते कविता र नाटकलाई जोड्ने कार्यक्रम काव्याङ्कुर सांस्कृतिक संस्थानमा हुने गर्छ। यस पटकको सातौँ श्रृङ्खला अन्तर्गत जीवन खत्रीका ८ कविता नाट्य मञ्चन भए।

'जन्मदिन' नामक कविता मञ्चन पश्चात सुरुवात भएको कार्यक्रममा क्रमश 'समय - तीन चक्र', 'भीरफूल', 'चेतनाको विरुवा', 'आमाको पटुका', 'गाउँकी मुना', 'क‍ोपरा कि पूजाको थाली' र 'होली' गरेर आठ वटा कविता मञ्चन भए। रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा माला आर्ट थिएटरका एक दर्जन बढी कलाकारहरूले कवितामा अभिनय गरेका हुन्।

मञ्चन गरिएको कवितामध्ये ‘गाउँकी मुना’ 'आमाको पटुका' कविताले आफूलाई गहिरोसँग छोएको कुरा कार्यक्रममा उपस्थित नायक सरोज खनालले बताए। उनले भने, 'जीवन खत्रीका सुन्दर कविताहरू सुनेपछि उनका कवितामा अभिनय गर्न मन लागेको छ।' त्यस्तै कवि तथा निर्देशक राजेन्द्र सलभले यो कार्यक्रम उच्च कोटीको भन्दै प्रशंसा गरे।

कार्यक्रममा कवि, निर्देशक तथा कलाकारलाई धन्यवाद ज्ञापन सहीत प्रमाणपत्र समेत प्रदान गरीएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.