|
फाइल फोटो

सिन्धुपाल्चोक : लिटिल बुद्धको नामले चिनिएका रामबहादुर बम्जनमाथि बलात्कार, हत्या र बेपत्ता पारेको आरोप लाग्यो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरीले दुई साता अघिदेखि उनको आश्रममा छापा मार्‍यो। प्रहरीले उनको सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ६ बाडेगाउँ र सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरे धापसार आश्रममा छापा मार्‍यो। प्रहरीले उनको आश्रमलाई अनुसन्धानको लागि भन्दै घेराबन्दी गर्‍यो। तर, अहिले प्रहरीले बम्जन प्रकरणको बारेमा अहिलेसम्म ठोस तथ्य भेट्न सकेको छैन।

बम्जनको सिन्धुपाल्चोक आश्रमबाटै हराएका भनिएका सञ्चलाल वाइबाको छोरा महेन्द्रले बाबु हराएको भनी जिल्ला प्रहरी कार्यालयका उजुरी गरेपछि बम्जनमाथि प्रहरीले दुई साताअघि सिन्धुपाल्चोक बाडेगाउँमा छापा मार्‍यो। प्रहरी स्रोतका अनुसार बम्जनले सञ्चलाललाई आश्रममा हत्या गरी बेपत्ता पारेको प्रमाण नजिक पुगेको बताएको थियो। तर, पछिल्लो सयम प्रहरीले बम्जनबारे अनुसन्धानको क्रममै रहेको बताइरहेको छ।

इन्द्रावती गाउँपालिका ६ बाडेगाउँमा रहेका बम्जन आश्रमबाट शंकास्पद वस्तुहरू भेटिएपछि शंकाको घेरा बढ्दै गएको प्रहरी स्रोतले जनाएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बाडेगाउँको आश्रममा खोजतलासी गरेपछि सिन्धुलीको आश्रममा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपि विमलराज कँडेलको टोली पुगेको थियो। बम्जनविरुद्ध केही प्रमाण भेटिए पनि त्यसको ठोस प्रमाणको लागि अनुसन्धानकै क्रममा रहेको डिएसपी कँडेलले बताए।

सिन्धुपाल्चोक प्रहरी र सिन्धुली प्रहरीले महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तान नियन्त्रणमा लिएको थियो। बोधी श्रवण धर्म संघले बम्जनमाथि आश्रममै आनीहरूलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोपमात्रै भएको जनाएका थियो। संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना गुरु बमजनले त्यस्ता कुनै पनि गतिविधि नगरेको दाबीसमेत गरेको छ।

भूकम्पका बेला सम्पर्कमा नआएका आनीहरू बारे सम्बन्धित परिवारले खोजी गरेको विषयलाई लिएर आफ्ना गुरु बमजनमाथि आरोप लगाइएको भन्दै आपत्ति पनि जनायो। आफूहरूको आश्रमबाट कसैमाथि पनि हत्या, बलात्कारलगायतका घटना नभएको बम्जन संरक्षक रहेको संघको दावी छ।

बम्जनको आश्रमबाट हत्या, बलात्कार र बेपत्ता पारिएको भन्ने उनीमाथि आरोप लागेको छ। बम्जनको आश्रमबाट सञ्चलाल र अन्य तीन आनी बेपत्ता भएको आफन्तले बताउँदै आएका छन्।

बाराको रतनपुरी गाउँ नजिकैको बनबाट तपस्या सुरु गरेका बम्जनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थान समेत फेरिरहने गरेको छ। बाराबाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनको आश्रम रहेको छ। बमजनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भएसँगै बम्जनमाथि विभिन्न किसिमका आरोप लाग्न सुरु भएको छ।

हेटौँडास्थित प्रहरी कार्यालयमा फूलमाया रूम्बा र कर्म वाइबालगायतका अनुयायी बम्जनको आश्रमबाटै हराएको भनेर उजुरी परेपछि उनी विरुद्धका आरोपहरू थप पेचिलो बन्दै गएका थियो। आश्रममा बस्ने गरेका दुई जना अनुयायी खोजीको लागि उजुरी परेकाले उनको आश्रममा छापा मारेको प्रहरीको भनाइ छ। तीव्ररूपमा बम्जनको आश्रम स्थलमा प्रहरीले कडारूपमा निगरानी राखेको छ।

प्रहरीसमक्ष उजुरी दिनेमा फूलमाया रूम्बाका भाइ विजय रूम्बा र सञ्चलाल वाइबाका छोरा महेन्द्र वाइबा रहेका छन्। त्यस्तै, बाराका हस्तबहादुर आले मगर र नुवाकोटकी गंगामाया तामाङ पनि बेपत्ता छन्। बारा जिल्लामै केही स्थानीयहरू माथि हातपात गरेको विवरण आएपछि सन् २०१० मा बम्जनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिना दुईजना विदेशी महिलालाई बन्धक बनाएपछि उनी चर्चामा आएका थिए।

यसै वर्षको भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि बम्जनविरुद्ध थप आरोपहरू लागेका र प्रहरीमा उजुरीहरू परेका विवरण बाहिर आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.