उत्साहित खेलाडी निराश, सरकार बन्यो रमिते

|

बैतडी : अन्तर्राष्ट्रियस्तरमा एकपछि नेपालले अर्को सफलता हात पारिरहेको छ। नेपालले हालै मात्र  युएईसंगको एकदिवसीय सिरिज हात पार्‍याे। तर, नेपाली राष्ट्रिय क्रिकेट टोली सधैँ उचित खेलमैदानकै अभावकाबीच अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान्छ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको काम सुरु समेत भइसकेका भए पनि वर्षौंदेखि अलपत्र अवस्थामै छन्। जसको एक उदाहरण हो बैतडीका अलपत्र अवस्थामा रहेको दशरथचन्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला। सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा ४ वर्ष अघि सुरु भएको सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको दशरथचन्द क्रिकेट रंगशाला निर्माण कार्य अलपत्र परेको छ।

राष्ट्रिय खेलकुद परिषद् र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको विवादका कारण करोडौंको काम अलपत्र परेको हो। सुदूर पश्चिममै पहिलोपटक करिब ११ करोडको लागत अनुमानसहित बैतडी सदरमुकामनजिकै सुन्दरखालीमा दशरथचन्द क्रिकेट स्टेडियमको निर्माण ३ वर्ष अघिदेखि रोकिएको छ। ४ वर्ष अघि राष्ट्रिय खेलकुद परिषदले बहुद्देस्यीय क्रिकेट स्टुडियम निर्माणका लागि काम सुरु गर्दा चन्द्रा एण्ड बसन्त कन्सट्रक्सनले निर्माण जिम्मा पाएको थियो।

जिल्लाको दशरथचन्द नगरपालिका ५ सुन्दरखालीमा वि स २०६३ मा दशरथचन्द नगरपालिकाले निर्माण सुरु गरेको क्रिकेट मैदानलाई  र वि स २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले दशरथचन्द अन्तर्राष्ट्रिय क्रिकेट मैदान भनेर निर्माण सुरु गरेको हो। वि स २०३४ सालमा दशरथचन्द नगरपालिकास्थित सुन्दरखालीमा मात्र क्रिकेट खेल्ने गरिन्थ्यो त्यसपछि वि स २०५२ सालपछि त्यस मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सबैको ध्यान पुग्यो। 

सदरमुकाम नजिकैको सुन्दरखाली क्रिकेट मैदानमा चार वर्ष अघिसम्म क्रिकेट प्रतियोगिता सञ्चालन हुन्थ्यो। त्यही मैदानमा खेलाडीले अभ्याससमेत गर्न पाउथे। जिल्ला स्तरदेखि क्षेत्रीयस्तरका प्रतियोगिता हेर्ने पाउँदा स्थानियबासी हर्षित भएका थिए। तर अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएपछि प्र्रतियोगिता समेत हुन पाएको छैन। मैदान निर्माण कार्य अधुरो भएपछि खेल सञ्चालन हुन नसकेको हो।

राष्ट्रिय खेलकुद परिषदको लापरवाहीले निर्माण कार्य अधुरो रहेपछि खेल्न लायक मैदान झन बिगारेको खेलाडी बताउँछन्। बनेको मैदान भत्काइएपछि प्रतियोगिता हुन सकेको छैन। तत्कालीन जिविस, नगरपालिकाको सहयोगमा निर्माण भएको मैदान निर्माण कार्य रोकिएपछि खेल्नलायक नहुँदा जिल्लामा क्रिकेट गतिविधि सुस्ताएको छ। 

तीन वर्षमा करिव ११ करोड ५० लाख लागत अनुमानसहित निर्माण हुने मैदानको काम अघि बढ्न सकेको छैन । सरकारले मैदान निर्माणको लागि रकम निकासा नगर्दा खेलमैदान अलपत्र परेको हो । मैदान सम्याउन करिब एक करोड १९ लाखमा ठेक्का भए पनि पुरै रकम निकासा नहुँदा मैदान सम्याउने कामसमेत अधुरो छ। निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीका लागि खेलमैदान अभाव भएको छ बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले बताए। उनले भने‘निर्माण कम्पनीले राखेपले काम नगरेको बताउँछ। राखेपले काम भएको छैन भन्दै आएको छ। यसले क्रिकेट मैदान निर्माण कार्य अलपत्र परेको छ।’

दुई दशक अघि बैतडीमा क्रिकेट भित्रिएसँगै सुन्दखालीमा क्रिकेट फिल्ड निर्माण गएिको थियो। यही फिल्डमा अभ्यास गर्दागर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपर्ण योगदान पुर्‍याएका यहाँका खेलाडीको लागि मैदानको नै अभाव हुन चिन्ताको विषय भएको अध्यक्ष चन्दको भनाइ छ। सुविधासम्पन्न स्टेडियम निर्माण सुरु हुँदा उत्साहित बनेका क्रिकेटप्रेमी तथा प्रतिभावान खेलाडी अहिले चिन्तित भएकाले निर्माण कार्य अघि बढनुपर्ने स्थानीय बताउँछन्।

नियमित अभ्यासका साथै स्थानीय प्रतियोगिता संचालन गर्न नसकिने अवस्था आएकाले खेलमैदानको निर्माण सुरु हुनुपर्ने स्थानीय क्रिकेट खेलाडी गजेन्द्र बोहराले बताए। ‘मैदान भत्काइएपछि स्थानीय खेलाडी सदमुकामभन्दा ११ किलोमिटर टाढाको देहिमाण्डौं र रातामाटाको बुड्डाबाजे मैदान जानुपर्ने बाध्यता सिर्जना भएको छ। टाढाको खेल मैदान एकातिर सानो आकारको छ भने समय र खर्चिलो भएको खेलाडीको गुनासो छ।

बैतडीमा क्रिकेटका लागि गतिलो मैदान नहुँदा राम्रो प्रदर्शन गर्न नसकिएको खेलाडी रोशन बोहराले बताए। उनले भने, ‘हाम्रो यहाँ अन्तर्राष्ट्रियस्तर क्रिकेट मैदान बनाउने भन्ने चर्चा थियो। भएको मैदान पनि बिग्रिएको छ। हामीहरूले सडकमा अभ्यास गर्नुपर्ने बाध्यता छ। क्रिकेट मैदान नहुँदा बाहिर राम्रो प्रर्दशन गर्न सकिँदैन।’ अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम ५५ गज भन्दा बढी खेल मैदान, ड्रेसिङरुम, पेभेलियन, प्रशासकीय भवन, जिम हल, प्राक्टिस हलसहितको सुविधा सम्पन्न खेलमैदान बनाउने भनिए पनि निर्माण कार्य रोकिँदा खेलमैदान अलपत्र अवस्थामा छ।

नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको गुहजिल्ला समेत रहेको बैतडीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुन लाग्दा यसलाई चासोको रुपमा हेरिएको छ। राखेपले क्रिकेट मैदानमा निर्माणमा चाँसो नदेखाएका कारण क्रिकेट मैदान निर्माण कार्य अलपत्र परेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। उनले भने, 'जब दशरथचन्द क्रिकेट मैदान बनाउने भनेर राखेपले हात हाल्यो। न क्रिकेट मैदान बनेको छ। न खेलाडीका लागि वैकल्पिक खेल मैदान छ।'

अलपत्र अवस्थामा रहेको उक्त अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्य अगाडि बढाउन आवश्यक छ। निर्माणाधीन अवस्थामा रहेको रंगशाला निर्माण सम्पन्न गर्न सक्यो भने खेलाडी र खेलप्रमी तथा समग्र बैतडीको लागि सुखद पक्ष हुने देखिन्छ। 

सम्झौता अनुसार काम भएको दाबी 

सम्झौता अनुसार आफूले काम गरेको निर्माण कम्पनीको दाबी रहेको छ। 'सम्झौता अनुसार हामीले निर्माण कार्य सम्पन्न गरिसकेका छौ' चन्द्रा एण्ड बसन्त कन्सट्रक्सनका प्रबन्ध निर्देशक गणेश चन्दले भने, 'खाल्डाखुल्डी छ मैदानमा भन्ने राखेपले आरोप लगाएको छ।' गत बर्ष नै निर्माण कार्य सम्पन्न गरिसकेको र हामीलाई जानकारी नदिइकनै रंगशाला निर्माणको अनुगमन गरेको समेत उनको आरोप रहेको छ। 

निर्माण कार्य सम्पन्न गरेर बिल पेस गरेका छौ प्रक्रिया चलिरहेको छ निर्माण कम्पनीका ठेकेदार सुरेश चन्दले भने, '६३ हजार घनमिटर माटो काट्ने सम्झौता भएको हो।' ठेकेदारले स्वीकृत ठेक्का एक करोड १९ लाख बराबरको काम गरे पनि खेलकुद परिषदले पूरै रकम भुक्तानी नदिएको दाबी गरेको छ। खेलकुद परिषदले कामको मूल्यांकनका आधारमा रकम भुक्तानी दिइसकेको बताएकोले विवाद बढेको बताइएको छ।

खेलाडीलाई खेल मैदानको अभाव

काम रोकिएर निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीका लागि खेलमैदान अभाव भएको छ। डेढदशक अघि बाट क्रिकेटको सुरुवात भएसँगै बैतडीको दशरथचन्द नगरपालिकाको सुन्दरखालीमा क्रिकेट फिल्ड निर्माण गरिएको थियो। यही फिल्डमा अभ्यास गर्दागर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पुर्‍याएको बैतडीमा हाल आएर खेलमैदानको नै अभाव भएको क्रिकेट एसोसिएसन नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

सुविधासम्पन्न स्टेडियम निर्माण सुरु हुँदा उत्साहित बनेका क्रिकेट प्रेमी तथा प्रतिभावान खेलाडी अहिले चिन्तित भएका छन्।  उनले भने,'निर्माण कार्य जुनसुकै हालतमा पनि चाँडो भन्दा चाँडो अघि बढ्नुपर्छ।' दुबै पक्षबीचको टक्राउका कारण क्रिकेट खेलाडी भने मर्कामा पर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको दशरथचन्द क्रिकेट रंगशाला निर्माण कार्य जिल्लामा कुनै पनि क्रिकेट प्रतियोगिता हुँदा समेत समस्या हुने गरेको छ। 

खेलाडी निराश

जिल्लामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुँदा हर्षित भएका स्थानीय खेलाडीमा भने केही निरासा छाएको छ। नियमित अभ्यासका साथै स्थानीय टुर्नामेन्टहरू संचालन गर्न नसकिने अवस्था आएकाले खेलमैदानको निर्माण सुरु हुनुपर्ने स्थानीय क्रिकेट खेलाडी मोहित भण्डारीले बताए। बैतडीमा क्रिकेट प्रति आकर्षण बढ्दै गए पनि उचित खेलमैदान भने बन्न सकेका छैनन्। वर्षमा बिभिन्न टुर्नामेन्ट गर्दा स्थानीय खेलाडीहरू उत्पादन हुने भए पनि दुई वर्ष यता आफूहरूले कुनै टुर्नामेन्ट गर्न नसकेको अर्का क्रिकेट खेलाडी रिसिकेस बोहराको भनाई रहेको छ। उनले भने,'आफूसँग भएको खेल मैदान अभावमा देखाउन सकिदैन'

दशरथचन्द क्रिकेट मैदान भत्काइएपछि स्थानीय खेलाडीहरू सदरमुकामभन्दा ११ किलोमिटर टाढाको देहिमाण्डाैं र बुड्ढामा रहेको धुलाम्मे मैदानमा जानुपर्ने बाध्यता सिर्जना भएको छ। टाढाको खेलमैदान एकतिर सानो आकारको धुलाम्मे रहेको र अर्का्तिर त्यहाँसम्म जान खर्चिलो हुँदा समस्या भएको छ। करिब ११ करोडमा निर्माण हुने भनिएको क्रिकेट स्टुडियममा ५५ गेजभन्दा बढीको खेलमैदान, ड्रेसिङ रुम, पेभेलियन, प्रशासकीय भवन, जिम हल र प्राक्टिस हल सहितको सुविधासम्पन्न खेलमैदान बनाउने तयारी अलपत्र परेको छ।

रंगशालाको निर्माण कार्य तिन वर्षभित्रै सम्पन्न गरिसक्ने गरी  ११ करोड अनुमानित बजेट लाग्ने अनुमान गरिएको थियो।  भौतिक पूर्वाधार र प्रशिक्षण नपुग्दा स्तरीय क्रिकेट खेल्न र राष्ट्रियस्तरका प्रतियोगिता गराउन नसक्दा बैतडीका खेलाडी समस्यामा परेका बेला रंगशाला बन्दा केही उत्साहित खेलाडी निरासा बन्न पुगेका हुन्।  
मैदान अभावमा प्रतियोगिता सम्पन्न गर्न कठिनाइ भइरहेको अवस्थामा सरकारले खेलमैदान निर्माणका खेलमैदान निर्माण हुन सकेको छैन।

रंगशाला  निर्माणपछि भारतसँग सीमा जोडिएको सो ठाउँमा भारतका खेलाडी आउन सक्ने र खेलको स्तरसमेत बढ्न सक्ने आकलन समेत गरिएको छ। बैतडीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय  महिला र पुरुष गरी दर्जनौं  क्रिकेटर जन्माइसकेकोले रंगशाला निर्माण भएपछि थप सहयोग पुग्ने आशा गरिएको छ।

स्थानीय सरकारको चासो

विगत तीनवर्ष यतादेखि निर्माणकार्य अलपत्र रहेको बैतडीको सुन्दरखाली क्रिकेट मैदान निर्माण गर्न स्थानीय सरकारले चासो देखाएका छन्। दशरथचन्द नगरपालिकाले उक्त मैदान निर्माणमा चासो देखाएपछि अलपत्र क्रिकेट मैदान निर्माणको काम सुरु भएको हो। यसले खेलाडीमा पनि उत्साह छाएको छ।  'खेलकुदको विकासका लागि मैदान निर्माण कार्यअघि बढाउन जरुरी भएकाले अलपत्र अवस्थामा रहेको सुन्दरखानी क्रिकेट मैदानलाई सम्याउन सुरु गरिएको हो' दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले भने।

राखेप र निर्माण कम्पनीको बिबादका कारण उक्त खेलमैदानको निर्माण कार्यले तीब्रता पाउन सकेको थिएन। खेलमैदान निर्माणले पूर्णता नपाउँदा स्थानीय खेलाडीहरू मर्कामा परेको भन्दै दशरथचन्द नगरपालिकाले सुविधा सम्पन्न बनाउन नसके पनि सम्याएर खेल्न लायकको बनाउन काम सुरु गरेको हो। अलपत्र रंगशाला निर्माणका लागि बैतडी उद्योग वाणिज्य संघको अध्यक्ष नरबहादुर चन्दको पहलमा नगरपालिकाले निर्माण कार्य सुरु भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.