|

काठमाडौं : पुस ६ गते दाङ-सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर ३ राम्री र हरनेटीको बीच भागमा पर्ने घुम्तीमा विद्यार्थी बोकेको बस दुर्घटना भयो। दुर्घटनामा परी १६ जनाले ज्यान गुमाए। दर्जन घाइते भए।

सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गरेको बा ४ ख ९७६६ नंम्बरको बस सडकबाट झन्डै आठ सय मिटर तल खसेको थियो। त्यसको ठीक एक महिनाअघि मंसिर ६ गते डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना पर्‍यो।

उक्त दुर्घटनामा समेत १६ जनाले नै ज्यान गुमाए। डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको थियो।

यी केही उदाहरणमा मात्र हुन्। सातै प्रदेशका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्ला छ महिनायता मात्रै देशका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी एक हजार ६ सय ६१ सवारी दुर्घटना भएका छन्। जसमा ज्यान गुमाउनेहरुको संख्या एक हजार एक सय भन्दा बढी रहेको ट्राफिक कार्यालयको तथ्यांक रहेको छ।

सबैभन्दा बढी दुर्घटना उपत्यकामा

ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांकअनुसार सबैभन्दा बढी सवारी दुर्घटना उपत्यकामा हुने गरेको छ। उपत्यकामा पछिल्लो एक महिनामा नौ सय ७५ साना ठूला सवारी दुर्घटना भएको महाशाखाको तथ्यांक छ।

यसैगरी प्रदेश अनुसार सबैभन्दा बढी दुर्घटना हुनेमा प्रदेश १ रहेको छ। प्रदेश १ मा १२५ दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्यांक रहेको छ। त्यसैगरी सबैभन्दा कम दुर्घटना हुनेमा प्रदेश ६ रहेको छ। प्रदेश ट्राफिक कार्यालय सुर्खेतका अनुसार ६ नम्बर प्रदेशमा एक महिनामा १८ सवारीमात्रै दुर्घटना भएको तथ्यांक रहेको छ।

यसरीनै प्रदेश २ मा १०७, प्रदेश ३ मा ६९, गण्डकीमा ५२,  ५ मा १२३ र सुदूरपश्चिम प्रदेशमा २३ सवारी दुर्घटना भएको तथ्यांक रहेको छ। यसरी दुर्घटना हुनेमा अधिकांश साना सवारीसाधन रहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ।

दुर्घटना न्यूनिकरण गर्न यस्तो छ ट्राफिक प्रहरीको प्रयास

ट्राफिक प्रहरीका अनुसार चालकको लापरबाहीले सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको छ। सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी निर्देशनालयले देशभरी नै 'चालकसँग ट्राफिक प्रहरी एक मिनेट' कार्यक्रम चलाएको छ।

यस अन्तरर्गत सवारी चालहरूलाई ट्राफिक प्रहरीले एक मिनेट सवारी साधन रोकेर सवारी चलाउँदा ध्यान दिनु पर्ने आधारभूत ज्ञान सिकाउने गरेको ट्राफिक निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी)  पूर्णचन्द्र जोशीले जानकारी दिए।

त्यसैगरी लेन अवधारणा अनुसार सवारी नचलाउनु, अनुभवी चालक नहुनु, मादक पदार्थ सेवन गरी चलाउनु र ट्राफिक नियम पालना नगर्नाले दुर्घटना हुने गरेको भन्दै डिआइजी जोशीले उपत्यका र देशभरी नै ट्राफिक नियम पालना गर्न कडाइ गरिएको बताए। 

यस्तै लामो रूटका सवारीसाधनहरुमा अनिवार्य दुईजना चालकको व्यवस्थासमेत गरेको ट्राफिक प्रहरीको भनाइ छ। कतिपय सडकमा भएका खाल्डाखुल्डीले समेत सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.