|

धनकुटा : पूर्वको पर्यटकीय जिल्ला धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार गरिएको छ। विमानस्थल निर्माणको चर्चा चलेको झण्डै पाँच दशकपछि सर्वेक्षणको काम सकिएको हो।

२०२२ सालमा पहिलो पटक विमानस्थल निर्माणको चर्चा चलेको धनकुटाको बेलहारामा ५३ वर्षपछि विस्तृत अध्ययन प्रतिवेदन तयार भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ इन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरको टोलीले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गरेका हुन्।

टोलीले ड्रोनको प्रयोग गरेर पहिलो चरणमा स्थलगत अध्ययन गरेर पहिलो चरणमै टोपोग्राफी सर्बे गरी ५० सिट क्षमताको विमान उडान भर्नका लागि एकहजार ३०० मिटर भन्दा लामो धावनमार्ग र दुई मिटर चौडाईसहित दुई साइडबाटै उडान र अवतरण गर्न मिल्ने एटिआर ४७ लगायतका मध्यम खालका विमान उडान तथा अवतरण सजिलै हुने विमानस्थल बनाउन मिल्ने गरी डीपीआर तयार गरी नेपाल नागरिक उड्ययन प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उप प्रबन्धक नलबिक्रम थापाले जानकारी दिए। उनले विस्तृत सर्वेक्षणमा धावनमार्ग, पार्किङस्थल, टर्मिनल टावर, स्टाफ क्वाटर, फ्युल स्टेसन र सुरक्षा निकाय पोष्ट समेत समावेस गरी डिपिआर तयार भएको जानकारी दिए।

‘अब वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को प्रक्रियामा रहेको छौ।’ थापाले भने, ‘त्यसका लागि वातावरण मन्त्रालयको स्वीकृति चाहिने भएकाले त्यसको पर्खाइमा रहेका छौँ।’ पटक पटकको सर्वेक्षणमा उपयुक्त देखिएको बेलहारामा विमानस्थल निर्माण गर्न मन्त्रालयको सैद्धान्तिक सहमति आवश्यक पर्ने भन्दै नागरिक उड्डयान प्राधिकरणले थप कार्य अगाडि बढाउन सकेको थिएन।

स्थानीयको पटक पटकको डेलिकेशन पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सपिलरिसमा बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न उपयुक्त रहेको भन्दै २०७३ साल माघ ९ गतेको मन्त्री परिषदको बैठकले धनकुटा नगरपालिका ९ बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको विमानस्थल निर्माणका लागि अगुवाई गरिरहेका पूर्व सभासद हेमराज भण्डारीले जानकारी दिए।

‘कन्सल्टेन्टमार्फत तयार भएको डिपिआर मन्त्रालयमा पुगेको छ।’ भण्डारीले भने, ‘अब इआइएको काम सकिएपछि निर्माणको काम अघि बढ्छ।’ विगत छ वर्ष अघि नै बेलहारा डाँडामा नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि पूर्वाधार अध्ययन गरि सिफारिस गरेको थियो। प्राधिकरणका इन्जिनियर मणिगोविन्द श्रेष्ठ नेतृत्वको टोलीले अध्ययनगरि विमानस्थल निर्माणका लागि योग्य भनी सिफारिस गरेको थियोे। त्यति बेला जिल्लाका विभिन्न तीन स्थानमा सर्वेक्षण गर्दा धनकुटा नगरपालिकाको त्यस क्षेत्र बेलहारामा नै निर्माण कार्य उपयुक्त हुने भनी सिफारिस भएको थियो।

धनकुटा नगरपालिकाको फौजेटार, महालक्ष्मी नगरपालिकाको घुमाउने र छथर जोरपाटी गाउँपालिकाको मुड्के आहाले मध्ये धनकुटाको बेलहारा प्राविधिक हिसाबले विमानस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष सहितको सिफारिस पत्र मन्त्रिपरिषदमा पेस भएर स्वीकृति भएको थियो। तर त्यतिबेला साना विमानको लागि मात्रै संर्वेक्षण भएकाले मध्यमस्तरको विमानस्थल निर्माण गर्न पुन सर्वेक्षण गरिएको भण्डारीले बताए। 

मध्यमस्तरको विमानस्थल निर्माण गर्दा ४० देखि ५० घर विस्थापित हुने बताइएको छ। उनीहरूको पुर्नवासको लागि धनकुटा नगरपालिकासहित धनकुटाका स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारसंग पहल गरी व्यवस्थापन गरिने पूर्व  सभाषद भण्डारीले जानकारी दिए। यता स्थानीय स्तरमा जिल्ला समन्वय समिति र राजनीतिक दल सहितको सर्वपक्षीय संयन्त्र निर्माण गरी विमानस्थलका लागि आवश्यक जग्गाको विवरणको काम अझै अगाडि बढ्न सकेको छैन।

राजमार्गबाट विमानस्थल सडक पहुँचको काम पनि अलपत्र जस्तै छ। विमानस्थलमा सडक पहुँच निर्माणका लागि आर्थिक वर्ष २०७४/०७५ मा अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन भएको थियो। तर उक्त बजेटको काम हुन सकेको छैन। हाल विमानस्थल निर्माण स्थलसम्म कच्ची सडक पुगे पनि उक्त सडकलाई कालेपत्रे गर्ने प्रक्रियाको सुरुवात हुन नसकेको धनकुटा नगरपालिका ९ का वडाध्यक्ष मनोज रायमाझी सन्दिपले जानकारी दिए।

यता विमानस्थलको डिपिआर तयार भएपछि विमानस्थल निर्माण हुने पक्का भएपछि स्थानीयबासीमा भने खुसियाली छाएको छ। विमानस्थलको निर्माणको चर्चा र पहिलो पटकको सर्वेक्षणसँगै तत्कालकाम सुरु होला भनी पाँचवर्ष अगाडीदेखि नै कुनै बाली नलगाई जग्गा अलपत्र छाडेका स्थानीय हालसम्म कुनै काम अगाडि नबढेकाले निराश भई बाली लगाउन थालेका थिए। तर स्थानीय फेरि विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढेपछि भने उत्साहित बनेका छन्।

विमानस्थल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा, ताप्लेजुङ र पाँचथरका केही भाग र धनकुटा तथा तेह्रथुम जिल्लाका सबै सर्वसाधारणलाई सुविधा पुग्ने बताइएको छ। यो प्रस्तावित विमानस्थल विराटनगरबाट २२ तुम्लिङटारबाट २४ र भोजपुरबाट १७ दशमलव ७४ नटिकल माइल टाढा रहेको छ।
२०२२ सालमा धनकुटामा पहिलो पटक विमानस्थल निर्माण गर्न लागि चर्चा चलेको थियो। तर धरान धनकुटा राजमार्ग निर्माण गर्न अध्ययन सुरु गरिएसँगै विमानस्थल निर्माण गर्ने चर्चा सेलाएको थियो।

पूर्वमा १३ विमानस्थलले हवाई सेवा दिइरहेका छन्। भौगोलिक दृष्टिले अति विकट र सुगम स्थानसमेत रहेको पूर्वमा हवाई यात्रा गर्नको संख्या धेरै छ। कोही बाध्यताले जहाज चढ्छन् भने कोही सोखले। पूर्वका पहाडी क्षेत्रमा विमानस्थल बनाउनुपर्ने र हवाई सेवा चालू गर्नु पर्ने स्थानीयको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.