|

बाँके : प्रदेश ५ सरकारले दलित, विपन्न तथा पिछडिएका परिवारको घर निर्माणका लागि विनियोजन गरेको रकम नपठाउँदा सर्वेक्षणको काम समेत रोकिएको छ। आर्थिक वर्ष २०७५/७६ का लागि रकम विनियोजन भएको अनौपचारिक जानकारी भए पनि आधिकारिक पत्र आइनसकेको शहरी विकास तथा भवन कार्यालय, बाँकेका प्रमुख भुपेन्द्रकुमार यादवले बताए। 

प्रमुख यादवका अनुसार विनियोजन भएको रकम नआउँदा जनता आवास कार्यक्रमअन्तर्गत दलित, विपन्न तथा पिछडिएका परिवारको घर निर्माणका लागि सर्वेक्षण समेत गर्न सकिएको छैन। ‘घर निर्माणका लागि कति बजेट विनियोजन भएको छ भन्ने आधिकारिक जानकारी छैन,’ प्रमुख यादवले भने, ‘सर्वेक्षणको काम कसरी अगाडि बढाउनु।’ 

आर्थिक वर्षको छ महिना सकिएकाले बजेज आए पनि चालु आर्थिक वर्षभित्र घर निर्माण हुने नसक्ने कार्यालयले बताएको छ। यस वर्ष घर निर्माणको सम्झौतासम्म हुन सक्ने बताइएको छ।

तीन वर्षसम्म काम अधुरो

आर्थिक वर्ष २०७३/७४ मा निर्माण सुरु भएको भवन अहिलेसम्म सम्पन्न हुन सेकेको छैन। धेरैजसो भवन निर्माण अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख यादवले बताए। उनले भने, ‘भवन निर्माण अन्तिम चरणमा पुगे पनि पूरा भएका छैनन्।’

आर्थिक वर्ष २०७३/७४ मा बाँकेमा ९८१ र बर्दियामा ९५५ घर निर्माण सुरु भएको थियो। उक्त घर निर्माण अन्तिम चरणमा पुगेकाले प्रायः घरधनीले अन्तिम किस्ता मात्र लैजान बाँकी रहेको छ।

अन्तिम किस्ताका लागि दुई करोड ६४ लाख रुपैयाँ आवश्यक पर्दछ। तर, प्रदेश सरकारले दुई करोड रुपैयाँ मात्र निकासा गरेको कार्यालय प्रमुख यादवको भनाइ छ। 

जनता आवास कार्यक्रमअन्तर्गत बाँके र बर्दियामा घर निर्माण गर्न ३९ करोड रुपैयाँ खर्च भइसकेको शहरी विकास तथा भवन निर्माण कार्यालयउ बाँकेले बताएको छ। उक्त कार्यक्रमले एउटा घर निर्माणका लागि दुई लाख १५ हजार २०० रुपैयाँ प्रदान गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.