'राष्ट्रलाई घाटा गरेर हामी राष्ट्रवादी बनेका छौँ'

|

सुर्खेत : राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको प्रदेश स्तरीय परामर्श बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीलाई प्रदेश ३ को फोहोर कर्णालीमा किन ल्याएको? भनेर प्रश्न मात्र गरेनन् अब देखी यस्तो नगर्नु होला भनेर चेतावनी समेत दिए। त्यो भनेको के हो? कार्यक्रममा सहभागी सबै शुरुमा त अचम्ममा परे।

कर्णाली प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी प्रमुख, कर्णाली प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सांसद, मन्त्रालयका सचिव, प्रदेश आयोगका सदस्य, विज्ञ समूह तथा सञ्चारकर्मीहरूको कार्यक्रममा सहभागिता थियो।

'प्रदेश ३ को फोहोर' भन्ने बेला मुख्मन्त्री शाहीले राष्ट्रिय योजना आयोगले आयोजना गरेको कार्यक्रममा सहभागीलाई हाते फाईल र ब्यागतिर इंगित गरेका थिए। मुख्यमन्त्री शाहीले राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीलाई अगाडि भने, ‘तपाईंले रुपैयाँ प्रदेश ३ मा तिर्ने अनि झोलाको नाममा फोहोर कर्णालीमा ल्याएर दिने? के कर्णालीमा मखमल पाईदैन? कर्णालीमा के यस्ता ब्याग बनाउने उद्योग छैनन्? अब देखी कि कर्णाालीमा नै यस्ता ब्याग बनाउनू, कि रुपैयाँ दिनु, नत्र अन्तबाट समान ल्याएर यहाँ नदिनू।’ कर्णाली प्रदेशले बाहिरबाट समान ल्याउने कामलाई निरूत्साहित गर्ने र आन्तरिक उत्पादनलाई बढावा दिने आशयका साथ मुख्यमन्त्रीबाट उक्त भनाइ आएको थाहा पाएपछि सहभागी गलल्ल हाँसे।

मुख्यमन्त्री शाहीले कार्यक्रममा एउटा अनुभव पनि सुनाए। ‘मैले भेरी बबई डाईभर्सनमा काम गर्ने चिनियाँहरूसँग भेट्ने मौका पाएको थिँए। उनीहरूले आफूले खाने कुरा चीनबाट नै ल्याँउदा रहेछन्। बंगुरको मासु, पेय पदार्थ के–के आफूले प्रयोग गर्ने समानहरू आफ्नै देशबाट ल्याउदा रहेछन्। मैले सोधे नेपालमा नै बंगुरको मासु र फलफूल जति पनि पाईन्छ किन त्यति टाढाबाट ल्याउनु हुन्छ? मेरो प्रश्नको उत्तरमा चिनियाँले भने 'हामीले आफ्नो देशमा उत्पादन भएको खाने कुरा नखाइदिए कसले खान्छ? अनि हामीले श्रम गरेर कमाएको पैसा अरु देशलाई किन दिने?' यो कुरा मलाई साह्रै चित्त बुझ्यो।’

मुख्यमन्त्री शाहीले भने ‘हो हामी कर्णाली बासीले पनि आफ्नो उत्पादनलाई नै बढावा दिनुपर्छ, अब आफ्नो प्रदेशमा उत्पादन भएका वस्तुलाई उपयोग गर्नुपर्छ, नभए उत्पादन गर्न तिर लाग्नुपर्छ।’

बाहिरबाट ल्याएको भन्दा आफ्नो ठाँउमा उत्पादन भएको वस्तुलाई प्राथमिकतामा राख्ने हो भने यस क्षेत्रमा नागरीकहरूलाई पनि उत्पादन क्षेत्रमा काम गर्ने जोस जाँगर आउने र कर्णालीको विकास हुने उनको भनाइ थियो।

बाहिरबाट आयात गरिएका वस्तुलाई बढी प्रथामिकतामा राखेकाले हाम्रा शहरहरू फोहोरको डंगुरमा परिणत भएको शाहीले  बताए।

‘यहाँ प्याकेटवाला वस्तुको वृद्धि भएकाले हामी दिन प्रतिदिन विदेशमा बनाएका पलाष्टिकका प्याकेटले हाम्रो प्रकृतिलाई बिगारीरहेको छौँ, हामी त्यसैमा गौरव गरिहेका छौँ।’ उनले भने ‘अब यो हुनु हुदैन।’ कर्णाली प्रदेश सरकारले यस्ता वस्तुलाई प्रयोग गर्नमा रोक्का गर्ने बताए।

यहीँ उत्पादन भएका र मानव जातिलाई प्रभाव नपर्ने र तत्काल माटोसँग बिलाउने वस्तुहरूको उपयोग र उपभोगमा जोडदिनुको विकल्प नभएको शाहीको भनाई थियो।

भाषणले राष्ट्रियता हुदैन

मुख्यमन्त्री शाहीले राष्ट्रियता भाषणमा मात्र प्रकट गर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

‘चिनिया कामदारहरूले आफ्नो क्षेत्रमा उत्पादन भएका वस्तुलाई जुन देशमा गयो त्यही देशमा लिएर उपयोग गरेका छन्। उनीहरू भन्छन् पुँजी वृद्धि भएपछि मात्र देशमा आर्थिक वृद्धि दर बढ्छ ।’ शाहीले भने, ‘तर हामी विदेशी समान प्रयोग नगर्नेलाई पाखे भन्छौँ, राष्ट्रलाई घाटा गरेर हामी राष्ट्रवादी बनेका छौँ, साँचो राष्ट्रियता यस्तो हुँदैन।’

शाहीले थपे, ‘अब कर्णालीबासीले लोकल ठेटुवाको कपडा लगाउनु पर्छ, विदेशी कपडा होइन, अब त्यसको शुरुवात कर्णाली सरकारबाट हुन्छ, अब कर्णालीको कपडाको छुट्टै फेसन हुन्छ जो हामी आफैँले उत्पादन गर्छौं अनि आर्थिक रूपमा पनि हामीले राष्ट्रियता झल्काउछौँ।’

‘हामीले खाने एक गाँसले पनि राष्ट्रिय ढुकुटी वृद्धिमा सहययोग पुग्ने गरी जबसम्म हामीले सोच्दैनौ तबसम्म देशको अर्थतन्त्र बलियो हुदैन। बिना अर्थतन्त्र कसरी विकासका सपना देख्ने? कसरी सम्वृद्धिको कुरा गर्ने?’ शाहीले प्रश्न गरे।

आफ्नो देशमा पुँजीलाई व्यवस्थित गर्दै र श्रम गर्ने व्यक्ति श्रमलाई सम्मान नगरे देश विकास नहुने उनको भनाई थियो। राष्ट्रियता हुनको लागि आफ्नो राष्ट्रमा उत्पादन भएको वस्तुलाई उपयोग गर्नु पर्ने शाहीले बताए।

‘आफ्नै प्रदेशमा उत्पादन भएका वस्तुहरूलाई उपयोग गरेमा मात्र हाम्रो प्रदेशको पैसा बाहिर जाँदैन, विकासमा टेवा पुग्छ।’ शाहीले भने, ‘बाहिरबाट आएका वस्तुलाई प्राथमिकता दिएर यो कर्णाली प्रदेश सरकार बन्दैन।’

‘कर्णालीमा बसेर राष्ट्रवादको कुरा गर्ने तर तरकारी तथा खाद्य वस्तु भारतबाट ल्याउने, यो राष्ट्रवाद होइन,’ शाहीले भने ‘राष्ट्रवाद हुनको लागि त आफ्नो देशमा भएको वस्तुलाई उत्पादन गरी उपयोग गरेर पैसा बाहिर जान नदिनु पर्छ।’ आफ्नो देशको ठुलो धन राशी बाहिर पठाएर राष्ट्रवादको नारालाई जोडदिन नमिल्ने शाहीले जिकिर गरे।

कर्णाली मागेर कुपोषण मुक्त हुँदैन

मुख्यमन्त्री शाहीले कर्णालीमा हुने कुपोषण हटाउनका लागि विश्व खाद्यको कुहिएको चामल र लिटो खाएर नहुने बताए। ‘कुपोषण हटाउनको लागि बरु घर घरमा भैसी पालेर दुध खानुपर्‍यो, बाख्रा, भेडा, कुखुरा पालेर मासु खानुपर्‍यो, फर्सी फलाएर खानुपर्‍यो, अनि कसरी हुँदोरहेछ कुपोषण?’ शाहीले भने, ‘विश्व खाद्यको चामल खाएर कुपोषण हट्दैन।’

विभिन्न संघ संस्थाले बाहिरबाट ल्याएको खाद्यले कर्णालीबासीले  स्थानीय उत्पादनका भन्दा बहिरको वस्तुलाई प्राथमिकता दिन थालेकाले सरकारले यसलाई प्रोत्साहन नदिने जानकारी दिए।

अब प्रदेश सरकारले यसको अन्त्य गरी यहाँ उत्पादन गरेका ताजा र स्वच्छ आफ्नै जन्मभूमिमा रहेका तरकारी, मासु, रैथाने बाली र दुधको संरक्षण र प्रवर्धन गर्ने शाहीले बताए। ‘हामी सबैले यो कर्णाली प्रदेशमा पसिना बगाउनु पर्छ,’ उनले भने, ‘अनि मात्र यो कर्णाली र देशले परिवर्तनको मुहार फेर्ने अवसर पाउने छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.