|

रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको ७ साँखमा बुधबार दिउँसो लागेको स्थानीय पापीनी मेलामा रुकुम पश्चिमका सरकारी कार्यालयका सवासीसाधन दुरुपयोग भएको पाइएको छ।

सरकारी कार्यालयको नाममा रहेका गाडी तथा मोटरसाइकलहरू अनुमतिबिनै मेलामा रमाउन र मेलामा जाने आफन्तलाई ओसारपसार गराएको पाइएको हो। अन्य बेला पनि सरकारी गाडीहरू व्‍यक्तिगत प्रयोजनामा प्रयोग भइरहेको खबर बाहिर आउने गरेको भए पनि बुधबार भने दर्जनौँ सरकारी गाडी र मोटरसाइल मेला परिसरमा देखिएपछि मेला भर्न गएका स्थानीय पनि चकित परे।

सरकारी गाडी लिएर मेला जानेमा मुसिकोट नगरपालिकाका कर्मचारी र जनप्रतिनिति पनि रहेका छन्। मुसिकोट नगरपालिकाको रा १ झ १२९ नम्बरको गाडी लिएर नै कर्मचारी तथा जनप्रतिधि मेला भर्न गएको पाइएको हो। त्यस्तै जिल्ला सरकारी वकिल कार्यालय र शिक्षा समन्वय इकाइको गाडीसमेत मेला हेर्नमा प्रयोग भएको पाइएको छ।

३ वटा कार्यालयका ३ वटा गाडी र अन्य कार्यालयका ८ वटा मोटरसाइल गरी जम्मा ११ वटा सरकारी सवारी साधन मेलामा प्रयोग भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए। उनका अनुसार मुसिकोट नगरपालिका, सरकारी वकिल र शिक्षा कार्यालय लगायत ११ वटै सवारी साधनधनी कार्यालय तथा ब्यक्तिलाई के कारण मेला परिसरमा उक्त गाडीहरू पुगेका हुन भनी पत्र काटिएको छ।

‘सामाजिक सञ्जालमा पनि मेलामा सरकारी सवारीसाधन प्रयोग गरिएको भन्ने तस्बीरहरू ब्यापक भेटियो’ प्रजिअ रेम्मीले भने, ‘कार्यालयको अनुमतिबाहेक मेला होस या अन्य कुनै पनि ब्यक्तिगत प्रयोजनका लागि सरकारी सवारीसाधान प्रयोग गर्न मिल्दैन। सबैलाई पत्र काटेर स्पष्टीकरण मागिएको छ। कमजोरी देखिए कारबाही हुन्छ।’ जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले मेलामा सरकारी गाडी प्रयोग भएको भन्ने जानकारी आफूलाई पनि आएको भन्दै ती कार्यालय र ब्यक्तिलाई जाँचबुझ गरी कारबाही प्रक्रिया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई जानकारी समेत गराएको बताए।

सरकारी गाडी ब्यक्तिगत प्रयोजनमा आफूखुसी प्रयोग गर्नेलाई कारबाही नगरेसम्म दुरुपयोग झन बढ्ने देखिएकाले कारबाही र अनुगमन प्रक्रिया प्रभावकारी बनाइने उनको भनाई थियो। स्थानीय सरकार मुसिकोट नगरपालिकाकै गाडी मेला परिसरमा देखिएपछि समेत सर्बत्र आलोचना भएको छ। सरकारी गाडी तथा मोटरसाइकल दुरुपयोग भए नभएको निगरानी र कारबाही प्रक्रिया समेत थाल्न सक्ने कार्यालयको गाडी दुरुपोग भएपछि आलोचना बढेको हो।

मेलामा गाडी दुरुपयोगको  बिषयमा मुसिकोट नगरपालिकाका सूचना अधिकारी दिपेन्द्र रावलसँग जानकारी लिँदा मेलामा गाडी गएको स्वीकार गरे। ‘अन्य कामको लागि नै गाडी साँख गएको भए पनि कामबाट फर्कँदा केही समय मेलापरिसरमा रोकेर मेला हेरिएको हो’ उनले भने, ‘यो घटना बाहिर सार्बजनिक भएपछि आगामी दिनहरूमा पनि मुसिकोट नगरपालिकाको सवारी साधन दुरुपयोग नहोस् भनेर केही कडा प्रावधान सहितको कार्यबिधि चाहिँ बनाउन आवश्यक छ।’ 

मुसिकोट नगरपालिकाको गाडी लिएर को को गएका थिए भन्ने प्रश्नमा भने उनले खुलाउन चाहेनन्। जनप्रतिधिले जनताको आवश्कता रहेको एम्बुलेन्स जस्ता सामग्री खरिद नगरेर आफू चढ्ने चिल्ला गाडी मात्र खरिद गरेको भन्ने प्रतिक्रिया बाहिर आइरहेको बेला तिनै गाडी दुरुपयोगले झनै प्रश्न उब्जाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.