|

बागलुङ : झट्ट हेर्दा मसिनो शरीर, कालो वर्ण, पातलो शारीरिक बनोट। देख्दा लाख्छ उनीसँग कुनै क्षमता होला र? एउटा आवासीय विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने केटा यसै पनि उनको दैनिकी विद्यालय जाने, घर फर्केपछि गृहकार्य गर्ने र पुनः अर्को दिनको विद्यालय जाने तयारी थाल्ने। तर सबै विद्यार्थीको दैनिकीले मात्रै उनीहरूको परिचय दिइरहेको हुँदैन। 

विद्यालय पढ्न जाने हरेक विद्यार्थीको कुनै न कुनै उद्देश्य रहेको हुन्छ र त्यो उद्देश्य प्राप्तिका लागि पढाइले सहयोग गर्छ, विद्यार्थीमा रहेको क्षमतालाई पनि पढाइबाट नै उजागर गरिन्छ। तर, सबै विद्यार्थीलाई पढाइले मात्रै उचाइमा पुर्‍याएको हुँदैन। कहिलेकाहीँ विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापले पनि उनीहरूको क्षमता देखाएको हुन्छ।

बागलुङको जैमिनी नगरपालिका ६ का सुनिल बिसीको परिचय विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापबाट नै फेरिएको छ। उनलाई अहिले ससाना बालबालिकादेखि बुढा पाकासम्मले पाँडे सोल्टी भनेर चिन्न थालेका छन्। दाह्री सेत्ताम्मै, बोली र शरिरको हाउभाउ दुरुस्तै भद्रगोलका कलाकार पाँडे। धेरै मान्छेलाई त्यही विश्वास लाग्छ उनी नेपाल टेलिभिजनबाट प्रसारित टेलिसिरियल कार्यक्रम भद्रगोलका अर्जुन घिमिरे ‘पाँडे’ हुन्। पाँडे मात्रै होइन उनले आफ्नो बोलीलाई छिनमै बदल्न सक्छन्। 

एकाएक देशका प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, फिल्म निर्देशक निरशाह पनि बन्न सक्छन्। त्यस्तै दर्जनौ मानिसको क्यारिकेचर गर्ने क्षमता छ उनीसँग, उनी अर्थात सुनिल बिसिसँग।अभिनय गर्ने क्षमता पनि उनमा उत्तिकै छ। विद्यालयमा आयोजना हुने बिभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो क्षमता प्रस्तुत गर्दै आएका बिसीले पछिल्लो समय टेलिभिजनको पर्दामा नै देखिने अवसर पाएका छन्।

स्थानीय धौलागिरी टेलिभिजनबाट प्रसारित कार्यक्रम भताभुंगले उनको परिचयलाई थप प्रचार गरेको छ। परिवारको आर्थिक अवस्था कमजोर भएका उनलाई राम्रो क्यारिकेचर गरेकै कारण न्यू एभरेष्ट एकेडेमीले निशुल्क पढाउँदै आएको छ। कक्षा ९ मा अध्ययनरत सुनिलले राम्रो क्यारिकेचर गरेकै कारण निशुल्क पढाइरहेको विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले बताए।

‘सुनिलसँग अभियनय गर्ने, आवाजको नक्कल गर्ने क्षमता छ त्यति मात्रै होइन राम्रोसँग गितगाउने क्षमता पनि उनीसँग छ’ प्रिन्सिपल अधिकारीले भने, ‘त्यसैले हामीले पढ्नसहित खाजाखाना समेत निशुल्क गरेका छौँ।’ सुनिल विद्यालयकै नामबाट अन्यत्र सार्वजनिक कार्यक्रममा समेत भाग लिने गरेको उनले सुनाए। गीतको कुनै एक विधामा मात्रै सिमित छैनन् उनी। लोक तथा पप र आधुनिक गीत समेत राम्रोसँग गाउन सक्छन्। उनको सबैभन्दा बढी रुचि पनि गीतमा नै छ।

भविष्यको योजना गायक बन्नेछ। तर, घरको परिस्थिति सहज छैन। उनी भन्छन्, ‘परिवारको अवस्था कमजोर भएकै कारण सपना तुहिन्छकी भन्ने डर लाग्छ। तर पनि हिम्मत हार्नेवाला छैन।’ विद्यालयको अरिरिक्त क्रियाकलापमा देखाएको क्षमतालाई समाजले खोज्न थालेकोमा बिसी दंग परेका छन्। बाटोमा हिँडडुल गर्दासमेत पाँडे सोल्टी भनेर बोलाउनेलाई देखेर उनी दंग पर्ने गरेका छन्। आफूमा क्षमता भएको भए पनि अभिनय कला र गायनका लागि आवश्यक ज्ञान पाए यही क्षेत्रमा राम्रो गर्न सकिने उनले सुनाए।

बिसीलाई विद्यालयले आन्तरिक रुपमा गरेको सहयोग बाहेक उनको क्षमता बिकासका लागि आवश्यक पर्ने ज्ञान, सीप र तालिमको लागि सहयोगको आवश्यकता रहेको अधिकारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.