|

‘पश्चिमाहरू चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाउन थालिसके हामी भने पृथ्वीमा बसेर तिनैको पूजा गरिरहेका छौं’, ‘आँगनमा तुलसी रोपेर फूल अक्षताले पूजा गर्नमात्रै जान्यौं अरु फाइदा लिन जानेनौं।’ सनातन धर्मको आलोचना गर्नुपर्यो यस्तै तर्क अघि सारिन्छ। सनातन धर्मअन्तर्गत विभिन्न शास्त्रमा भएका पक्षलाई एकातिर पन्छाउँदै ‘पूजा मात्रै गर्न जानेको, फाइदा लिन नजानेको’ आरोप लाग्ने गरेको छ। 

सनातन धर्ममा त हरेक वस्तुको पूजा हुन्छ। ढुंगा, माटो, पानी, पशुपंक्षी, मानिसका अंग यतिसम्म कि मानिसले खाने खानाको पनि पूजा हुन्छ। पूजाको अर्थ अहिले लोकमा चलेजस्तो चन्दन, फूल, अक्षता र भेटी चढाउनु भन्ने होइन। खानाका लागि प्रयोग हुने सम्पूर्ण वस्तु स्वच्छ कर्मबाट प्राप्त भएको र शुद्ध गरी बनाइएको खाना निन्दा नगरी खानु पनि सनातन धर्ममा पूजा नै हो। प्रकृतिमा भएका हरेक वस्तुको आ–आफ्नै महत्त्व छ तिनको महत्त्व बुझ्नु र समुचित प्रयोग ल्याउनुको अर्थ पूजा हो । 

वस्तुको महत्व नबुझ्ने र बुझेर पनि बुझ पचाउने कारणले गर्दा हिजोआज प्राकृतिक असन्तुलन पैदा भइरहेको छ। फाइदा लिने नाममा उर्बर भूमि मासेर तीब्र रूपमा भौतिक संरचना गर्दा कस्तो परिणाम आएको छ, जगजाहेरै छ। धर्तीमा रहेका सम्पूर्ण वस्तुको महत्त्व बुझेर तिनको समुचित उपयोग गर्नु नै पूजा हो। वेद, पुराणमा मानिसलाई आवश्यक पर्ने सबै तत्त्वको महिमा बताइएको छ। तिनको महिमा बुझेर अनुकुल व्यवहार गर्नु पूजा हो जसबाट ती तत्त्वहरू मानवअनुकुल हुन्छन्। अन्ततः धर्तीमा रहेका प्राणीहरूकै कल्याण हुन्छ। माटो र ढुंगाको महत्त्व नबुझ्दा हाम्रा प्राकृतिक सम्पदा कसरी मासिँदै छन्, जगजाहेर नै छ। 

पश्चिमा चिकित्सा र औषधिको विकास र विस्तार गर्न हाम्रा परम्परागत ज्ञानहरूलाई धुमिल बनाइएको छ। पूर्वीय धर्मदर्शनमा भएका पक्षहरूलाई विस्तारै धुमिल बनाएर यसका धनी हामीलाई नै ‘पङ्गु’ बनाइँदैछ, हामी यसबारे बेखबर रहेर अरुको ‘हो’मा ‘हो’ मिलाइरहेका छौं। आजको युगमा भौतिक विकासमा आकर्षण त हुनु अस्वाभाविक भएन तर विज्ञानको प्रगतिले मानिसलाई संधै त्राहिमाम् बनेर बस्नुपर्ने बनाउँछ र अनेक किसिमका कष्ट दिन्छ भने त्यस्तो विकासलाई कसरी स्वीकार गर्ने! 

चन्द्रमामा मान्छे पुगे भनेकै भरमा पूजा गर्न छोड्नुपर्ने कारण पनि छैन। उद्देश्य केका लागि भन्ने महत्त्वपूर्ण हो। चन्द्रमाको पूजाबाट मानिसमा उत्पन्न हुने भावात्मक पक्षको छुट्टैै महत्त्व छ। पृथ्वीमा प्रदूषण फैलाएर, मानिस-मानिसबीच काटमार मच्चाएर नपुगेर चन्द्रमा वा मंगलमा वस्ती बसाउन खोजे भन्दैमा हामी पछि पर्यौ भन्दै कोकोहोलो गर्नुको अर्थ छैन। सूर्यको सन्दर्भमा पनि त्यस्तै हो। 

सूर्यको आराधनाभित्र लुकेका आध्यात्मिक पक्ष सामान्य विवेकले पहिल्याउन सक्दैन। यसो भन्दैमा पूर्वीय सभ्यताले सूर्यबाट भौतिक फाइदा लिन चुकेको भन्ने होइन। सूर्यविना जीवको कल्पना गर्नसम्म सकिँदैन। सूर्यबाट उर्जा प्राप्त गरेरै मानिसको दैनन्दिन चल्ने गर्छ। यही उर्जाबाट अनेक प्रकारका भौतिक आवश्यक्ता पूरा हुँदै आएका छन्। सूर्यको किरणबाट गर्न सकिने उपचारबारे आयुर्वेदमा प्रशस्त उल्लेख छ। यी उपचारविधि प्रयोग पनि हुँदै आएका छन् 

हिन्दू संस्कृतिमा पानी र पानीको स्रोत र यिनमा आश्रित रहने जीवको पनि पूजा गर्ने परम्परा छ। हिन्दू संस्कृतिभित्रको यही मान्यताअनुसार पहिले पहिले पानीमा देवता हुन्छन् फोहोर गर्नुहुँदैन भन्ने मान्यता प्रबल थियो। मनिसहरू पानीको स्रोत वरपर फोहोर गर्दैनथे। नागदेवताको बास हुन्छ भन्ने मान्यता कायम थियो। केही दशकयता मानिसहरूको ढल, घरबाट उब्जेका अन्य फोहोर मिसाउने ठाउँ भएको छ, नदी। अचम्मको कुरा के भने आफैंले ढल मिसाएको नदीको जल पवित्र मानेर सेचन गर्नुपर्ने स्थिति छ। 

अत्यावश्यकबाहेक अनावश्यक रूपमा रुख विरुवा काट्नुहुँदैन भन्ने मान्यता थियो। त्यसैले वन जोगिएको थियो। वनका कारण प्रकृति पनि सन्तुलित थियो। अतिवृष्टि, अनावृष्टिजस्ता समस्या हुँदैनथ्यो। लोभलालच र छिट्टै धनी बन्ने धुनमा मानिस आज वन मासिरहेका छ। फलस्वरूप हावापानीका विभिन्न समस्या भोग्न बाध्य हुनुपरेको छ। पर्वतको पूजा गर्नु भनेको त्यहाँ रहेका सम्पूर्ण वस्तुलाई अनुकूल राखी प्रकृतिलाई स्वच्छ राख्नु भन्ने हो।

पुराणमा तुलसीलाई भगवान् विष्णुको स्वरूप वा उनको प्रिय वस्तु मानिएको छ। धार्मिक रूपमा पूजा आराधना गरेर आध्यात्मिक शान्ति लिनु पनि महत्त्वपूर्ण पक्ष हो। पूजा गर्नुको अर्थ यसको समुचित हेरविचार गरेर बचाइराख्नु वा यसको संरक्षण सम्वर्धन गर्नु पनि हो। भौतिक रूपले हेर्दा यसलाई बचाइराख्दा मानिसलाई नै अक्सिजन दिएर फाइदा पुर्याउँछ। आवश्यक परेका बेला औषधीय उपयोगका लागि प्रयोग गरेर फाइदा लिने विधि आयुर्वेदमा आउँछ।

देवपितृलाई चढाउने कुश पूजाकर्ममा आसन र औंठी आदि मानिसकै लागि उपयोग हुन्छ। यसबाट मानिसको स्वास्थ्यमा पनि फाइदा पुगेकै हुन्छ। आयुर्वेदको पक्षबाट विचार गर्ने हो भने विभिन्न रोगका उपचारमा समेत उपचार हुँदै आएको छ। पिपललाई पनि विष्णुको स्वरूप मानिएको छ। कतिपय ठाउँमा त पिपलमा ब्रह्मा, विष्णु र महेश्वर तीनै देवको कल्पना गरिएको छ। पुराणअनुसार त्रिदेवको काम मानव कल्याण गर्ने हो। भौतिक दृष्टिले हेर्दा पनि अन्य वनस्पतिले भन्दा बढी अक्सिजन फ्याँकेर पीपलले मानव कल्याणकै काम गरिरहेको हुन्छ। पीपलका पनि अन्य धेरै गुण छन्। आयुर्वेदमा प्रयोग हुँदै आइरहेको छ। 

देवीदेवताको पूजा गरेर आध्यात्मिक शान्ति प्राप्त गर्नु एउटा पक्ष हो त्यसबाट भौतिक फाइदा लिनु अर्को पक्ष हो। सनातन धर्ममा यी दुवै पक्ष नभएका होइनन्। तुलसीमात्र होइन पिपल, कुश आदि कतिपय वनस्पतिको पूजा हुन्छ तर आवश्यक पर्दा ती पदार्थ अन्य कार्यमा पनि प्रयोग हुन्छन्। वेद, पुराणमा तिनै वस्तुको पूजा गर्न निर्देश गरिएको हुन्छ। आयुर्वेद आदि ग्रन्थमा तिनको उपयोगिताबारे बताइएको छ। तर त्यसका लागि प्रक्रिया, समय आदि पक्षको विचार गर्नुपर्छ। एउटै वस्तुलाई फरक सन्दर्भमा कसरी प्रयोग गर्ने र त्यसबाट लाभ लिने भन्नेमा पूर्वीय दर्शन सचेत छ तर ती वस्तुको प्रयोग गर्दा प्राणी र प्रकृतिमा प्रतिकूल प्रभाव नपरोस् भन्ने उद्देश्य प्रमुख हो। 

पश्चिमा चिकित्सा र औषधिको विकास र विस्तार गर्न हाम्रा परम्परागत ज्ञानहरूलाई धुमिल बनाइएको छ। पूर्वीय धर्मदर्शनमा भएका पक्षहरूलाई विस्तारै धुमिल बनाएर यसका धनी हामीलाई नै ‘पङ्गु’ बनाइँदैछ, हामी यसबारे बेखबर रहेर अरुको ‘हो’मा ‘हो’ मिलाइरहेका छौं। आजको युगमा भौतिक विकासमा आकर्षण त हुनु अस्वाभाविक भएन तर विज्ञानको प्रगतिले मानिसलाई सधैँ त्राहिमाम् बनेर बस्नुपर्ने बनाउँछ र अनेक किसिमका कष्ट दिन्छ भने त्यस्तो विकासलाई कसरी स्वीकार गर्ने! 

सनातन धर्म वा पूर्वीय दर्शन विज्ञान र भौतिक विकासको विरोधी होइन तर नीतिमा आधारित हुनुपर्छ भन्नेमात्र हो। अप्राकृतिक होइन प्राकृतिक हुनुपर्छ भन्ने हो। मानवले गरेको विकासले मानवलाई मात्र होइन संसारमा रहेका अन्य जीवजन्तु र वनस्पतिलाई समेत हानि नपुर्याओस् भन्ने हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.