कर्मचारीलाई सुख, नागरिकलाई दुःख

|

पाँचथर : नेपाल–सिक्किम सीमा नाका च्याङ्थापुमा रहेको सीमा प्रशासन कार्यालय वर्षौदेखि कर्मचारीको चरम बेवास्तामा परेको छ। अधिकृत, नायव सुब्बा, कम्प्युटर अपरेटर, सहायक लेखापाल, खरिदार र कार्यालय सहयोगी गरी ७ जनाको दरबन्दी रहेको कार्यालयमा वषौंदेखि कार्यालय सहयोगी मात्रै  छन्। आएका कार्यालय प्रमुखहरू एक साता पनि नबसी काजमा अन्तै जाने गरेका छन्। कोही भने कार्यालयमा हाजिर पनि नभई सरूवा लिएर जाने गरेका छन्।

नागरिकता, राहदानीसँगै नावालक परिचय–पत्र, आदिवासी जनजाति प्रमाण–पत्र, बजार अनुगमन र एक नम्बर पिलर फालोटदेखि कालीझारसम्म निरीक्षण गर्ने काम, कर्तब्य र अधिकार सीमा प्रशासन कार्यालयलाई छ। सीमा क्षेत्रमा हुँदै आएको जडिबुटीदेखि बन्यजन्तु चोरी तस्करी नियन्त्रण र सीमा नाका पास पनि सीमा प्रशासनले नै दिने अधिकार प्रत्यायोजन छ। तर कर्मचारी  कार्यालयमै नबस्दा वर्षौँदेखि यी कामहरू सीमा प्रशासनबाट प्रभावित हुँदै आएका छन्। सीमा प्रहरी कार्यालयले सीमा नाका पास दिने अख्तियारी भने पाएको छ। अन्य सबै कामका लागि त्यस क्षेत्रका नागरिकहरू सदरमुकाम फिदिम धाउने गरेका छन्।

कर्मचारीलाई सुख, नागरिकलाई दुःख

च्याङ्थापुकी लक्षिमा ढुंगेलले सीमा प्रशासन कार्यालयबाट नागरिकता, राहदानीलगायतका सेवा प्रवाह कर्मचारी नभएकै कारण नहुँदा नागरिकले सास्ती खेप्नु परेको गुनासो गरिन्। ‘फिदिम आउँदा जाँदा भाडा मात्रै १२ सय रूपैयाँ लाग्छ। आँगनमै भएको कार्यालयमा कर्मचारी नबस्दा दुःख पायौँ’ उनले प्रश्न गरिन् ‘जनताले तिरेको करबाट जागिर खाने कर्मचारीले जनतालाई दुःख दिन मिल्छ?’

पाँचथरको याङ्वरक गाउँपालिकाको उत्तर–पूर्वी क्षेत्रका वडा नम्बर १, २ र ३ (साविकका गाविसहरू च्याङथापु, फलैचा र ओयाम) का नागरिकलाई प्रशासनिक सेवा सुविधा प्रवाह गर्न सीमा प्रशासन कार्यालय स्थापना गरिएको हो। सदरमुकाम फिदिमदेखि निक्कै टाढा पर्ने ती क्षेत्रका नागरिकको मागअनुसार नै स्थापना गरिएको कार्यालयमा कर्मचारी नै नबस्दा नागरिकलाई हर्ष न विस्मात् भएको छ।

सोही ठाउँका बलराम शिवाकोटी सीमा प्रशासन जत्तिको महत्वपूर्ण कार्यालयमा कर्मचारी नबस्दा अचम्मित् छन्। ‘अधिकृतहरू आए भन्छन्। फेरि काज लिएर गए भन्छन्। थाहै हुँदैन’ उनले भने, ‘सिक्किम–च्याङ्थापु दुई महिनामै सडक सञ्जालमा जोडिदै छ। यता र उता बाक्लो आउजाउ हुन्छ। नाका पास यसैले दिनुपर्छ। नाकामा कडाई गर्नु पर्ने। तर खै के भन्नु र...?’

सिक्किम जाने पुरानो नाका च्याङ्थापु नै हो। यही नाका भएर पाँचथर र ताप्लेजुङ र तेह्रथुमको पूर्वोत्तर क्षेत्रका नागरिकहरू सिक्किम आउजाउ गर्दै आएका छन्। नातागोता भएकाले जन्मदेखि मरणसम्मका संस्कारगत् क्रियाकलापमा डाँडावारी र पारी आउजाउ हुने गरेको छ। सडकले जिल्लाको थर्पुलाई नजोड्दासम्म च्याङ्थापु,फलैचा र ओयाम क्षेत्रका नागरिकहरूको सिक्कमकै बजारमा भर पर्नु पर्ने बाध्यता थियो।

राष्ट्रिय झण्डा फहराउन राख्छु र झार्छु : कार्यालय सहयोगी

तेह्रथुमको आठ्राईका लक्ष्मीप्रसाद खवासले सीमा प्रशासन कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गरेको १३ वर्ष भयो। यसबीचमा उनले कार्यालयमा सरूवा भएर आएका केही अधिकृतलाई सातादिन जति देखे भने केहीको भने नाम मात्रै सुने। उनका अनुसार कायममुकामय अधिकृत रेणु ओझा मात्रै करिव सात महिना जति कार्यालयमा बसे।

‘अधिकृत गणेश ओझा सर थर्पुदेखि हिँडेर आउनु पर्ने भएकोले फिदिमदेखि नै कहिलेकाँही आउनुहुन्थ्यो। त्यसपछि आएका अधिकृत महेन्द्रनाथ भट्टराई सरको चाँही नामसम्म सुन्न पाइयो। अनुहार देखिन’ उनले भने, ‘त्यसपछि मिनरलाल योङहाङ सर आउनुभो तर केही दिनमै जानुभो। अनि किशोर विश्वकर्मा सर एक/दुई महिना चाँही महिनामा सातादिनसम्म बस्नुभो।’

उनकै भनाइलाई आधार मान्ने हो भने हालसम्म एक वर्ष पनि अधिकृतहरू पूरापुर कार्यालयमा बसेको देखिँदैन। राष्ट्रसेवक भनिएका कर्मचारीको पूरै बेवास्तामा सीमा प्रशासन कार्यालय परेको देखिन्छ। ‘कार्यालयमा म एक्लै छु। राष्ट्रिय झण्डा बिहान अफिसमा आएर राख्छु र बेलुकी झारेर थन्क्याउँछु।’ उनले भने, ‘केन्द्रदेखि आएको चिठ्ठी पत्र जिल्ला पठाउँछु। अफिस सफाइ गर्छु।’

मुलुक संघीयतामा गएसँगै भएको तीनै तहको निर्वाचनको क्रममा सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने नारा दलहरूले घन्काए। नागरिकको नजिकको सरकारको रूपमा स्थानीय सरकारलाई अथ्र्याइयो पनि। तर निर्वाचन भएको दुई वर्ष हुन लाग्दा पनि सरकारको सेवाप्रदायक निकायमा कर्मचारीको हालत छ। वृत्ति विकासमा असर पुग्ने भन्दै कर्मचारी दुर्गममा बस्न नमान्ने गरेका छन्। यही प्रवृत्तिको शिकार सीमा प्रशासन कार्यालय बन्दै आएको छ।

गाउँपालिका अध्यक्ष कुरा गर्छन् पूरा गर्दैनन्

याङ्वरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीसँग कर्मचारी पठाउन बारम्बार आग्रह गर्दै आएको बताए। ‘बाहिर काजमा बसेर जागिर खान्छन्। तत्काल यहाँ ल्याएर सेवा सुविधा जनतालाई दिलाउन भनेर  लागि परेका छौँ।’ अध्यक्ष घिमिरेले भने, ‘सिडिओकामा डेलिगेसन नै गएर भएपनि कर्मचारी ल्याएर सेवा सुविधा जनतालाई दिन लागि परेको छु।’

स्थानीय तह निर्वाचनको बेला अध्यक्ष घिमिरेले च्याङ्थापु,फलैचा र ओयाम क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा प्रवाह गराउन पहल गर्ने बताएका थिए। तर कुरा ब्यवहारतः पूरा हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.