पूरा हुँदै डाक्टर केसीको माग

|

उदयपुर : उदयपुरमा एक सरकारी मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन गरिएको छ। उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिकाको खुल्ला जग्गामा कलेज स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बनेको सरकारी कार्यदलले सम्भाव्यता अध्ययन गरेको हो।

डाक्टर गोविन्द केसीको १५ औँ अनशनकै क्रममा सरकारसँग सम्झौताअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बनेको सरकारी कार्यदलले दुई दिनदेखि त्रियुगा नगरपालिका कटारी क्षेत्रको स्थलगत सम्भाव्यता अध्ययन सुरु गरेको। स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीले जानकारी दिए। ‘कटारी र त्रियुगा क्षेत्रमा  तीन दिनसम्म लगाएर सम्भाव्यता अध्ययन गरिएको छ,’ उनले भने, ‘जग्गा चाहिँ सबैतिर उपयुक्त छ।’

कार्यदलमा शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्र र विश्व विद्यालय अनुदान आयोगका योजना अधिकृत विनोद भट्टराईसहित दुवै नगरपालिकाका जनप्रतिनिधिहरूको उपस्थिति थियो। टोलीले दुवै नगरपालिकामा नगरपालिकाभित्र जग्गाको उपलब्धता, जनसंख्या र स्वास्थ्य, बिरामीको चापबारे दलका नेता, जनप्रतिनिधि र अन्य व्यक्तिसँग छलफल गरेको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर दर्नालले जानकारी दिए।

अध्ययन टोलीले हेर्‍यो यी जग्गा

कार्यदलको टोलीले त्रियुगा नगरपालिका–१३ को भातिखकस्थित विद्यालयको जग्गा, १२ को विशनपुर मुनीको ऐलानी जग्गा, वडा नम्बर ३ स्थित चापको जोरपोखरी सामुदायिक वन उपभोक्ता समूहको जग्गा, वडा नम्बर ४ को जनज्योति जोरपोखरीको फर्स्योट खोला नजिकको पिकनिक स्पोर्ट र वडा ८ र ९ को उत्तराई टोलको विमानस्थलको लागि सर्भे गरिएको जग्गा हेरेको जिल्ला समन्वय समितिले जानकारी दिइको छ। यसैगरी त्रियुगामै पर्ने वडा नं. ११ को ढिम्की पिकनिक स्पोर्टस, १० को सिमल्टार र जिल्ला अस्पताल परिसरको जग्गाको पनि अध्ययन गरेको छ।

प्राध्यापक सुवेदीको नेतृत्वमा, शिक्षा मन्त्रालयका उपसचिव मिश्र र विश्व विद्यालय अनुदान आयोगका भट्टराईको टोलीले सोमबार कटारी नगरपालिकाको विभिन्न स्थानहरुको स्थलगत अध्ययन गरेको छ। विज्ञको टोलीले कटारी नगरपालिकाको वडा नम्बर ४ को जहडी क्षेत्रमा नगरपालिकाको भवन निर्माण गर्ने भनिएको जग्गा, कटारी नगरपालिकाकै वडा नम्बर ५ को गैडा आहाल, वडा नम्बर ३ को ताराघारी क्षेत्र र वडा नम्बर २ को मारुती सिमेन्टको चुनढुंगा भण्डार गरेको स्थान आसपासको क्षेत्रको अध्ययन गरेको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। ‘जग्गाको लागि कटारी नगरपालिकाका उपयुक्त भएको टोलीको भनाइ छ,’ उनले भने, ‘कटारी नगरपालिकाको तेस्रो नगरसभाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापनाको लागि कटारी नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।’

६ वटा जिल्लालाई छोएको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापना हुने हो भने धेरै सर्वसाधारणले सेवा पाउनेछन्। नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी मन्जु चौधरीले उदयपुरमा एउटा मेडिकल कलेज स्थापना गर्नको लागि अध्ययन टोलीलाई ल्याइएको बताईन। ‘मेडिकल कलेजको लागि २५ देखि ३५ विगाहा जग्गा आवश्यक पर्ने भएकाले जग्गाको उपलब्धता चाहिन्छ,’ उनले भनिन, ‘मुख्य सडकदेखिको पहुँचको बारेमा टोलीले अध्ययन गरेको गरेको छ।’

उदयपुरसँगै जोडिएका खोटाङ, ओखलढुंगा, सोलु, भोजपुर, सुनसरी, संखुवासभा र प्रदेशनं २ का सिरहा, सप्तरी, धनुषा र प्रदेश ३ को सिन्धुली र रामेछापवासीलाई समेत लक्षित गरी प्राथामिकीकरण दिने स्थापना गर्नुपर्ने बताइन्।

डाक्टर केसीको माग पूरा हुँदै

सरकारले डा गोविन्द केसीको १५ औ अनशनको क्रममा गरेको सम्झौताअनुसार उदयपुरमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्न सम्‍भाव्यता अध्ययन गरेको कार्यदलका सदस्‍यसचिव तथा शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्रले बताए। ‘अनशनरत डाक्टर केसीको मागमा सरकारले गरेको सम्झौताअनुसार सरकारी मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन गरिएको हो,’ उनले भने, ‘सरकारले इलाम, पाँचथर मध्ये एक स्थानमा, डडेल्धुरा, डोटीमध्ये एक र उदयपुरमा एक गरी पाँच जिल्लाको तीन स्थानमा सम्भाव्यता अध्ययन गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.