कांग्रेसको बहुमत आएपछि डा. केसीका माग पूरा हुन्छन्

|

पोखरा : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुढीगणडकी जलविद्युत् आयोजनालाई सरकारले चीनलाई सुनको किस्तीमा बुझाएको आरोप लगाएका छन्।

शुक्रबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले बुढीगण्डकी आयोजनाको उदाहरण दिँदै कम्युनिस्टको सरकारको उपलब्धी भ्रष्टाचार भएको आरोप लगाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको १२०० मेगावाट क्षमताको बुढी गण्डकी आयोजनालाई सुनको किस्तीमा राखेर चीनको गेजुवा कम्पनीलाई बुझाएको शर्माले आरोप लगाए। ‘नेपालीले नै बनाउने भनेर पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँको दरले कर काटियो, अहिले पनि काटिराखिएको छ,’ शर्माले भने, ‘यस बहुउद्देशीय परियोजनाको नाममा अर्बौँ रकम यस बीचमा उठेको छ। तर, नेपाली नागरिकको पैसाबाट बनाउने भनेर संकल्प गरिएको परियोजना सम्मानीय प्रधानमन्त्री ज्यूले रातारात चीनको गेजुवा कम्पनीलाई सुनको किस्तीमा राखेर बुझाउनु भयो। बिना प्रतिस्पर्धा अर्बौँ रुपैयाँको आयोजना बुझाइयो।’

नेपाल कम्युनिस्ट पार्टीको एक वर्षको उपलब्धी भ्रष्टाचार मात्रै भएको आरोप लगाएका छन्। ट्रान्सपरेन्सी इन्टरनेशनले निकालेको तथ्यांकको हवाला दिँदै प्रवक्ता शर्माले कम्युनिस्ट सरकार गठन भएको एक वर्षको अवधिमा भ्रष्टाचार गर्ने मुलुकको सूचीमा झन अघि गएको देखिएको बताए।

त्यसैगरी, निजगढ विमानस्थल निर्माणको लागि रुख काट्ने निहुँमा सरकार र पर्यटन मन्त्रीले घोटाला गरेको शर्माको आरोप थियो। ‘निजगढ विमानस्थल बनाउन रुख नकाटी बन्दैन। काट्नु पर्छ। रुख त्यति मात्र काट्नु पर्छ जति आवश्यक छ। दोब्बर संख्यामा रुख काट्ने गरी पर्यटन मन्त्रालयले वन मन्त्रालयलाई के आधारमा पत्र लेख्यो?,’ उनले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई प्रश्न गर्दै भने, ‘हङकङ र लण्डन जोड्ने भन्दा ठुलो एयरपोर्ट  बनाउन लागियो। जहाँ आवश्यक नै छैन। त्यहाँ यत्रो एयरपोर्ट बनाउने भनेको पोखरामा एयरपोर्ट काम छैन भनेको हो नी!’

कांग्रेसको बहुमत आए डा. केसीका माग पूरा हुन्छन्

कांग्रेसको बहुमतको सरकार भएको दिन डा. केसीको माग पूरा हुने र वर्तमान सरकारले गरेका निर्णय खारेज हुने प्रवक्ता शर्माले दाबी गरेका छन्।

कांग्रेसको आन्दोलन चिकित्सा शिक्षा विद्येयक र डा. गोविन्द केसीको जीवन रक्षाको लागि भएको उनले बताए। ‘संसदमा भएको हाम्रो आन्दोलन चिकित्सा शिक्षा विद्येयक पारितको विषय र डा. केसीको जीवन रक्षाको लागि हो,’ पत्रकारले संसदमा तपाइँहरूको आन्दोलन किन भन्ने प्रश्नमा उनले भने, ‘सरकारसँग भएको सम्झौता पालना होस् र डा.केसीसँग वार्ता होस् भनेर हो। हामीले अहिले डा. केसीलाई अनशन तोड्नुस मुद्धा नछोड्नुस भनेका छौँ। यो मुद्धा तपाईंको मात्र हैन हाम्रो पनि हो भनेका हौँ। तोड्ने नतोड्ने उहाँको कुरा हो।’

सरकारले डा. केसीलाई चिकित्सा शिक्षा विद्येयक हामीले पास गर्‍यौँ, अहिले अनशन तोड्नुस बाँकी कुरा वार्ता मार्फत पुरा गरौँला सम्म नभनेको भन्दै शर्माले सरकार जम्मेवार नरहेको आरोप लगाए। ‘डा.केसीको मागमा  तोडमोड भएको छ। भविष्यमा नेपाली कांग्रेसको सरकार भएको दिन डा. केसीको माग पुरा गर्छौँ। अहिले भएको निर्णय बदर गरेर छोड्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.